www.tandavnews.com
Fact ~ In search of truth

इम्याजिन भर्सेज रियालिटी

सुमित्रा भट्टराई
पोखरा, ताण्डव न्यूज ।

बाल्यकाल देखि अन्तिम कालसम्म जीवनमा धेरै कुरा सोचिन्छ । कुनै पनि काम सम्पन्न गर्नु पहिला कल्पना गरिन्छ, अनिमात्रै त्यसलाई रूप दिइन्छ । जुन चिज कल्पना बिनै जीवनसँग जोडिन आउँछन् तिनलाई दुर्घटनाको नाम दिन्छौँ हामी ।

कल्पना पछिको परिवर्तन सहज हुन्छ भने दुर्घटनाले ल्याएको परिवर्तन असहज, जस्तै हुन्छ । यस्तो काम गरौँ, यो सँग यसरी प्रेम गरौँ, यस्तो घर बनाऔँ, यस्तो जागिर गरौँ, यस्तो जीवन बिताऔँ आदिआदि ।

Batas

जबदेखि हामीमा कल्पना गर्ने क्षमताको विकास हुन्छ त्यसबेला देखि नै सुरू हुन्छ अघिल्ला दिनका कल्पना गर्ने क्रम । कल्पना गर्दै सपना बुन्दाबुन्दै केही सफल हुन्छन्, सपना अझै थपिदैँ जान्छन् । केही असफल हुन्छन् अनि सपनाको संसारलाई घृणा गर्न सुरू गर्छन् । पृथ्वीलाई अँध्यारो देख्न थाल्छन् ।

हामीले गर्ने कल्पनाले हामीलाई सँधै लखेटीरहन्छ । ग्रामिण परिवारको सदरमुकाममा घर जोड्ने सपना, सदरमुकाममा हुनेहरूको राजधानीमा चार आना जग्गामा घर जोड्ने सपना, राजधानीमा घर घडेरी हुनेहरूलाई त्यो भन्दा बढी विदेश सयर, बैँकमा शेयर आदि इत्यादीका सपना । जे होस यिनै सपनाहरूले हामीलाई अन्तिम समयसम्म लखेटीरहन्छन् ।

हामीले देख्ने सपना हामी हुर्केको समाजसँग जोडिएका हुन्छन् । हामी समाजको रहनसहनसँग तुलना गर्छौँ । अरू अनुसार बराबरीमा पुग्न चाहन्छौँ । कोही–केही अझ बढी प्रतिष्ठित बन्ने प्रयासमा हुन्छौँ । जीवनभर कोसिस गर्छौँ तिनै सपनालाई पछ्याउने, पूरा गर्ने । तर दुखलाग्दो कुरा त्यो सपना पूरा नहुँदै अर्को सपनाले हामीलाई थिचीसक्छ ।

एउटा सपनाको उत्सव मनाउन नपाउँदै अर्को सपनाको होमवर्क सुरू भइसक्छ । स्वस्थानीमा पूजाको प्रसाद छोरालाई दिनु नभए मित छोरालाई भनेझैँ हामी आफूले पूरा गर्न नसकेका सपनाहरू सन्तानबाट पनि पूरा गर्ने कोसिसमा रहन्छौँ । सके आफै पूरा गर्नु, नसके छोराछोरीलाई आफ्ना सपना देखाउनु, तिनले निनसके नातिनातिनालाई अह्राउनु ।

हिजो अस्ती प्रेम विवाह गरेका अधिकांश जोडीका छोराछोरीले मागीविवाह गरेको देख्दातिनले पनिकुनै पुस्ताको सपना पूरा गरिदिएको पो हो कि झैँ लाग्छ ।

आमाले सानो छँदा भनेको याद आउँछ । विख (विष) नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन । अहिले सम्झँदा लाग्छ आमाले सानैबाट कल्पना गर्न र प्रगति गर्न सिकाउनु भएको । सायद आमाले पनि त्यसै गरी सिक्नु भएको थियो होला कल्पना गर्न र यथार्थ बनाउन ।

इख र विख नहुनेको अस्तित्व हुँदैन भनेर जानेको पुस्ताले पछिल्लो पुस्तालाई सँधै तिमीले प्रगति गर्न नसके तिम्रो अस्तित्व रहँदैन भन्ने सिकायो । अनि प्रगतिको इम्याजिनेसन र इख÷प्रगति बोकेको पुस्ता अचेल जिन्दगीलाई रियालिटी बनाउन घरदेखि कयौँ माइल टाढा दैनिकी चलाईरहेको हुन्छ ।

