www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइड ‘भाइब्रेसन’ : मस्ती, म्यूजीक र मदिरा

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

सामुन्द्रिक किनारालाई स्पट बनाएर खिचिएको इंग्लिस सिरियल ‘बे–वाच’ले सुरा, सुन्दरी र समुन्द्रलाई पर्यटनको हब बनाइदियो । त्यही टिभी सिरियलले विश्वमा रियालिटी शोको होड चलायो । ह्याण्डसम र क्युटीजस्ता विशेषण पाउन थाले युवायुवतीले । ग्ल्यामरस र सेक्सीजस्ता शब्द सामान्य बनाइदिने त्यही सिरियलले धेरै बारका मेनुमा ‘सेक्स अन फायर’ कक्टेलले धाक जमायो । यसरी ट्रेन्डसेटर बनेको बेवाचपछाडी त्यही समुन्द्र थियो ।

नेपालीलाई समुन्द्र केवल सपना हो । ‘बीच’को मजा लिन देसै छाडेर जानुपर्ने बाध्यता छ । तैपनि, पोखराले बिर्साइदिन्छ पटाया र फुकेटको बीच अनि स्विजरल्याण्डको विश्व प्रसिद्ध हिमाली एडभेञ्चर हुने ‘ले तु आल्प ।’आँखा सामुन्नेको फेवा घण्टैपिच्छे रंगरुप फेर्छ । उत्तर फर्किए हिमाली लहरले युरोप बिर्साउछ । यी सबैको पर्याय हो लेकसाइड ।

Batas

मेरो डायरी सुरु भयो । अपरान्हपछिको समय बतास चिसिँदै छ । घाम सेलाउँदै जाँदा पसलहरु उज्यालो थप्दैछन् । दिउसो घाम देखिएपनि जाडोयाम सुरु भएसँगै घडीले ५ बजाउँदै गर्दा अलि धुम्मीन्छ मौसम । न्यानो, बाक्लो कपडाहरु अधिकांशका शरिरमा सजिन थाल्छन् ।

 

फेवा किनारको फुटट्रयाक

बाराही चोकबाट केहि तल ओर्लिएपछि फेवा किनार पुगिन्छ । जहाँबाट तालबाराही मन्दिर पुग्न डुंगा लाग्दै आएको छ । साँझ ५ बजेपछि भने सुरक्षाको कारण डुंगा चल्दैनन् । बिहानैदेखि दिउसोसम्म डुंगा चढ्ने, तालबाराही मन्दिर दर्शन गर्नेहरुको घुइँचो लाग्ने उक्त स्थान दिन छिप्पिदैं गएपछि सुनसान हुन्छ । तर, दाहिने मोडिएपछि आउने फुटट्रयाकमा चहलपहल बढ्दै जान्छ ।

ढुंगा बिच्छ्याएर निर्माण गरिएको ट्रयाक । अटोमेटिक सोलार लाइट । फेवासँगै प्रकृति नियाल्न बनाइएका रेस्ट प्लेसहरु । पर्यटकहरु फरकफरक छन् । आन्तरीकसँगै बाह्य पर्यटकहरुको राम्रै उपस्थिती देख्न सकिन्छ । पर्यटकसँगै उनीहरुको गतिवीधि पनि हेर्न लायक हुन्छन् ।

घाम दिनभरको आफ्नै रापले तातेर होला सितल खोज्न ओझेल पर्दैछ । डाडाँमुनी लुकामारी खेल्दै गर्दा पहेलिएको घामतर्फ सबैका लेन्स तेर्सिन्छन् । स्यामसुङको १५ पिक्सलको क्यामरा देखि डिएसएलआरका ३५५ मिमिसम्मका । केहि जमात सेल्फी खिच्नै व्यस्त । ‘पाउट गर न, हात यता के, ल तिमी यता आउ ।’ पोज मिलाउँदै थिइन् एक युवती । दुई हात फिँजाएर ‘वाउ…’को पोजमा एक युवक फोटो खिँचाउदै थिए, अर्कोतर्फ । फोटो क्लिक गरिसकेपछि कस्तो आयो थाहा भएन । तर उनको त्यो एक्सप्रेसन भने साँच्चै हेर्न लायक थियो ।

