पोखरा
ईश्वर देवकोटा/ताण्डव
अटेर गर्दै सुर्य दिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रालिले पोखरा सस्तो बजारको तला थप गरेको छ ।
गुन्डा नाइके राजु गोर्खालीको आडमा कम्पनीले महानगरपालिकालाई अटेर गरेर अनुमती लिएको भन्दा धेरै तला थप्ने काम अघि बढाएको हो ।

महानगरपालिकालाई त्यस सम्बन्धि जानकारी भएपनि मौन बस्दा कतै पैसाको चलखेल भएको त होइन भनी स्थानीयले शंका गर्न थालेका छन् ।
महानगरपालिकालाई सबै कुरा थाहा भएपनि मौन बसेको एक अधिकृतले नाम नभन्ने सर्तमा बताए । ‘एउटा फाँटको लागि मात्र होइन, सबै फाँटका कर्मचारीलाई थाहा छ,’ अधिकृतले भने, ‘सुर्य दिल गु्रप इन्भेष्टमेन्ट कम्पनीले सके पैसाले नभए पेलेर पनि बनाउँछ ।’
पोखराको पृथ्वीचोक स्थित नेपाल वायु सेवा निगमको जग्गामा महानगरपालिकाको अनुमति बेगर नै ३ तले पक्की स्थायी भवन बनाएको छ । कम्पनीका संचालक युवराज खतिवडाले एक साता अघि पत्रकार सम्मलेनकै आयोजना गरि प्रेस विज्ञप्तीमा पनि सो कुरा उल्लेख गरेको पाइन्छ ।
‘पृथ्वी चोकमा अवस्थित यो बजार बाटो तर्फबाट निकै भव्य ३ तले पक्की भवन पूर्ण रुपमा निर्माण कार्य अब अन्तिम चरणमा आइरहेको छ’ विज्ञप्तीमा उल्लेख छ ।
उक्त बजारमा स्टलहरुबाट बुकिङ रकम समेत व्यवसायीसँग धमाधम उठाइरहेका छन् ।
भवनको पहिलो र दोस्रो तला सम्पन्न भईसकेर माथि तेस्रो तला थप गर्ने काम गरिरहेको भएपनि कम्पनीले महानगरबाट पहिलो तलाको लागि अस्थायी टहराको लागिमात्रै अनुमति लिएको छ ।
अस्थायी अनुमतिपत्रकै आधारमा कम्पनीले पहिलो दोस्रो तलामा गरी चार सय वटा स्टलहरु तयार गरी सो को बुकिङ समेत लगभग अन्तिम चरणमा पुगेको संचालक युवराज खतिवडा बताउँछन् ।
महानगर भित्र कुनै पनि स्थायी संरचना वा भवन बनाउँदा महानगरपालिकाले निर्दिष्ट गरेको भवन आचारसंहिता अनुरुप नै भवन बनाउनु पर्ने प्रावधान छ ।
कम्पनीले अस्थायी पत्रलिएर दुई तले भवन बनाईसकेर तेस्रो तलाका लागि ट्रष्ट हाल्ने तयारी भईसक्दापनि महानगरबाट कम्पनीले भवननिर्माण स्थायी इजाजतपत्र लिएको छैन ।
ठूलो आयतनको स्थायी भवन बनाउँदा महानगरलाई तिनुपर्ने कर रकम अत्यधिक पर्ने हुँदा कम्पनीले महानगरलाई कर छल्न चलाखी गरेको पाइएको हो ।
महानगरपालिकाका इन्जिनियर सन्जित प्रधानले कम्पनीले भवनको स्थायी अनुमति नलिएको जनाए । एक तलाको अस्थायी टहरा(टिनको छाप्रो)को अनुमतीमात्र लिएको प्रधानले बताए । सस्तो बजारमा राजेन्द्र बहादुर गोर्खाली, युवराज खतिवडा र पूर्णबहादुर पाठकको लगानी रहेको छ ।
व्यापारी तथा ग्राहकलाई आकर्षित गर्न कम्पनीले विभिन्न उपहार योजना सार्वजनिक गरिरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.