www.tandavnews.com
Fact ~ In search of truth

वाटर कलरमा जीवन्तता खोज्दै तन्नेरी

पोखरा
ईश्वर देवकोटा

बन्द कोठामा घोत्लिएर क्यानाभासमा अमूर्त कला निखार्ने ध्याउन्नलाई चिर्दै ४ तन्नेरी ‘अन दी स्पट’ चित्र कोर्नमा जुटे । जता फक्र्याे त्यतै सुन्दरताको अनुपमा छटा देखिने रुपै मोहनी पोखरा कुनैपनि चित्रकारको क्यानभासलाई निम्तो दिन काफी छ । अझ सहरको कोलाहलाई चिर्दै नजिकैको डाँडा उक्लेपछि आँखाले भ्याउन्जेलको दृश्यलाई सृजनामा उतार्ने शोख पुरा गर्न चार तन्नेरीले साप्ताहिक सेड्युल नै बनाए । र, वाटर कलरको माध्यमबाट चित्र उतार्न शनिबार सहरबाट बाहिर निस्किए ।

कलामा नवीनता र प्रकृतिलाई पछ्याउने चारको समूहमा थिए थमनसिंह सुनार, मनोज तामाङ, सूर्य बराइली र गोपाल दराई । करिब ११ महिना अघि चारजनाले कला वर्कसपको नाममा कास्कीको हेमजामा चित्र कोर्ने योजना बनाउँदै गर्दा अन्य सात जना थपिएपछि उनीहरुले समूहमै रहेर यात्रा तय गर्ने निधो गरे । र, जन्मियो, कुची आर्ट ग्रुप पोखरा । जसले हेमजाको मिलनचोकमा पहिलो पटक सामूहिक चित्र कोर्याे ।

Batas

ग्रुपमा जोडिन आइपुगेका युवराज लामिछाने, निशान थापा, आकाश गुरुङ, देवेन्द्र गुरुङ, एलिता गुरुङ, प्रमिश गुरुङ, नविन श्रेष्ठको कुची पनि पानी चित्रकला (वाटर कलर) मा चल्ने गर्छ । वाटर कलरमार्फत तत्स्थानको चित्र कोर्दा कुचीको रफ्तार तीब्र हुनुपर्ने ग्रुपको अनुभव छ ।

प्रकृति र परिवर्तित वातावरणीय प्रभावको असर कलामा छाइसक्नुपर्छ । ताजापन र पानीको अनुभूति दिलाउने यस कला आधुनिक कलाको तुलनामा धेरै अघि विकास भएर आएको हो । इतिहास बोकेर आएको यो कला आजसम्म विश्वभर छाउँदै आइरहेको छ । नेपालमा पनि यसको प्रयोग कायमै छ । चित्रकलालाई वाटर कलरको माध्यमबाट जीवन्त बनाइराख्न ग्रुपले अभियानै चलाएको छ ।

ग्रुपले वर्ष दिन यता पोखरा र आसपास र बाहिरी जिल्ला पुगेर सजीव चित्र कोर्दै आइरहेको छ । पहिलो कार्यशाला नै अपेक्षाकृत सफल भएपछि सहभागी कलाकारलाई समेटेर कुची आर्ट ग्रुप पोखराको नामाकरण गरेको बताउँछन् समूहका अग्रज थमनसिंह सुनार ।

कला मानव सभ्यताको सूचक भएकाले पनि सभ्यता बाँचुञ्जेल कुनै पनि सिद्धान्त र कलाका वादहरु बाँचिरहन्छन, मर्दैैनन् । मानव सभ्यताको उद्गमकालदेखि नै कला जोडिएर आएकाले मानव सभ्यतासँग यसको नाता गहिरो छ । संसार रहेसम्म कला जीवित रहन्छ । चित्रकलाको इतिहास त झन् ढुङ्गेयुगबाटै शुरु भएको हो । जसको प्रमाण आज पनि अल्तामिराको गुफामा देख्न सकिन्छ । शिकारी युगका मानव जातिले दिन बिताउने र शिकारका लेखाजोखा गर्ने माध्यम बनेको थियो, चित्रकारिता विधा ।

यि र यस्तै इतिहासबाट प्रभावित ग्रुपले संचालन गरिरहेको कार्यशालामार्फत समाजमा चित्रकला र आम मानिससँगको सामिप्यता बढाउने क्रममा छ । गाउँघरका वस्तुतः दृश्यलाई ल्याण्डस्केप र पोट्रेट पेपरमा उतारी सोही स्थानका जनसमुदाय माझ प्रस्तुत गर्दा मानिसहरु दङ्ग पर्ने गरेको सुनाउँछन् ग्रुपका कलाकार निशान थापा ।

