www.tandavnews.com
Fact ~ In search of truth

अदालतमा अल्झिएका वादल र नेहा हत्या काण्ड (घटना क्रम सहित)

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

कांग्रेस कास्कीका नेता रामजी पौडेल बादल र योरुना नेहा पुन मुद्दाकोे फैसला सुन्न वादी र प्रतिवादी मात्र नभएर सम्पूर्ण कस्केलीनै प्रतिक्षारत छन्। फैसाला कस्को पक्षमा हुने हो ? भन्ने प्रश्नले साढे २ वर्ष बर्ष कुरि सकेको छ ।

प्रारम्भीक अनुसन्धान राम्रोसँग नगर्नु, अनुसन्धान अनुसारको जुन प्रमाण पेश गरेको छ, त्यो प्रमाण अनुसारको परिक्षण प्रतिवेदनहरु सम्बन्धीत निकायबाट समयमै नआउनु, प्रतिवादीहरुले वकिल लगाएर बहाना बनाएर न्यायधीश हेरेर मुद्धा हटाउनु जस्तो कार्यले गर्दा यस्तो मुद्दा ढिलो हुने गरेको पाइन्छ । यि दुई मुद्दाको घटना क्रम र अनुसन्धानमा आधारित रहेर ताण्डव न्यूजले तयार पारेको सामग्री ।

Batas

वादल हत्या काण्ड

जब चुनाव लाग्छ, तब मात्र कांग्रेस कास्कीका नेता रामजी पौडेल बादल हत्याको विषयमा प्रश्न उठ्छ । राजनीतिक भित्र गुटउपगुटकै कारण कांग्रेस नेता बादलको हत्या भएको हुनाले चुनावको वेला विवाद आउनु स्वभाविकै हो ।

बादल हत्या काण्डमा संलग्न रहेको आरोपमा केही युवाहरु कास्की कारागारमा थुनामा परेका छन् । हत्यामा संलग्न रहेका केही बाहिर खुलेआम घुमेका छन् भनेर पटक पटक कांग्रेसका शिर्ष नेताले सार्वजनिक ठाँउमा भन्दै आएको कुरा हो ।

सम्पन्न प्रदेश सभाको चुनवामा बादल हत्याको विषयलाई लिएर कांग्रेसमा अझ बढी टिकाटिप्पणी उठ्यो । हत्यामा आरोपीलाई टिकटको लागि सिफारिस गरेको भन्दै केही नेताहरुले असन्तुष्टी पनि व्यक्त गरे । बादलकी श्रीमतीले थप जाहेरीमा उल्लेख गरेका व्यक्तिले टिकटको लागि सिफारिस पाउने भन्दै विवाद चुलिएको थियो ।

अती राजनीति हावि भएको हुनाले बादल हत्या काण्डले किनारा नपाएको एक कांग्रेस नेताले बताए । ‘राजनीति भित्रको गुटबन्दीले गर्दा केही आरोपी जेल छन् । केही आरोपी मजाले नेता भनेर भाषण गर्दै हिडेका छन्,’ स्रोतले भन्यो, ‘आफ्नो गुट जोगाउन हत्याकै दिनदेखिनै केन्द्रीय स्तरको नेताले एआइजी हुँदै उपल्लो निकायमा चलखेल सुरु गरेका थिए ।’

घटना क्रम

२०७२ साल साउन २८ गते राती वादलको हत्या भयो । त्यसको भोली पल्ट वादलका दाजु राममणि पौडेलले घटनामा संलग्न विरुद्ध किटानी जाहेरी दिए । किटानी जाहेरी परेकालाई कास्की प्रहरीले खोज्न सुरु ग¥यो ।

अन्य जस्तै वादल हत्याको आरोपमा नेपाली कांग्रेस लेखनाथ नगर सभापती राजेन्द्रमणी लामिछानेलाई कास्की प्रहरीले हिरासतमा लियो । वादलको हत्या भएको दुई दिन पछि साउन ३० गते लामिछानेलाई कास्की प्रहरीले लेखनाथ गगनगौंडाबाट समात्यो ।