किनारमै रेष्टुरेण्टहरु सञ्चालनमा छन् । कफीदेखि ब्राण्डेड ड्रिंक्सहरु पिउन त्यहाँ ग्राहक पुग्छन् । अनि लाइभ ब्याण्ड त छँदै छन् । रेष्टुरेण्ट, बार देखि त्यहाँ चुरोट, चटपट, चाउचाउ डोकोमा राखेर बिक्री गर्नेहरु पनि छन् । चटपट बनाउने ठाउँमा अधिकांश युवतीहरुको जमात भेटिन्छ ।

विभिन्न प्रकारका माला बेच्ने पनि त्यहि भीडमा छन् । ‘यहाँ भविष्य हेरिन्छ’ लेखिएको पेपरप्लेट राखेर भविष्य बताउनेहरुको संख्या पनि उत्तिकै छ । हात देखाएर आफ्नो भविष्य सुन्दै गरेका दृश्यहरुले अधिकांशको मन तान्छ ।

त्यहि ट्रयाकबाट अलिकति अघि बढेपछि आउँछ हल्लनचोक । तालसम्म पुग्ने सानो ब्रिज बनाइएको छ । केहि समय पहिलेसम्म निशूल्क जान पाइने त्यो ठाउँले अचेल पैसा असुल्छ । कलरफुल लाइट्स अनि गमलामा राखिएको फुललाई ब्याकग्राउण्ड बनाएर फोटो खिच्नेहरुको ताँती पनि उत्तिकै छ त्यहाँ । दैनिक हजारौं आन्तरीक एवं बाह्य पर्यटकहरु शूल्क तिरेरै त्यहाँ पुग्छन् ।

त्यहाँबाट अघिबढेपछि फेरी ट्रयाक सुरुहुन्छ । पामे जाने बाटो निस्कनेतर्फको ट्रयाक । दृश्य उस्तै देखिन्छन् त्यहाँ पनि । चटपटमा युवतीहरु झुम्मिएको, सेल्फी लिएको आदि आदि ।

सुर्यास्तसँगै जोडीहरुको उदय हुन्छ त्यहाँ । अंगालोमा बेरीएर, हात समातेर,कपाल चलाउँदै पाइलामा पाइला मिलाउदै घुमिरहेको दृश्य सधैंजसो दोहोरीरहन्छ । एक जोडी त कलेज ड्रेसमै पुगेको देखियो ।हाँस्दै, अंगालिदै जिस्किन ब्यस्त थिए उनीहरु ।

मदिरा र म्युजीक

जब घडीले ८ बजाउँछ ट्रयाकतर्फको जमात कम हुन्छ । यसपछि बजारतिरै चहलपहल बढ्छ । जहाँ अधिकांश रेष्टुरेण्ट बार सञ्चालनमा छन् । प्राय सबैजसोमा लाइभ ब्याण्डले प्रस्तुती राख्छन् । मदिरा र म्युजीक सबैको रोजाइमा पर्छ । म्युजिकको तालमा मदिरा पिएर टाउको हल्लाउनेहरुको संख्या रातको मातसँगै बढ्दै जान्छ ।

नेपाली, इण्डियन, चाइनिज, कोरियन, जाप्नीज, स्पेनीस सबैखाले पर्यटकहरुको उपस्थिती रहन्छ । सेन्टर पोइन्टनेर पुग्दा मदिराको मातमा ठुलो स्वरमा गित गाइरहेका स्पेनिस जस्तो देखिने एक अग्ला पर्यटक हातमा बियर लिएर हिँडेको दृश्यलाई अन्य पर्यटक मुन्टो बटारेर हेर्दै हाँस्छन् । केही पर्यटक मिनी मार्केटमा क्यान बिअर, जुस, स्न्याक्स, ड्राई फुडहरुसपिङ गर्न व्यस्त देखिन्छन् ।

