www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले सपथ लिए

काठमाडौँ(रासस)

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो ।

Batas

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाउनुभएको थियो । यस लगत्तै उहाँहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको थियो । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आउनुभएको थियो ।

नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उहाँहरुले आज शपथ लिनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा भोलि फागनु २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली काँग्रेसका ६३, नेकपा (माओवादी केन्द्र) ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा (भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी) मा शपथ लिनुभयो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो ।

कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ । दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो ।

उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.