www.tandavnews.com
Fact ~ In search of truth

मेयर सा’बको अर्जुनदृष्टि कता ?

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

जहाँका मेयर सेवाग्राहीका गुनासा सुन्न र नगरवासीका सास्ती कटौतीगर्न छाडेर
दोहोरी साँझको रिबन काट्न पुग्छन्,
जहाँका मेयर गुजमुज्ज परेका बिजुलीका तार, एम्बुसजस्ता सडक र ट्राफिक जाम छिचोल्दै
स्मार्ट सिटीको भाषण ठोक्न कुद्छन्,
जहाँका मेयर सहरका हाइ वे जति गाई वे भएको देख्दैनन्
र छाडा चौपायामुक्त सहरको ठट्टा सुनाउँछन् ।
यही हो मेरो प्यारो पोखरा ।

पोखराका पत्रकार अमृत सुवेदीले फेब्रुअरी १९ मा आफ्नो फेसबुक वालमा पोष्ट गरेको अंश ।

Batas

लामो राजनीतिक घटनाक्रमपछि देशमा भएको स्थानीय निर्वाचनले सबै जनतामा विकासको आशाजगाइदियो । स्थानीयतहको नेतृत्वका लागि उठेका उम्मेदवारहरुको घोषणापत्र/भाषणले त झनै विकास र समृद्धीको सपना देख्न बाध्य बनायो ।

देशमा रहेका र थपिएका महानगर, उपमहानगर र नगरका मेयर उम्मेदवार अधिकांशको सुगा रटाई बन्यो ‘स्मार्ट सिटी’ ।

पोखराका मेयर मानबहादुर जिसीले पनि स्मार्ट सिटी मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका थिए । ‘विजयी हुना साथ जनताले महशुस गर्नेगरि कार्य हुन्छ’ भन्ने मेयर जिसीको भनाई अहिले सम्म व्यवहारमा जनताले महशुस गर्न पाएका छैनन् ।

पत्रकार सुवेदीले लेखेजस्तै छ महानगर । छाडा चौपाया सडकमै डुलिरहेको देखिन्छ । गुजुल्टीएका विजुलीका तारहरुले स्मार्ट सिटीलाई जिस्काइरहेका छन् ।

जनताले मानबहादुर जिसीलाई मेयर सा’ब बनाएको दस महिना पुगिसक्यो । यो अवधिमा मेयर पाएको आभाष गर्नै सकेका छैनन् महानगरवासीले । स्थानीय अमृत अधिकारीले विकास निर्माण लगायतका कामको सुरुवात भएको महसुस गर्न नपाएको बताउँछन् । ‘चुनावको बेला एजेण्डाले आकर्षित भएँ । म मात्र नभएर, अरुलाई पनि मानबहादुर जिसीलाई भोट हालौंं भनेर सुझाए । जितेपछि अलिकति विकास निर्माण लगायतका कामको सुरुवात भएको छ है भनेर महशुस गराउन सक्नुपर्ने हो, त्यसो भएन’ उनले गुनासो गरे ।

चुनावताका ‘मेरो अर्जुन दृष्टि, पोखरा लेखनाथको समृद्धी’ नारा लगाएर समृद्धिको ग्यारेण्टी गरेका जिसीले पाँच बुँदा जनता समक्षा प्रस्तुत गरेका थिए ।

‘पाँच बर्षमा पाँच बिकास’ भनेका मेयर जिसीको पहिलो बुँदा थियो, प्रविधि र सेवाग्राही मैत्रीमहानगर । उनले महानगर कार्यालयमा सेवाग्राही पुगेको १ घण्टामा काम नसकिए क्षतिपुर्ति उपलब्ध गराउने बताएका थिए ।

तर, स्थानीय कमल क्षेत्रीले हप्ता अघि अनलाइन नक्सा पास गर्दा पुरै १ महिना लागेको गुनासो गरे । काममा ढिलासुस्ती भएको भन्दै सेवाग्राही महानगर कार्यालयमै नारावाजी समेत गरे ।

यात्रु मैत्री सवारी सञ्चालन गर्न जिपिएस प्रविधि जडानले पनि चर्चा पायो । तर, जिपिएस प्रविधिको कार्य द्रुतगतिमा अघि बढ्न सकिरहेको छैन ।
सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको व्यवस्था गर्ने जनाएका मेयर जिसीले त्यसको प्रक्रिया भने सुरुआत भएको जनाए ।