ग्रुपले हालसम्म हेमजा फेदी, फेवा पावर हाउस, बागमारा, बाटुलेचौर, अर्मला, भुर्जुङ खोला, विजयपुर, कमलपोखरी, रुपा देउराली, कालिका चोक, कन्धनी डाँडा, शिसुवा चोक, पामेबजार, हेमजा मिलनचोक, फेवा ताल र ड्यामसाइड, नालामुख, ल्वाङ, खोराकोमुख, हरिचोक, वालिङ, दमौली लगायत स्थानहरुमा अन दी स्पट चित्र कोरिसकेका छन् ।

कार्यशाला सम्पन्न भए पश्चात्त प्रर्दशनमा राखिएका तस्बिरहरु ।

कार्यशालाबाट हौसला बढेको बताउँछन् समूहका सदस्य आकाश गुरुङ । उनी भन्छन्, ‘कुनै पनि दृश्य कल्पना गरेर कोर्नु र फिल्डमै गएर त्यहीको दृश्य क्यानभासमा कैद गर्नु तुलनात्मकरुपमा चुनौतीपूर्ण हुन्छ नै तथापि, यसको अभ्यासले निखारता बढाइरहेको छ ।’

चित्रकला अभ्यास गर्नेहरुलाई पोखरा वाटर कलरको प्रयोगमा ख्याती कमाएकाले पनि प्राकृतिक दृश्यलाई क्यानभासमा उतार्ने कार्यशाला सफल रहेको बताउँछिन् समूह सदस्य कलाकार एलिता गुरुङ ।

नेपाली संस्कृति, अुनहार, धर्म रितीरिवाज र नेपालको प्रकृतिक भौगोलिक विशेषताहरु विश्वमाझ चिनाउने उद्देश्यले स्थापित ग्रुपले वाटर कलर सोसाइटी ब्रान्च बंगलादेश, मलेशिया, अफगानिस्तान र भारत लगायतका देशमा आयोजित प्रर्दशनीमा सहभागिता जनाइसकेको छ ।

पोखरास्थित कुमुदिनी होम्स् विद्यालय र कुची आर्ट समूहको संयुक्त सहकार्यमा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भइसकेको छ । प्रतियोगितामा कास्कीका २४ वटा निजी तथा सार्वजनिक विद्यालयका सयौं विद्यार्थीको सहभागिता रहेको थियो । जसबाट प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट १५ जना विद्यार्थीलाई नगद तथा आर्ट सामग्री सहित पुरस्कृत गरिएको छ ।

विद्यार्थीकालदेखि नै चित्रकला सम्बन्धी प्रेरणा जगाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीको उत्साहजनक सहभागिताले चित्रकला ज्ञानको महत्वबारे अवगत गराएको बताउँछन् समूहका देवेन्द्र गुरुङ ।

चित्रकलामा सौख राख्ने व्यक्ति मात्र नभई यसका लागि विद्यालयस्तरबाटै पाठ्यक्रमको विकास गरी विद्यालय कलेजहरुमा अनिवार्य लागु गर्नुपर्ने धारणा व्यक्त गर्छन थमनसिंह । उनी भन्छन्, ‘विद्यालयस्तरबाट नै चित्रकला पाठ्यक्रमको तर्जुमा गर्न सकिएमा मात्र यसको व्यावसायिकतामा राज्यले जोड दिन बाध्य हुने थियो । चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, संगीत र साहित्य अटाएको हुन्छ । कलाको सम्बन्ध मानिसको जीवन र जगतसँग रहेको हुन्छ । विश्व मञ्चमा यो विधा साहित्य, संगीत, कला र कलाका अन्य विधाहरुभन्दा उच्च र जेठो विधाका रुपमा प्रतिष्ठित छ ।

संसारले चित्रकला विधालाई विश्वभाषा मान्छ । चित्रकलालाई बुझ्न र बुझाउन कुनै पनि देशको स्थानीय भाषाको आवश्यकता पर्दैन र यसको औचित्य दृष्टिगोचर भएर नै पूरा हुने हुँदा दृष्टि अनुभूतिबाट नै आनन्दको पराकाष्ठामा पुग्न सकिन्छ ।’

पोखराका मुख्य चोकहरु पृथ्वीचोक, महेन्द्रपुल, सृजनाचोक, सिद्धार्थचोक, ट्याक्सीचोक, गणेशटोललगायतको स्केच गरी सिटी स्केचमा समेत स्थापित गराएको छ । सिटी स्केच गर्ने अभियानमा ग्रुपले दमौली र स्याङजाको वालिङ नगरपालिकामा समेत स्केच उतारेको थियो ।