एकातिर पुस्तैनी सुझावको सम्मान गर्नुपर्ने अभिभारा अर्कातिर आफ्नै इम्याजिनेसनलाई मुर्तरूप दिँदादिँदै जिन्दगी जानी नजानी कन्फ्युजन बनिदिन्छ ।

अचेल हाम्रो देशमा पनि आत्महत्याको समस्या एकदमै बढ्दो छ । केहीदिन अघि कार्यलयकै कामले जिल्ला बाहिर जाँदा त्यस जिल्लामा समेत आत्महत्या गरेर मृत्यूवरण गर्नेको संख्या धेरै पाईयो । समाजले मापन गरेको आधारमा भनिएका धनी÷गरिब, युवा÷वृद्ध, साक्षर÷अशिक्षित सबै वर्गका व्यक्तिले आत्महत्या गरेको भेटिएपछि सो जिल्लाका प्रहरी प्रमुखले आफूले अनुसन्धानमै घनचक्कर महसुस गरेको प्रतिक्रिया दिए ।

एउटै उमेर, शैक्षिक, आर्थिक अवस्था र उमेरकाले आत्महत्या गरेका भएको भएपो यो हो कारण भनेर खुलाउनु ? उनको प्रतिक्रिया थियो । आत्महत्यामा पनि इम्याजिनेशन रियालिटी नबन्दाको गुम्साहट जोडीएको हुन्छ । कल्पना एकातिर यथार्थ अर्कातिर भईदिँदा ब्यक्तिले आफुलाई सम्हाल्न सक्दैन र डिप्रेशनमा जान्छ ।

विस्तारै संसारै भासिएको, सबैथोक भ्रम भएको महसुस गर्दा गर्दै आफ्नै जीवन रित्याउने घडीसम्म मान्छे पुगिसक्छ । इम्याजिनेशनको धेरै भर पर्नु रियालिटीलाई स्वीकार गर्न नसक्नु पनि घातक हो । परिवर्तन र हारलाई स्वीकार गर्न नसक्नु पनि आत्महत्याको कारक हो । साँच्चै दुर्खिमले भनेझैँ हामी यथार्थ स्वीकार गर्न सक्दैनौँ ।

हामी सामाजिक सञ्जालहरूमा विभिन्न खालका ट्रोल देख्छौँ । मंसिर, फागुन र वैशाखतिर एउटा ट्रोल छाउँछ । बेहुला बनाउछु भन्थी, बहुलाबनाएर गई । सपनाविष्फोट भएको अथवा कल्पनाका मन लागेको उदाहारण बोकेको ट्रोल हो त्यो ।

प्रेमलाई सफल बनाउने प्रेमिकालाई बेहुली बनाउने कल्पना गर्दागर्दै कथाले अर्कै मोड लिएपछि बेहुलाको साटो बहुला बनेका पात्रको व्यथा । प्रेम, पढाई आदी सबै विषय कल्पनाबाट सुरू हुन्छन्, लक्ष्य भएर अघि बढ्छन् केही पूरा हुन्छन् र यथार्थ बन्छन् । केही पूरा हुन सक्दैनन् केवल रहर बन्छन् । अनि मनले भन्छ यदि त्यस्तो हुँदो हो त ?

हुन त कल्पना विनाको गन्तव्यले मानिसलाई हण्डर र ठक्करको दर्शन धेरै गराउँछ । धेरै कल्पनाको यात्राले पनि मानिसलाई महत्वकांक्षी बनाउँछ । दुनियाँका लागि राम्रो बन्दाबन्दै आफ्नै जिन्दगी बोझ बनिसकेको हुन्छ ।

समय अनुसार आफूलाई अपडेट गर्ने बानीबसाल्ने हो भने, सपनालाई विस्तारै यथार्थ बनाउँछु भनेर लागि पर्ने हो भने, आफ्नो लक्ष्यमा अडीग हुने हो भने इम्याजिनेशन रियालिटी किन बन्दैनन् र ? भनिन्छ नि, बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न् ।

 

लेखकबाट थप

घरेलु हिंसा तथा सजायका लागि बनेको ऐन

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.