www.tandavnews.com
Fact ~ In search of truth

व्यावसायिक रङ्गमञ्चको आरम्भ

पाेखरा ।

सन्तोष सुवेदी/ताण्डव न्यूज

पोखरा थिएटरद्धारा स्थापना गरिएको गन्धर्व नाटकघरमा फागुन २ देखि १५ गतेसम्म ‘सिरुमारानी’ नाटक मञ्चन गरियो । नाटकले राम्रो प्रतिक्रिया पनि पायो । लामोसमयदेखि नाटकको पर्खाइमा रहेका पोखरेलीहरुले ह्वारह्वार्ती टिकट काटेरै नाटक हेर्न कस्सिए । नाटक गुणस्तरीय बनेको प्रतिक्रिया समेत दिए । पुराना रङ्गकर्मी माओत्से गुरुङ, प्रकाश घिमिरेको समेत अभिनय रहेको नाटक सिरुमारानीबाट स्तब्ध रहेको पोखरेली रङ्गमञ्चको पुनः आरम्भ भयो ।

Batas

पहिलो नाटकबाट प्राप्त सर्पोटले उत्साहित बनेको थिएटर आगामी चैत्र ८ र ९ गते थाङ्ला तथा चैत्र १० र ११ गते एन्टिगोनी नाटक मञ्चन गर्ने तयारी जुटेको छ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर चैत्र १३ देखि १५ गतेसम्म तिन दिने नाटक महोत्सवको आयोजना समेत पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए ।

यसको नाटक घर निर्माणसँगै पनि पोखरेली रङ्गमञ्चमा नियमित नाटक मञ्चन हुने काम सुरु भएको परिवर्तन बताउँछन् । ‘पोखराको रङ्गमञ्च पहिला जस्तो गरिमा थियो त्यो अब पुनरावृत्ति र अगाडि जाने सम्भावनाहरु छन्,’ उनले उत्साहित हुँदै भने, ‘यहाँको पर्यटनले गर्दा पनि पोखरा आवतजावत गर्ने ठाउँ भएकोले यहाँ रङ्गमञ्चको सम्भावना छ ।’

पोखरामा राम्रो र व्यवस्थित हलको अभाव नाट्यकर्मीलाई मात्र होइन, दर्शकलाई पनि खड्किएको थियो । यही अभावलाई चिर्दै पोखरा थिएटरले सञ्चालनमा ल्याएसँगै नाटक हेर्ने पोखरेलीहरु उत्साहित देखिन्थे । १८ वर्षपछि पोखरेली रङ्गमञ्चमा फर्किएका माओत्से गुरुङ पनि नाटकको प्रतिक्रियाले दङ्ग छन् ।

नाटक मञ्चनसँगै पोखराको नाट्य क्षेत्रले गति लिन लागेकोमा उनले खुशी व्यक्त गरे । उनले थिएटर निर्माण र नाटक मञ्चनबाट मात्रै रङ्ग क्षेत्र अगाडि जान नसक्ने बताउँछन् । पोखराका थिएटरमा गुणस्तरीय नाटकको खोजि र व्यवस्थापनको आवश्यक रहको उनकोे भनाई छ । ‘नाटक चल्यो भन्दैमा रङ्गमञ्चको थालनी नै भन्न नमिल्ला । गुणस्तरीय नाटक देखाएर दर्शक नियमित तान्न सक्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘ नाटकमात्र देखाएर हुँदैन् गुणस्तरीय मञ्चन गर्न सकेनौं भने जति सुकै देखाए पनि फड्को मार्न सक्दैन ।’

अहिलेको प्रविधिको नवीनतम् प्रयोग गर्न सक्नुपर्ने गुरुङ बताउँछन् । नाटकसम्बन्धी गोष्ठी, अभिनय, ट्रेनिङको विकास गर्न सके पोखरेली रङ्ग क्षेत्र फस्टाउने उनको भनाई छ । २०५६ सालमा ‘मलामी’ नाटकपछि यहाँको रङ्गमञ्चमा उनको अभिनय बल्ल देख्न पाइएको हो ।

‘पहिलाको जस्तो जोश जाँगर अहिले त छैन । तर पनि नयाँ भाइबहिनीहरुसँगै अभिनय गर्ने प्रयास गरेको छु,’ अभिनयको अनुभव सुनाउँदै भने, ‘सिरुमारानीमा अभिनय रमाइलो भयो । नयाँ अनुभव सँगालेको जस्तो भान भाछ ।’ सिरुमारानी’ नाटकमा ‘माछे’ पात्रको भूमिकामा गुरुङले न्याय दिन पछि परेका छैनन् ।

पोखरेली रङ्गमञ्चको पुनरागनले कलाकार प्रकाश घिमिरे पनि उत्साहित छन् । नाटक ‘सिरुमारानी’ मा राजाको भूमिकमा देखिएका घिमिरेले राम्रो प्रतिक्रिया पनि पाए । यसअघि ‘थाङ्ला’ मा अभिनय गरेका घिमिरे फेरि सोही नाटक पोखरेली नाट्यप्रेमीबीच लिएर आउँदैछन् । एकपछि अर्को नाटक मञ्चन हुन थालेपछि व्यावसायिक रङ्गमञ्चको सम्भावना बढेको घिमिरे बताउँछन् ।

