www.tandavnews.com
Fact ~ In search of truth

संसद्मा उठ्यो कैलाली घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौँ(रासस)

रमेश लम्साल/भीष्मराज ओझा

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कैलाली घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।

Batas

कैलालीको घोडाघोडी नगरपालिकामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको निर्मम यातनामा संलग्नलाई कडा कारबाही हुनुपर्नेमा संसद्मा आज विशेष महत्व पाएको हो ।

एक्काइसौँ शताब्दीमा पनि महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको र दुव्र्यवहार भएको भन्दै प्रतिनिधिसभाको बैठकमा धारणा राख्ने विभिन्न दलका नेताले आरोपीमाथि कारबाही गर्न माग गरेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा बोक्सीको आरोपमा भएको ज्यादतिमा संलग्नलाई सरकारले सिधै कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले हात नकमाओस् । दोषीमाथि सिधै कारबाही होस् । जनताले भाषण होइन, दोषीमाथि कडा कारबाही होस् भन्ने चाहेका छन् ।”

अध्यक्ष दाहालले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कुनै पनि हालतमा नछाड्न र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गर्नुभयो ।

बोक्सीको आरोपमा चौधरीमाथि आक्रमण भइरहँदा स्थानीयवासी रमिते बनेर बसेका थिए । स्थानीय तहका जनप्रतिनिधिले आरोपीलाई धरौटीमा छुटाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पीडित राधाको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

बोक्सी भन्दै आक्रमण गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा छाडेको भन्दै आक्रोश बढ्दै गएको छ । आरोपी छाड्ने इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई सरकारले निलम्वन गरिसकेको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रदा चौधरीले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेको छ ।

संसद्मा नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले पनि चौधरीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले केही दिन पहिले वीरगञ्जमा नाबालिकामाथि बलात्कार भएको, कैलालीमा बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै प्रतिबद्धता जनाएर होइन दोषीलाई कारबाही गरेर जनतालाई विश्वास दिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले बोक्सी प्रकरणमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

काँग्रेसका सांसद अतहर कमाल मुसलमानले पनि कैलाली र पर्सामा भएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने र तत्काल दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

संसद्मा लगातार बोक्सी प्रकरणका दोषीमाथि कारबाहीको माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, “ दोषीमाथि कारबाही हुन्छ । सरकारले दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रक्रिया शुरु गरिसकेको छ ।”

प्रधानमन्त्रीले महिला हिंसामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र कुनै छुट नदिइने प्रतिबद्धता जनाउनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.