पोखरा
सन्तोष सुवेदी ।
दोस्रो विश्वयुद्धको समयमा इन्डिया र ब्रिर्टिस आर्मीहरु गाउँ–गाउँमा आएर क्याम्प बनाएर बस्थे । त्यहाँ उनीहरुले गाउँका युवाहरुलाई भेला गरेर आर्मी हुनको लागि छनोट गर्दथे ।

गाउँका युवालाई भर्ती गरेर लिएर गएपछि गाउँ खुशीसँगै पीडामा हुन्थ्यो । लाहुरे हुन गएको मान्छे फर्कन्छ कि फर्कदैन भन्ने डर परिवार र गाउँलेमा हुन्थ्यो । जब लाहुरे पहिलो छुट्टीमा घर आउँदा रोधी बस्ने क्रममा त्यही पीडालाई गीतमा पोखिन्थ्यो । त्यसलाई ‘गल्लैलाउरे’ भनिन्छ । यसमा दोस्रो विश्वयुद्धसँग गाँसिएको कथा छ ।
गल्लाहरुको विदाई तथा गाउँका जवानहरुको विदाइको समयमा तारभर नाचगानका कार्यक्रमहरु गर्ने चलन त्यतिबेला थियो ।
‘ए दाई मरे असेटैले,
मरी दैन भन्थेउनी,
भेटै नहुनलाई लायो पापी बरिखा’
‘झम्टी रुन आको,
सम्झी रुनी उही थियो ।’
यी शब्दलाई ख्याली रोइला भाकामा गाइने गरिन्थ्यो । पर्वतको हुवास, त्रिवेणी, वस्यालडाँडा, लगायत स्याङ्जा जिल्लाको पश्चिमी भेग गीतको उर्भरभूमी मानिन्छ । त्यहाँ बसोबास गर्ने विशेषत ब्राह्मण तथा क्षेत्री जातका मानिसहरूले र सँगसँगै मगर तथा गुरुङ जातका मानिसहरूले समेत लामो लयमा यो गीत गाउने गर्दछन् ।
यीनै भाकालाई समावेश गरी लोकसंगीतका अनुसन्धानकर्ता तुलसी प्रवासले नेपालमै पहिलो पटक अनुसन्धान गरी निर्माण गरेको ‘गल्लैलाउरे’ लोक चलचित्र ७ औँ अन्तर्राष्ट्रिय ‘लोक चलचित्र महोत्सव – २०१७’ का लागि मनोनयनमा परेको थियो । यस गीतलाई पहिलो पटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेर प्रवासले अनुसन्धान गरेका हुन् । उनकै अनुसन्धान, लेखन, निर्देशन र निर्माणमा यो लोकचलचित्र निर्माण भएको हो ।
गत नोभेम्बर २३–२५ सम्म काठमाडौँमा आयोजना भएको महोत्सवमा नेपाल, भारत, भुटान, जापान, थाइल्याण्ड, हङ्गेरी, स्लोमेनिया, कम्बोडिया, साउथ अफ्रिका, जिम्बाबे, स्वीटजरल्याण्ड, स्पेन, फिलिपिन्स, नाइजेरिया, फ्रान्स, चिली, पोर्चुगल, क्यानडा र अमेरिका आदि देशका चलचित्रहरु प्रदर्शन भएका थिए । १५ मिनेटको यो लोकचलचित्रलाई निकै रुचाइएको थियो ।
अहिले गल्लैलाउरे भाकामा गीत गाएको सुनिदैन् । प्रवास भन्छन्, ‘गाउँमा गएर सिधै गाइदिनुहोस भनेर कसैले पनि गाउँदैन् । युवापुस्ता गाउनै जान्दैनन् । केही बुढापाकाले कताकती रुपमा गाउँछन् ।’ उनी आफ्नो ६ महिनाको अनुसन्धानबाट गल्लैलाउरेको फेदसम्म पुगेका हुन् । ‘गल्लैलाउरे नाम दिएको विश्वयुद्धको समयमै हो,’ उनले भने, ‘यो रोधीमा दोहोरीको रुपमा पनि गाएको पाइन्छ । यही गीतलाई खैजडी, मुजुरा बजाएर खाएको खण्डमा ख्याली हुन्छ ।’
गल्लैलाउरे गीत एउटा–एउटा अक्षर संरचनामा गाइएको हुन्छ । विशेषत मध्यरातमा गाइने यो गीत अधवैैशेहरु भेला भई एक आपसमा विछोड र विरहका गीत गाइने गरेको प्रवासले बताए । ‘रातभरी विरही पोख्दै रुँदै गाउने गर्छन्,’ उनले भने, ‘ उनीहरुले गाउँदा सुन्ने मान्छेहरुलाई पनि रुन मन लाग्ने गर्छ । गीतमा अधिकांश शब्दहरु विरहका मात्र हुन्छन् ।
यसलाई साहित्यमा वियोगश्रृङगार भनिन्छ ।’ विगतलाई सम्झेर प्रेम, मिलन र विछोडका शब्दहरु गाइने हुँदा श्रृङगारिस रस भेटिने उनले प्रस्टाए । यो भाका खेतीपाति गर्ने बेलामा पनि गाइने गरेको पाइन्छ । ‘विशेषत कोदो गोड्दा गाइने गरेको पाइन्छ । त्यही भएर कतिले यसलाई भदैरे गीत पनि भन्दा रहेछन्,’ उनले भने, ‘ भदौको महिनामा गाउँमा कोदो गोड्ने समयमा लामो लय निकालेर एउटा एउटा अक्षर उच्चारण गर्दै यो गीत गाउने चलन छ । त्यसैगरी यसलाई दोहोरीका रुपमा समेत गाइन्छ ।’
यस्ता भाकाहरु अझै सम्म पनि रेकर्ड नभएको उनको अनुसन्धानले बताउँछ । यही भाकासमावेश केही गीतहरु समावेश गरी पुस्तक निकाल्ने तयारीमा रहेको प्रवासले सुनाए ।
‘गल्लैलाउरे’ गीत नेपाली समाजको यति लोकप्रिय विधा भए पनि यसको विषयमा खोजी हुन नसक्नु आफैमा दुःखलाग्दो रहेको उनी बताउँछन् । ‘समयमै यस गीतको संकलन गरेर बचाउने पहल गरिएन भने लोकको यस्तो अमूल्य सम्पत्ति हराएर जाने निश्चित छ,’ उनले थपे, ‘साठी वर्षभन्दा मुनिका एक–दुई जना भन्दा बढी गायक गायिका भेट्नै गाह्रो भैसकेको छ ।’
नेपाली लोकसाहित्यको यस्तो अनमोल सम्पत्ति अब लोप हुने अवस्थामा पुगिसकेको हुँदा लोकसाहित्य र लोकगीतको जगेर्नामा लाग्ने संघ, संस्था व्यक्ति तथा स्वयम् राज्यले नै यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको प्रवास बताउँछन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.