‘कामको थालनी त सुरु हुन लाग्यो तर उस्तै चुनौती पनि छन्,’ उनी भन्छन्, ‘स्तरीयता र आकर्षण थपिए मात्र दर्शक तानिने हुन् । सिरुमारानीले यसको सुरुआत ग¥यो अव निरन्तरताको आवश्यक छ ।’ अहिले अन्तर्राष्ट्रिय स्तरका र राजधानीको सर्पोटमा नाटक देखाइ पनि पोखरेलीले अब कस्तो नाटक क्रियशन गर्ने भन्ने बारेमा सोच्नुपर्ने दिन आएको उनले औल्याए ।

सिरुमारानी नाटकका लेखक तथा नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले पहिलो पल्ट व्यवस्थित नाट्यशालाको आरम्भ भएको बताउँछन् । ‘सिरुमारानीबाट आरम्भ भयो, तर त्यसलाई निरन्तर दिनु अर्काे पाटो हो,’ उनले भने, ‘हिजो पनि प्रयास भएका थिए तर सफल हुन सकेनन् । अहिले समय आएको छ । यहाँ पनि अब नाट्यशाला नियमित रुपमा चल्ने समय आएको छ । यसको आरम्भ गन्धर्व नाट्यशालाले गरेको छ ।’

व्यवस्थित नाट्यशाला अहिलेको आवश्यकता विस्तारै पूरा हुँदै गएको उनको ठम्याई छ । राम्रा नाटक र दर्शकको मन जित्ने खालको नाटक मञ्चन गर्न सके पोखरेली रङ्गमञ्चले फड्को मार्ने उनी बताउँछन् । ‘राम्रा नाटक देखाउने क्रम भएन भने अहिलेको युगमा बाध्य भएर दर्शक हेर्न आउँदैन् । त्यसैले नाट्य कलाले दर्शक तान्न सक्नुपर्यो । त्यसैले चुनौती पनि छ,’ उनले भने, ‘तर, दर्शकले सिरुमारानीले जुन प्रकारले साथ दिए यसले राम्रो सङ्केत भने दिएको छ । सिनेमा हल जस्तै नाट्यशाला पनि चल्न सक्छन् र दर्शक पनि हेर्न आउन सक्छन् भन्ने सिरुमारानी प्रस्ट्याएको उनले बताए ।

नाट्यकर्म गरेर बाँच्न सक्ने आधार अझै पनि नभए पनि आशाको दियो पलाएको उनले सुनाए । ‘कलाकारहरुका लागि नाट्य शालाले कति गर्न सक्छ त्यो हेर्न बाँकी नै छ । कलाकारहरुलाई पनि केही न केही राहत हुने परिस्थिति भए राम्रो हुन्थ्यो । त्यो अनुसारको प्रयास गर्नुपर्छ,’ उनले भने, ‘कलाकार बाँच्ने आधारको खोजी गरिनुपर्छ ।’

३० र ४० को दशकमा पोखरेली रङ्गमञ्चका लागि स्वर्णीम युग नै बनेको थियो । त्यस दशकमा १० भन्दा बढी नाट्य समूह गठन पनि भए । नाटकको बजार गर्मिदै गर्दा जनयुद्ध सुरु भयो । अनि नाटकको विरासत जोगाउन मुस्किल देखियो । त्यसपछि नाटकमा हुने क्रियाकलाप संलग्न संस्थाहरु ह्यात्तै घटे, केही पलायन पनि भए । जनयुद्ध सुरु भएपछि पोखरामा नाटकको प्रभाव कम देखिन थाल्यो ।

पोखरामा राम्रो र व्यवस्थित हल नहुनु नै नाट्य क्षेत्र फराकिलो बन्न नसकेको गम्भिर पक्ष नै थियो । २०६९ सालमा गठित युथक्रियशन थिएटरले २०७० मा ‘अन्तराष्ट्रिय भट्टी पसल’ मञ्चन गरिसकेको छ । थिएटरले यही फागुनमा नाटकघर निर्माणस्वरुप ‘भर्जिन कथा’ समेत मञ्चन गरिसकेको छ ।

कृष्ण उदासीको कविता मञ्चन सँगै पुरु लम्सालको ‘अर्को ओरालो’ पनि पोखरामा मञ्चन भए । नेशनल आर्टस स्कुल सञ्चालनमा ल्याएका उदासीले मंसिरमा ‘बार्दलीको छेउबाट’ समेत मञ्चन गर्दा यहाँ उत्कृष्ट हलको व्यवस्था भैसकेको थिएन् । नाटक पोखरा उद्योग वाणिज्य संघको हलमा मञ्चन हुने गर्थे । पोखरामा रङ्गमञ्च स्थापित गराउन युथ क्रियशन थिएटरले नागढुङ्गामा थिएटरको शिलान्यास गरि सुरुआत पनि गरेको छ । अहिले थिएटरको निर्माणको काम धमाधम भैरहेको छ । भने अर्को पोखरा थिएटर सुरु भैसकेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.