www.tandavnews.com
Fact ~ In search of truth

अग्रज कलाकारको हुबहु ‘क्यारिकेचर’ गर्ने गायक राजन कार्की

पोखरा
सन्तोष सुवेदी ।

झन्डै तीन वर्ष पहिले बाग्लुङमा धौलागिरी एफएमको वार्षिकउत्सव कार्यक्रम थियो । कार्यक्रममा अतिथि कलाकारको रुपमा पोखराबाट राजन कार्कीलाई निम्त्याइएको थियो । जब उनी गीत गाउनको लागि बाइक समाई आफ्नो प्रस्तुति दिन थाले ।

दर्शक चकित परे । छक्क परे ।

Batas

कारण थियो, पुरुषोत्तम न्यौपानेको आवाज निकालेर उनकै गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ गाएका थिए । ‘क्यारिकेचर गरेर गीत गाउँदा दर्शक मज्जैले हाँसे । कसरी गाएको होला भनेर अचम्म माने,’ कार्कीले त्यो क्षण सम्झे ।

दोहोरी गायक भन्दैमा गीत मात्र गाउने नभई फरक प्रस्तुति पनि दिन सक्छन् भन्ने देखाउने खोजेको उनले प्रस्टाए । पोखरा उद्योग वाणिज्य संघले हरेक वर्ष गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला कार्कीको क्यारिकेचरका लागि अझ विशेष बन्यो ।

कार्की र पुरुषोत्तम न्यौपानेको पालो एकैदिन परेको हुँदा उनी फुरुङ थिए । हजारैं दर्शकको भीडमा उनले क्यारिकेचर सुरु गरे ।
आफ्नै आवाजमा गीत गाउँदा न्यौपानेपनि मख्ख थिए । न्यौपानेले खुशी हुँदै मेरो अबको उत्तराधिकार राजन भाई हो भनेको उनले अझै याद छ । ‘दाईले अँगालो मारेर खुशी हुँदै स्यावास भाई भन्नुभएको थियो,’ उनले सम्झे, ‘बालकपनमा उहाँकै गीत सुनेर हुर्केको थिएँ । प्रत्यक्ष नै उहाँकै आवाज निकालेर उहाँकै गीत गाउनु एउटा अवसर ठानेको थिएँ ।’

उनले पुरुषोत्तम न्यौपानेको मात्र होइन विष्णु खत्री, रामजी खाँण, पशुपती शर्मा, राजन ठकुरी, विमल ठाँगी, राजु परियार, कुलेन्द्र विक र कुमार पुनको आवाज हुबहु निकाल्छन् । अन्य कलाकारले गाएको क्यारिकेचर गर्ने सोँच कसरी आयो ? कार्की भन्छन्, ‘केही फरक गरौं भन्ने उद्देश्यले नै हो । स्टेजमा मात्र गीत गाउनु भन्दा केही फरक गरौं भन्ने लाग्यो ।

व्यावसायीक गायक बन्ने भनेर आज भन्दा ८ वर्ष पहिले राजधानी हानिए,’ उनले रहस्यको पोको फुकाउन थाले, ‘त्यहाँ धौलागिरी क्यासेट सेन्टरमा मिडिया म्यानेजर भएर काम गरेँ । त्यो समय काठमाडौंको किर्तिपूरमा विष्णु खत्रीदाई सँग–सँगै बस्थ्यौ । दाईकै गीत भरिया दाईबाट क्यारिकेचर सुरु गरेको थिएँ ।’

क्यारिकेचर सुनाएपछि खत्रीले उनलाई फरक प्रस्तुति दर्शकलाई दिन सकेँ चल्न गाह्रो हुँदैन भनेका थिए । जब उनले पूर्ण रुपमा क्यारिकेचर सिकेँ तर पनि दर्शकलाई पत्यारिलो हुन्छ कि हुँदैन होला भन्ने भयले उनको मनमा कब्जा जमाएको थियो । एउटा जुक्ती निकाले ।

गायक बैकुण्ठ महतलाई फोन गरेर थुप्रै कलाकारको आवाज निकालेर गीत सुनाए । ‘ठूलो कलाकारको भेला छ । तपाईसँग बोल्न भन्दा पनि गीत सुनाउँछौं भनेर गीत गाउँन थाले,’ उनले भने, ‘महतदाईले भेलामा आउन मिस गरेछु भन्नुभयो । पछि हाँसो लाग्यो र सत्य कुरा सुनाए ।’

कार्कीले मेला महोत्सवमा थुप्रै कलाकारको क्यारिकेचर गरे पनि उनीहरुकै आवाजमा गीत भने रेकर्ड गरेका छैनन् । भन्छन्, ‘अहिलेसम्म दर्शकका अगाडिमात्र क्यारिकेचर गरेको छुँ । नक्कली अवाजमा गीत रेकर्ड गरेको छैन् । तर सोच बनाएको छु । छिट्टै रेकर्ड गर्छु पनि होला ।’ यही क्यारिकेचरले गर्दा उनको माग स्वदेश देखि विदेशसम्म हुने गरेको छ । नेपालका ५४ जिल्ला र विदेशमा भारत, दुबै, कतार र बहराईन पुगिसकेका छन् ।

क्यारिकेचर गर्दा आफ्नो स्वर बिग्रदैन ? ‘स्वरमा झन निखारता आउँछ’ कार्कीले भने, ‘कपिपय महोत्सवमा स्वयम् कलाकार नपुग्दा झल्को मेटाउने काम गरेको छु ।’ गत साउनमा स्याङजामा आयोजना गरिएको एक महोत्सवमा उनले क्यारिकेचर गरेर दर्शकबाट पुरस्कार पाए । ‘दर्शकबाट कुलेन्द्र विकको क्यारिकेचर गरेर गीत आउन आग्रह भयो, ’ कार्कीले भने, ‘दर्शक बनेर गएका सोम गुरुङले बोलाएर व्यक्तिगत रुपमा पुरस्कार दिनुभयो ।’ विस्तारै क्यारिकेचरलाई नयाँ तरिकाबाट लैजाने कि भन्ने सोँचमा छन् उनी ।

अन्य कलाकारका गीत उनीहरुकै आवाजमा गाउनुभन्दा आफ्नो गीत अन्य कलाकारको आवाजमा कसरी गाउँछन् त भन्ने तरिकाले गाउने सोचेको उनले सुनाए ।

केही महिनाअघि सम्पन्न पृथ्वी लोकदोहोरी अवार्डमा उनले राष्ट्रप्रेमी गीत ‘बुद्ध खेल्ने आँगन मेरो’ बाट अवार्ड हात पारेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.