हत्यामा लामिछानेको संलग्न रहेको कुनै प्रमाण नभेटिएकाले प्रहरीले रिहा ग¥यो । हत्या अभियोगमा उनी पक्राउ परेको भए पनि सरकारी वकिलको कार्यालयले उनीमाथी प्रमाण जुटन नसकेको भन्दै मुद्दा चलाउन नमिल्ने भनेपछि रिहा भए । हत्यामा संलग्न रहेको अन्यको खोजी तर्फ कास्की प्रहरी लाग्यो । केही भारतमा भागेको हुनाले कास्की प्रहरीले योजना बनाएर उनीहरुलाई पोखरा झिकायो ।

भागेका मध्ये एक जनाको प्रेमीकालाई प्रयोग गरेर कास्की प्रहरीले समात्न सफल भयो । कास्की प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४ जना र उनीहरुलाई भगाउन सहयोग पु¥याउने ५ जनालाई भदौ १० गते सार्वजनिक ग¥यो ।

घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा लेखनाथका राजु रानाभाट, प्रकाश गुरुङ, बेल भन्ने अशोक गुरुङ र विश्वास गौतमलाई कास्की प्रहरीले सार्वजनिक ग¥यो । त्यति मात्र होइन उनीहरुलाई भाग्न सहयोग गर्ने पाँच जना विरुद्ध कास्की प्रहरीले मुद्दा चलायो । दुलेगौडाका चन्द्र बहादुर थापा मगर, नवलपरासीका भरत पौडेल, मिनबहादुर घले, स्याङजाका रवि क्षेत्री र कपिलबस्तुका विरेन्द्रकुमार रानामगर सहयोग गरेका अरोपमा हिरासतमा राखियो । घटनामा संलग्न रहेको भन्दै जिल्ला अदालतले सबैलाई पुर्पक्षको लागि कारागार पठायो भने भगाउन सहयोग गर्नेलाई छाडिदियो ।

अदालतमा आयो थप जाहेरी

यता वादलकी श्रीमती चन्द्रावती शोकका कारण तङरिन सकेकी थिइनन् । हत्याको केही दिन बितिसकेपछि चन्द्रावतीले किटानी जाहेरीमा क–कसको नाम छ भनेर जानकारी पाइन् । उनलाई दाइ (जेठाजु) दिएको जाहेरीमा केही नाम छुटेको भनेर पीर प¥यो ।

त्यसपछि उनी थप जाहेरीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पुगिन् । नेपाली कांग्रेसका नेता देउवा र शुशिल कोइराला पक्षको कित्ता काटिएको हुनाले प्रहरीलाई पनि समस्या परेको कुरा छरप्रष्ट थियो ।

कास्की प्रहरीले थप जाहेरी नलिएपछि चन्द्रावतीको मनमा ठूलो ठेस पुग्यो । केही सीप नलागे पछि चन्द्रवतीले एक साथीको साहरा लिएर काठमाडौं पुगिन् । काठमाडौं एक नेताको सहयोग लिएर उनी हत्या भएको अर्को महिना भदौ २१ गते उपप्रधान तथा गृह मन्त्री समक्ष पुगिन् । थप जोहरी दर्ता सम्बन्धमा भन्दै उनले गृह मन्त्रालयमा निवेदन बुझाइन् ।

जाहेरीमा ‘चन्द्रावतीले तत्काल पीडाको समयमा किटानी जाहेरी दिँदा छुट्न गएको योजनाकारको नाम समेत उल्लेख गरि थप किटानी जाहेरी दिँदा ‘जिल्ला प्रहरी कार्यालय कास्कीले मेरो किटानी जाहेरी लिन नमानेकोले यो निवेदन मन्त्रालय समक्ष थप उजुरीको आधारमा बाहिर रहेका अपराधीहरु कारवाही गरि पाउँ भनि माननिय उपप्रधान तथा गृह मन्त्री समक्ष निवेदन गर्दछु’ उल्लेख छ ।