सबैजसो बारहरुमा ब्याण्डहरुले गीत गाउन थालेपछि संगीतको कक्टेल सुनिन्छ त्यहाँ । एक बारमा अर्जित सिंको ‘अच्छा चल्ता हुँ, दुवाओं मे याद रखना’ बजिरहँदा अर्को तर्फ मेटालिकाको ‘नथिङ इल्स’ गाइरहेको सुनिन्छ । नेपाली गीतहरु कमै बज्छन् । सडकमा हिँड्दा संगीतको कक्टेलले चयन दिँदैन ।

रात छिप्पिदैं छ । आइरिस पब ग्राहकले भरिएको छ । सबै जसो टेबलमा मदिरा छन् । युवा युवतीहरुको संख्या बढी छ । एक दुई पेग लगाएकाहरु कन्सर्ट स्टेज अघि पुगेर टाउको हल्लाउन शुरु गरिसके । कसैले मुड बनाउँदैछन् । केहिछिनपछि सबै जसो टेबलका ग्राहकहरु स्टेज अघि पुगेर उफ्रिन थाल्छन् । ब्याण्ड मेम्बरहरु रक गीत पस्कन थाल्छन् । रातको ११ बजेसम्म लेकसाइडकोसबैजसो बारमा यस्तै दृश्य देखिन्छ ।

मदिरा पिएकाहरुलाई अब गन्तब्यमा पुग्नु टाउको दुखाइको विषय बन्छ । प्रहरी चेकिङमा पर्ने होकी? भन्ने । बाइक साथमै हुनेहरु रिस्क लिएरै भएपनि कुद्छन् । कोही त्यतै लज खोजेर बस्छन् । घरमै पुग्नुपर्नेहरु अथवा मदिराले लट्ठिएर हिँड्नै नसक्नेहरुलाई ट्याक्सी जिन्दावाद ।

‘पृथ्वी चोक पुगेको कति दाई ?’ बोली र आँखा लट्ठिएको एक तन्नेरी ट्याक्सीवालासँग बार्गेनिङ गर्दैछन् । ‘ठ्याक्कै हजार लाग्छ भाई ।’ चालकको उत्तरले झस्किन्छ तन्नेरी । अलिकति पर रहेका साथीहरु डाकेर सल्लाह गर्न थाल्छन् । ‘हामी तीन जना छम् प्लीज दाई ६०० मा पु¥याइदिनुस् न ।’ लर्बराउँदै रिक्वेष्ट गर्छन् । हजार भन्दा कममा हुँदैन भनेपछि उनीहरु धङधङाउदै अर्को सस्तो ट्याक्सीको खोजीमा लाग्छन् ।

धादिङ घर भएका राजु क्षेत्री ३ बर्षदेखि ट्याक्सी चलाउँदै आएका रहेछन् । किन महंगो ? भन्ने प्रश्नमा उनले रातको समयमा दिउसोको भन्दा बढी नै भाडा लिने गरेको सुनाए । ‘झ्याप भएर आएका ग्राहकसँग बार्गेनिङ गर्दा कहिलेकाँही त रिसै उठ्छ होला है ?’उनले हाँस्दै जवाफ फर्काए ‘सुरुसुरुमा साह्रै रिस उठ्थ्यो आजकल बानी प¥यो । झ्याप भा’बेला कस्ले के थाहा पाउने । जवानी र रक्सीको दोष हो की ।’

एघार बजेपछि बजारका बारहरु बन्द हुन्छन् । तर, लेकसाइडकै ओजोन डान्स क्लब भने २ बजेसम्म खुल्दै आएको छ । कानुनी प्रक्रिया पु¥याएरै उक्त डान्स क्लब रातको २ बजेसम्म सञ्चालन हुन्छ ।