समूहले चित्रकलासँग सम्बन्धित विधाहरुमा रुचि राख्ने नयाँ कलाकारहरुलाई समेत समेट्दै आएको छ । पोखरा र आसपासमा मात्र सिमित नभई आगामी दिनमा देसभरका महत्वपूर्ण स्थानको भ्रमण गरी सो स्थानका दृश्यहरु क्यानभासमा उतार्ने उद्देश्य रहेको चित्रकार मनोज तामाङ बताउँछन् ।

 

अन्तरहृदयको स्पन्दन हो चित्रकला
थमनसिंह सुनार
चित्रकार, संचालक, थमन आर्ट ग्यालरी लेकसाइड

चित्रकार थमनसिंह सुनार कार्यशाला प्रस्तुतिमा ।

चित्र एक भाषा हो । शब्द सिर्जना भन्दा पनि चित्रको माध्यमबाट भन्न खोजिएको सन्देश सशक्त हुन्छ । मेरो अनुभवमा नेपालमा चित्रकलालाई माया गर्ने मानिसहरु अत्यन्तै न्यून छन् ।

भौगोलिक विविधता, विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान बोकेको हाम्रो देश पूर्णरुपमा सजीव छ । आँखा अगाडीका दृश्यहरुलाई क्यानभासमा दुरुस्त उतारी आफ्नो देशको विविधता चित्रमार्फत बुझाउन पाउँदा गौरव महशुस हुन्छ ।

मेरो आर्ट ग्यालरीमा विदेशी ग्राहकहरुको संख्या अत्यधिक हुन्छ । जब मैले ०५४ सालमा ललितकला क्याम्पसबाट इन्टरमिडियट इन फाइन आर्ट विषयमा प्रमाणपत्र तह अध्ययन गरे । त्यसपश्चात् नै चित्रकला पनि व्यावसायिक दृष्टिकोणले सफल हुन सक्छ भन्ने आंकलन गरे । र, निरन्तर चित्रकलाको व्यावसायिक प्रयोग गर्दै आएको छु ।

चित्रकला क्षेत्रमा रुचि राख्नुहुने हरेक व्यक्तिलाई चित्र कोरेर जीवनयापन गर्न सकिन्छ भन्ने विश्वास दिन चाहन्छु । यद्यपि, हाम्रो बजारकादृष्टान्तलाई मुल्यांकन गर्दा पेन्टिङ खरिद गर्ने विदेशी नै बढी छन् ।

नेपाली समाजमा अझै पनि पेन्टिङले बैठक कोठा, बेडरुम सजाउने प्रचलन सुरु भइसकेको छैन । यस क्षेत्रको विस्तारको लागि चित्रकलालाई बुझ्ने नजर परिवर्तन हुनु जरुरी छ । तर पनि यसको महत्व यतिमै सिमित छैन ।

चित्रकलाले बालबालिकाहरुको मनोदशालाई अत्यन्तै सुखद संकेत गर्दछ । अब प्रत्येक घरहरुमा चित्रकलाहरु सजिनुपर्छ । चित्रकलाले व्यक्ति प्रति सास्वत मनोवृत्तिलाई परिवर्तन गर्ने क्षमता राख्दछ ।

 

सहनशीलता र धैर्यता पहिलो सर्त
मनोज तामाङ
चित्रकार, संचालक, एस आर्ट ग्यालरी एण्ड आर्ट मेटरियल सप, अमरसिंह

चित्रकार मनोज तामाङ कार्यशाला प्रस्तुतिमा ।

सफल चित्रकार बन्न सहनशीलता र धैर्यता अनिवार्य सर्त हो । चित्रकला क्षेत्रमा प्रतिबद्ध रहनु पनि महत्वपूर्ण पाटो हो ।

एक चित्रकारको मेहनतलाई बुझ्न सोसाइटीको पनि चेतना अभिबृद्धि हुन जरुरी छ । हाम्रो समाजमा करोडौं खर्चेर घर बनाइन्छ तर केही हजारको पेन्टिङ खरिद गरेर भित्ता सजाउन मन मारिन्छ ।

घरलाई घरजस्तै बनाउन घरभित्रै रहेर पनि प्रकृतिसँग भलाकुसरी गर्न केही थान चित्रकला किन्ने सोंच राख्नुपर्छ ।

हाम्रो आर्ट ग्यालरीमा कुन विदेशी आउँला र बेचौँला भनेर कुर्नु पर्ने बाध्यता नै यसको व्यवसायिक जटिलता हो ।

नेपाली समाजले पेन्टिङलाई आत्मसात गरी घरमा पेन्टिङले सजाएमा नेपाली चित्रकलालाई आर्थिक सहयोग पुग्छ । कलाकारलाई बाँच्न सहज हुन्छ । चित्रकलामा रुचि राख्नेलाई दीर्घकालीन सोंच लिएर आउन सुझाव दिन्छु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.