भदौ २१ गते चन्द्रवतीले दिएको निवेदनमा ५ ठाउँमा तोक लगाएपछि निवेदन अघि बढ्यो । प्राप्त प्रमाण अनुसार चन्द्रावती पौडेलले दिएको थप जाहेरीको सम्बन्धमा गृह मन्त्रालयबाट प्रहरी प्रधान कार्यालय नक्साललाई भदौ २७ गते पत्राचार समेत गरेको थियो । त्यसपछि भने कुनै काम कारवाही अघि बढेन । शीर्ष नेताकै दबाबमा चन्द्रावतीको थप जाहेरी दबेर बस्न बाध्य भएको एक कांग्रेस नेताले बताए ।

धेरै कसरत भएपछि अहिले थप जाहेरीको कागज जिल्ला अदालत कास्कीमा आईपुगेको छ । ‘हत्यामा अरोपीको नाम नआवोस् भनेर ठूलो खेल खेलिएको थियो,’ उनले भने, ‘एउटा कुशल नेताको हत्या आरोप लागेकालाई किन कानुनी कारवाहीमा ल्याउन सकिएन ? यो ठूलो प्रश्न खडा भएको छ कांग्रेसलाई ।

अहिले वादल हत्याको आरोपमा रवीन केसी, प्रकाश गुरुङ, विश्वास गौतम, राजु रानाभाट लगायतका कास्की कारागारमा पुर्पक्षमा थुनामा छन् । कारागारमा ताण्डव साप्ताहिकसँगको भेटमा आफुहरुले वादलको हत्या नगरेको अभियुक्त मध्येका एकले बताए । ‘अरुलेनै हत्या गरेर हामीलाई फसाँउने काम भएको छ,’ उनले भने, ‘ठिक छ हाम्रो गल्ती भए नभएको कुरा एक ठाउँमा छ तर अब हाम्रो मुद्दाको किनारा लगाउन किन राजनीतिक चलखेल भएको छ हामीले बुझ्न सकेका छैनौं ।’

नेहा हत्या काण्ड

नेहाको हत्या भएको पनि २ बर्ष बढी भयो । २०७२ साल माघ १९ गते पोखराको नयाँगाउँमा नेहा पुनको शव फेला परेको थियो । १८ वर्षीया नेहाको हत्याको अभियोगमा कास्की प्रहरीले पोखरा–९ नयाँबजारका सतीश भनिने कृतन खड्गीलाई पक्राउ ग¥यो ।

 

अनुसन्धानको प्रक्रिया अनुसार प्रहरीले घटना स्थल मुचुल्का, सर्जिमिन मुचुल्का ग¥यो । सतीशसँग प्रहरीले प्रारम्भीक बयान लियो । त्यसपछि प्रहरीले सरकारी वकिलकहाँ कागजातसहित राय पेश ग¥यो । सोही अनुसार मुद्दा अघि बढ्यो । थुनछेक बहस पनि भयो । सतीश पुर्पक्षमा कारागार चलान भए ।

सतीशलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यानको अभियोगमा फागुन १६ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरियो । अदालतका तत्कालीन न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले प्रमाण बुझ््दै जाँदा ठहर बमोजिम हुने गरी पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । अहिले सतीश कारागार चलान भएको २ बर्ष भन्दा बढि भयो तर फैसला अझैं हुन सकेको छैन् ।

ढिलाई हुनुको कारण

थुन छेक पछाडि अदालतले प्रमाण बुझ्ने क्रममा विशेषज्ञलाई बुझ्ने कुरा भयो । प्रतिवेदनको रिपोर्ट, स्वास्थ्य परिक्षण, भिसेराको रिपोर्ट आएन । हिस्टोप्याथोलोजी, डिएनए लगायतको रिपोर्टमा ढिलाई भएपछि बहस स¥यो ।