अठार बर्ष नपुगेकाहरुलाई यहाँ इन्ट्री छैन । यहाँ पनि युवायुवतिकै बर्चश्व छ । डिजे लाइट्स र सङ्सको तालमा ताल मिलाउनेहरुले भरिभराउ छ क्लब । रातको १२ बज्दैगर्दा पनि मदिरा पारखीहरुलाई पेग पुगेको छैन । नाच्नेहरुले थकान महशुस गरेका छैनन् । ‘सिया’को ‘आइ डन्ट निड नो मनी’मा स्वर मिलाउँदै कम्मर मर्काउनेहरुको जमात उत्तिकै छ । ग्राहकको सुरक्षाको लागि बाउन्सर राखिएको छ । उनीहरुले सबैजसोको गतिविधी नियालिरहेका हुन्छन् । चुरोटको धुवाँ, मदिराको महक, डिजेइङ, युवायुवतीको इनफर्मल नाच । क्लबको हलमा हुने गतिविधिले रातमा मात थप्दैछ ।

२ बज्नै लाग्दा डिजे गीत बन्द गरिन्छ । बार बन्द हुन्छ । सबै निस्कन्छन् । क्लबकै गेटनेर सँधैप्रहरीहरु चेकिङमा बस्छन् । एक तन्नेरीडिओ स्कुटर पछाडी युवती लिएर निस्किए गेटबाहिर। चेकिङमा परिहाले । प्रहरी जवानलेस्कुटरको चाबी निकाल्यो । अलि भित्र पुगेर ‘यता आउनुस्’ भने । सेटिङ के भयो थाहा भएन । तन्नेरीले चाबी पाए र स्कुटरमै बत्तिए ।

 

यौनकर्म

‘जाने हो ?’ पहिलो शब्द सुनिन्छ उनीहरुबाट । हेभी मेकअप, वनपिस ड्रेस, हाई ब्रेष्ट क्लिभेज । उनीहरुको लुक्स यस्तै छ । अधिकांशहरुले चासो राख्दैनन् । तेश्रो लिंगी भन्ने थाहा पाएर होला । तर मदिराले मात्तिएका केही उनिहरुप्रति आकर्षित हुन्छन् र प्रस्ताव पनि राख्छन् । कतिमा जाने ? एक अधबैंशेले सोधे । ‘३ हजार, होल नाइट हो ।’ बार्गेनिङ सुरु । २ हजारमा कुरा मिलेपछि ट्याक्सीमा ओझेल पर्छन् ।

सबै नियालेर फर्किदैं गर्दा ट्याक्सी ड्राइभरलाई सोध्यौं‘दाई, बागलुङ बसपार्क उठेपछि कता सरेछन् त्यहाँका यौनकर्मीहरु ? तपाइहरुलाई त थाह होला ? । ‘कहाँ सर्नु नि, यतै छन्, आजकल त सबै कन्ट्याक्टमा हुन् । फोन ग¥यो, बोलायो । बाटोमै कुरेर बस्नेहरु त छैनन् आजकल’उनले प्रष्ट्याए ।

रातको समयमा ट्याक्सी चलाउँदा ग्राहकहरुले यौनकर्मी खोज्ने गरेको र कहिलेकाहीं आफुले पनि सेटिङ मिलाइदिने गरेको उनले सुनाए । ‘आजकल महंगो भा’छन् सबै । ५ हजार घटीमा मान्दैनन्’उनले थपे ।

प्राय ट्याक्सी ड्राइभरहरुको कन्ट्याक्टमा यौनकर्मीहरु हुन्छन् । ग्राहकसँग ट्याक्सीवालाले नै कुरा गर्छन् । रेटमा बार्गेनिङ हुन्छ । सबै कुरा फिक्स भएपछि ट्याक्सीले नै यौनकर्मीसँग भेट गराइदिन्छन् ।

हरेक साँझ, हरेक रात लेकसाइड यसरी नै रमाउँछ । म्युजिकको ताल, मदिराको मातहुँदै यौनप्यास मेटाउनेहरुको गतिविधिले भाइब्रेट छ लेकसाइड ।

तस्बिर : विबेक आचार्य

 

यो पनि पढ्नुहोस्

पोखरामा कलेज गर्लको हाई डिमान्ड

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.