‘आइटी कमिटि बनाएर महानगरका ८ वडामा इन्टरनेट विस्तारका लागि अध्ययन गरिरहेका छौं । हरेक वडामा वायरलेस इन्टरनेटको काम पनि हामी सुरु गर्दै छौं’ उनले सुनाए ।

दोस्रो बुँदामा राखिएको उद्यमशील सहरले पनि न्याय पाइरहेको छैन । महानगरका युवाहरुलाई यहीँका उद्योगहरुमा रोजगार गराएर विदेसीन रोक्ने भनाइ व्यवहारतःनिस्क्रिय छ । ‘कोही युवा सहकार्य गर्न आएकै छैनन् । युवाहरु आउनुपर्योनी । आए हामीले सहयोग गर्छौं’ जिसीले भने ।

पर्यटन, रिसाइकलिङ र मनोरञ्जन उद्योगको स्थापनाबारे आश देखाएका जिसीले यसको पनि प्रारम्भिक कार्य सुरु भएको जनाए । ‘हामी अध्ययन मै छौं । काम अघि बढ्दैछ’ उनले सुनाए ।

तस्बिर : भाइराज रानामगर

देशमा गएको भूकम्पलाई उदाहरण दिँदै जिसीले चुनावको बेला भनेका थिए ‘भूकम्प गयो भने कहाँ बस्ने ?खाली ठाउँ कहाँ छ ?हामीले नेतृत्वगर्ने बित्तिकै त्यसको समाधान हुन्छ । प्रत्येक वडामा पार्क निर्माण गरिनेछ ।’ यसको लागि जिसीले कोमागाने पार्क, शहिदपार्क लगायतका स्थानहरुलाई व्यवस्थित बनाइने जनाएका छन् ।

५ बर्षमा अण्डरग्राउण्ड तार

विजुलीको तार अन्डरग्राउण्ड गर्नेबारे उनको भनाइले पनि यति बेला उनैलाई गिज्याइरहेको छ । साउन यतामात्रै विजुलीपोलकै कारण चार जनाले ज्यान गुमाए । तार अन्डरग्राउण्ड गर्नेबारे केही काम अघि बढेको छैन ।

काम कहिलेदेखि सुरु हुन्छ ? भन्ने प्रश्नमा उनले आफ्नो कार्यकालमै तारलाई अण्डरग्राउण्ड गर्ने प्रतिक्रिया दिए ।

यस्तै, अर्जुन दृष्टिको निशानामा ‘दिगो मोडलको विकास’ पनि परेको छैन अहिलेसम्म । कुनै पनि पिच गरिएको सडक, खाल्डो परेको २४ घण्टाभित्र मर्मत हुन्छ भनेर भोट मागेका मेयरले त्यसो गर्न सकिरहेका छैनन् ।

केहि हप्ता अघि जिरो किलोमिटरमा पिच सडकको बिचमै खाल्डो प¥यो ।

त्यहाँका स्थानीयले विरोधस्वरुप सडकको बिचमै रहेको खाल्डोमा विरुवा रोपेर विरोध प्रदर्शन गरेका थिए ।

यसरी नियाल्दामेयर सा’बको अर्जुन दृष्टिले कुनै एजेन्डामा पनि सही निशाना लगाएको देखिंदैन् । घोषणा गरिएअनुरुप सुरुवाती चरणको कार्य प्रगती जनताले महशुस गर्ने गरि हुनुपर्ने हो । तर, त्यसो हुन सकिरहेको छैन् । जसबाट, महानगरवासी निरास छन् ।

मेयर जिसी भने सधै विकासका कार्यहरुले तिव्रता पाउनेछन् भन्दै आश्वासन मात्र बाडिरहेका छन् ।

भन्छन्, ‘हामीले पहिलो बर्षलाई अध्ययन बर्ष बनाएका छौं । अर्को बर्षबाट सबै काम अघि बढ्छ । प्रविधि, सडक लगायत सबै विकासका कार्यहरुले तिव्रता पाउनेछ । अहिले अध्ययन मै छौं ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.