अदालतले फेरी सम्बन्धीत निकायबाट रिपोर्टको माग गर्नु परेको हुनाले पनि ढिलाई भएको एक अधिवक्ताले नाम नबताउने शर्तमा सुनाए । ‘प्रक्रियागत कार्य विधी, यहाँको अस्पतालमा यो व्यवस्था नहुन पनि दुर्भाग्य हो,’ उनले भने, ‘सरोकारवाला निकायले सम्वेदनशील नहुँदा, प्रहरी, सरकारी वकिल, अस्पताल, स्वास्थ्य परीक्षण, पीडकको पहुँचका कारण पनि फैसलामा ढिलाई हुन्छ ।’

नेहाको हकमा भने सुरुकै अनुसन्धानको पाटोनै फितलो भएको दाबि स्रोतले ग¥यो । ‘प्रहरीले आफ्नो काम देखाउन अनुसन्धान आफ्नै पारामा गरेको थियो,’ उनले भने, ‘घटनाको आधारमा अनुसन्धान हुनुपर्ने हो तर प्रहरीलेनै राम्रोसँग अनुसन्धान नगरेको हो कि आफुलाई सजिलो हुने काम गरेको त्यो बुझ्न जरुरी छ ।’

स्रोतका अनुसार मेडिकल रिपोर्ट एउटा र विशेषज्ञले बकपत्र अर्को दिएको हुनाले पनि समस्या सिर्जना भयो । ‘त्यो बेला रगत लागेको ढुङ्गा छ भन्ने उल्लेख छ तर त्यसको टेस्ट भएको छैन,’ उनले सुनाए, ‘तत्कालिन समयमा हेल्मेटले हानेको गहिरो चोट देखिएको छ भनि प्रहरीले मिसिलमा उल्लेख गरेको छ । जबकी मेडिकल विशेषज्ञले हेल्मेट जस्तो बस्तुले हान्दा धारिलो बस्तुले हानेको जस्तो गहिरो चोट हुँदैन भन्छन् । अनि कुरा बाँझियो नि । यसलाई पाटो प्रहरीले गरेको गल्ती मान्न सकिन्छ ।

यस्तो मुद्दा ढिलो हुनुको मुख्य कारणमा प्रारम्भीक अनुसन्धान राम्रोसँग नगर्नु, अनुसन्धान अनुसारको जुन प्रमाण पेश गरेको छ, त्यो प्रमाण अनुसारको परिक्षण प्रतिवेदनहरु सम्बन्धीत निकायबाट समयमै नआउनु, प्रतिवादीहरुले वकिल लगाएर बहाना बनाएर न्यायधीश हेरेर मुद्धा हटाउने चलन छ ।

घटना क्रम

न्युरोडका सतीश र नयाँगाउँ घर भई न्युरोड स्माइल क्याफेमा कार्यरत नेहा मिल्ने साथी थिए । उनीहरुलाई धर्म दाईबहिनीको रुपमा धेरैले चिन्थें । माघ १८ गते राती नेहा, सतीश र अन्य साथीहरु न्युरोडको ओपन टेबल रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरेर ८ बजेतिर सबै त्यहाँबाट निस्किए । सतीशको मोटरसाइकमा घर जान नेहा बसिन् ।

बाइकमा नयाँगाँउ नेहाको घर नजिकै पुगे । घर भन्दा नजिकै पुगेपछि सतीशले बाइक रोके । पछाडि फर्किदै नेहालाई लेकसाइक गएर रात बिताउने प्रस्ताव राखे । नेहा रिसाउँदै हुँदैन भन्दै अपशब्द बोलिन् । त्यसपछि रक्सिले मातिएका सतीशले बाइकबाट ओर्लिएर हेल्मेटले हाने ।

 

नेहा ठाँउको ठाँउमै ढलिन् । त्यही मौका पारेर सतीशले यौन सम्पर्क राख्न खोजे । नेहाको लुगा के फुकाल्न लागेका थिए सतीश झस्किए । नेहा रगत्याम भएको देखेपछि सतीशले त्यही छाडेर आफ्नो घर तर्फ लागे । रात त्यतिकै बित्यो । भोलीपल्ट माघ १९ गते नयाँगाँउमा हल्ला खल्ला मच्चियो । नयाँगाउँ, पोखरा, पश्चिमाञ्चल नेपाल हुँदै विदेशसम्म मगर फिल्मकी नायिका नेहाको हत्या भएको खबर सन्सनी बन्यो ।

