www.tandavnews.com
Fact ~ In search of truth

सक्सेस ‘ईन्टरकास्ट’ दम्पत्ती

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

बाहुनकी छोरी राईको छोरासँग प्रेममा परेपछि समाजले हेर्ने नजर परिवर्तन हुनु अस्वाभाविक थिएन । एक अर्का बिना एक पल पनि छुट्टिएर बस्न मनले नदिए पछि परिस्थिती दुवैका लागि असहज बन्दै थियो ।

पोखरा–१८, सेदी निवासी रामकुमार राई र विष्णु माया ढकाल राईलाई । सबै समस्याको जड फुकाउन उनीहरुले अन्तिम विकल्पको रुपमा आफूखुसी विवाह गर्ने निर्णय लिए र २०५१ साल माघमा प्रेममा परेको वर्ष दिन नबित्दै भागेर विवाह गरे ।

Batas

दुःख गरेर हुर्काए, बढाए, पढाए, देश विदेश घुम्न सक्ने बनाईदिए । माइतीले एकतर्फी रुपमा सोच्दा जन्म दिने बुबा आमाको इच्छा विपरित काम त भयो । यद्यपि, विष्णुमायालाई कुनै पनि दिन आफूले चालेको पाइला प्रति पश्चात्तमा परेर आत्मालोचित हुनु परेन ।

रामकुमार ट्राभल एजेन्सीमा जागिरे भएर ०४८ सालमा काठमाडौंबाट पोखरा लेकसाईड आएका हुन् । विष्णुमाया लेकसाइड, बङ्लादीकी रैथाने केटी । एसएलसी दिएर घरमै बसेकी उनलाई जर्मनी आउन साथीले आग्रह गरिरहेकी थिईन । सो समयमा रामकुमारले ट्राभलसको जागिर छोडेर क्विक टेलिसेट कम्युनिकेशनमा काम गर्थे ।

जर्मनमा भएकी साथीले विष्णुमायालाई क्विक कम्युनिकेशनमा फ्याक्स पठाउने गर्थिन । फ्याक्स लिन जाने आउने क्रम केही महिना चलिरह्यो । खाईलाग्दो ज्यूडाँल, गोरो चम्किलो अनुहार, सिलिक्क परेको कपाल, साधारण सट पाइन्टमा रामकुमारले मन्द मुस्कान सहित फ्याक्स पत्र खामबन्दी गरेर विष्णुमायालाई दिन्थें ।

फ्याक्स पत्र मात्रै दिन भ्याएनन् रामकुमारले एकदिन ठूलै साहस बटुलेर प्रेम पत्र दिन भ्याए विष्णुमायालाई । तीन महिना भिजिट भिसामा जर्मनी घुमेर नेपाल फिरी सकेकी थिइन । ‘पुनः कामको लागि स्पोन्सर खोजेर जर्मन जाने ध्याउन्नमै थिए,’ विगत स्मरण गर्दै भन्छिन्, ‘म प्रति उहाँले गर्ने सरल व्यवहारले मेरो मन लोभिएरै प्रेम पत्र स्विकार गरेँ ।’

सहकार्यमा सफलता

समाजका विद्यमान ‘सेन्टिमेन्ट’को सामना गर्दै विष्णुमायाकै जोडबलमा ०५३ सालमा ग्रिन पीस लज एण्ड रेष्टुरेण्ट संचालनमा आयो । रामकुमारले पनि व्यवसायमै राम्रो सम्भावना देखे पछि प्राइभेट जागिर छोडेर विष्णुमायालाई सहयोग गर्न थाले । दुई छोरीको पालन पोषण र पढाई लेखाईमा कुनै कमी नगरी हुर्काए । हाल छोरीहरु आ–आफ्नै क्षेत्रमा स्थापित भईसकेका छन् ।

रेष्टुरेण्टको काम गर्दै गर्दा हस्पिटालिटी फिल्डमा केही सिढीँ उक्लन सके राम्रै सफलता पाउन सकिने हेक्का भयो विष्णुमाया र रामकुमारलाई र १६ वर्ष अघि ग्रीन पीस रिसोर्टको निर्माणमा जुटे ।

सानो लगानीको प्रयासबाट संचालनमा ल्याइएको रेष्टुरेण्टबाट उत्साहित भएर रिसोर्टको कन्सेप्टसम्म पुगिरहँदा दम्पत्ती जोडीले निकै संघर्ष गरेको अनुभव सुनाउँछन् । विष्णुमाया भन्छिन्, ‘आफूसँग पर्याप्त पैसा थिएन, चिनेजानेका मान्छेसँग ऋण माग्दा पनि खाएर भाग्छन् की झैं व्यवहार गर्थे,’ उनि थप्छिन्, ‘स्वयम् बुढाबुढीको लगनशील र आत्मविश्वासकै कारण हामी यस स्थानसम्म आइपुगेका हौं ।’ मेहनत गर्ने मान्छे कहिल्यै असफल हुन पर्दैन । एक न एक दिन उसले सफलता प्राप्त गर्न सक्छ ।

समाजका केही स्वार्थतीत व्यक्तिहरुको झुण्डबाट जोगिन सके । जीन्दगीमा कोही व्यक्ति पनि पछाडि फर्केर हेर्न नपर्ने बताउँछन् रामकुमार ।
ग्रीन पीस रेष्टुरेण्ट हालसम्म पनि बङ्लादीमै संचालनमा छ । रिसोर्ट सेदीमा संचालनमा आईरहेको छ । करिव पाँच रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा पर्यटकहरुका लागि ‘सेल्फ फिसिङ’को समेत व्यवस्था गरिएको छ । यस किसिमको सेवा आफूले नौलो उत्पादन गरेको रामकुमार दाबी गर्छन् ।

ठूलो पँुजीको लगानीमा संचालनमा आएको रिसोर्टमा १५ जनाले रोजगारी पाएका छन् । दम्पत्ती पनि स्वयम् रेष्टुरेण्ट र रिसोर्टको व्यवस्थापन सम्हालिई रहेका छन् । साथै, पोखरामा एटम सोलार इनर्जीको प्रोपाइटर भएर रामकुमारले व्यवसाय गर्दै आएका छन् ।
सामाजिक भावना

मानिसको ज्ञान अभिबृद्धि गर्ने पहिलो अस्त्र भनेकै शिक्षा हो । यदि मानिसले शिक्षाको दिव्यज्योतीबाट प्रेरणा लिन सक्यो भने परनिर्भर हुनुपर्दैन । दुर्गम पहाडी जिल्ला खोटाङमा हुर्किएका रामकुमारले शिक्षाको महत्व राम्ररी बुझेका छन् । व्यावसायीक सफलतासँगै दलित परिवारका पाँच जनालाई बड्स एकेडेमीमा पढ्ने व्यवस्था मिलाएका छन् । पढाई सकेपछि दुई जनालाई रिसोर्टमै रोजगार समेत उपलब्ध गराएका छन् ।

प्रभात आधारभूत विद्यालयमा विद्यालयको भौतिक संचरना निर्माण र विद्यार्थीलाई पढाई प्रति हौसला प्रदान गर्न शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । रिसोर्ट प्रालिबाट सामाजिक उत्तरदायित्व बहन अन्तर्गत केही वर्ष पहिले कास्कीको भकुण्डे स्थित गाउँमा तीन महिने प्रौढ शिक्षा कार्यक्रम संचालनमा गरेर प्रशंसाका पात्र बनिरहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.