कास्की प्रहरीले त्यही दिन सतीशसहित आधा दर्जन बढिलाई सोधपुछको लागि नियन्त्रणमा लियो । ती मध्ये केहीलाई ३–४ दिन राखेर छाडिदिए । तर सतीश भने हिरासतमै थिए । पाँच दिनको हिरासतमा राखेपछि प्रहरीले माग २५ गते सतीशलेनै नेहाको हत्या गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो ।

ढिलाई हुँदा दुवै पक्ष निराश

मुद्दामा जहिले पनि वादी अर्थात पीडित पक्ष र प्रतिवादी जसलाई पीडक पक्षको रुपमा लिइन्छ । पीडित पक्षले मुद्दा चाडो टुङगिएर पीडितलाई कारवाही होस् भन्ने चाहन्छ । यदी प्रतिवादीले अपराध नगरेको हकमा उसले पनि मुद्दाको फैसला छिटो होस् र सफाइ पाउँ भन्ने सोच्नु स्वभाविकै हो ।

अहिले नेहा हत्याको मुद्दाले किनारा नपाउँदा परिवार दुखित भएको एक कानुनी व्यवसायीले बताए । ‘मुद्दा फैसला ढिला हुनु सबैकालाई दुर्भाग्य हो,’ उनले भने, ‘अपराधीलाई सजाय र पीडितलाई न्याय बेलैमा दिलाउन सक्नु पर्छ ।’

स्रोतका अनुसार मुद्दा किनारा नलाग्दा नेहाका परिवारले न्यायको प्रत्याभुति गर्न पाएका छैन् । अर्को कुरा नेपालमा पुर्पक्षमा परेका अभियुक्तले सफाइ पाएमा उसले भोगेको सजाय अर्थात थुनामा बिताएको समयको कुनै क्षतिपूर्ती दिने कानुनी व्यवस्था छैन ।

जसका कारण अभियोग लागेका तर सफाइ पाएकालाई दोहोरो मार परेको अधिवक्ता सुनाउँछन् । एक क्षतीपूर्ती नपाउनु अनि समाजले पनि अपराधीको दृष्टिकोण परिवर्तन नहुनाले उनीहरुलाई समाजमा स्थापित हुन निकै गाह्रो छ ।

के भन्छन् स्रेस्तेदार ?

नेहा र वादल हत्या मुद्दाको विषयमा जिल्ला अदालत कास्कीका स्रेस्तेदार जगन्नाथ पौडेलले खासै कुरा गर्न चाहेनन् । ‘के यी दुई मुद्दा फैसला हुनमा ढिलाई भएको हो’ ताण्डवले प्रश्न ग¥यो । जवाफमा पौडेलले भने, ‘फैसला गर्न ढिलो भएको भनेर पत्रकारले सोध्न मिल्दैन् ।’ पेसी कहिले हो मात्रै भन्न मिल्ने भन्दै पौडेल तर्किए । पौडेलका अनुसार बादल हत्याको मुद्दाको पेसी चैत्र १५ र नेहाको चैत्र २५ गते रहेको जानकारी दिए ।

यता स्रेस्तेदार पौडेलले फैसा ढिलो चाडो भन्न मिल्दै भनिरहदा न्यायपालिकाको तेस्रो रणनीति योजनाले १८ महिना भित्र मुद्दा किनारा लगाउने लक्ष्य लिएको छ । दुई वर्ष पुरानो मुद्दा राख्दै नराख्ने भन्ने पनि योजनामा उल्लेख छ । न्यायपालिकाको योजनाअनुसार जिल्ला अदालतले आफ्नो रणनीतिक योजना तयार गरी कार्यान्वन गर्न सक्छ ।

कास्की जिल्ला अदालतले पनि आफ्नो रणनीतिक योजना बनाएर लागू गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.