www.tandavnews.com
Fact ~ In search of truth

सार्वजनिक योजना पूर्णरुपमा कार्यान्वयन गरिने : मन्त्री अधिकारी

पोखरा(रासस)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयबाट सार्वजनिक गरिएका १६ बुँदे कार्ययोजना तोकिएकै समयमा पूर्णरुपमै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राजनीतिक स्थायित्वको सुनिश्चिततासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको बताउनुभयो ।

Batas

पहाडी क्षेत्रमा निर्माण गरिएका विमानस्थल देखाउनका लागिमात्र नभएको बताउँदै उहाँले सम्भाव्यताका आधारमा सञ्चालन गरेर जनतालाई निरन्तर हवाई सेवा उपलब्ध गराइने बताउनुभयो ।

काठमाडौँको आसपासमा आन्तरिक उडानका लागि विमानस्थल निर्माण गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ चापलाई व्यवस्थित गरिने बताउँदै मन्त्रालयले अगाडि सारेका योजना सफल पार्न सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभयो ।

मुलुकका सातवटै प्रदेशमा आन्तरिक स्रोत साधन परिचालन र राजश्व संकलनलाई प्रभावकारी बनाएर पर्यटन प्रवद्र्धनमा लाग्न आग्रह गर्दै मन्त्री अधिकारीले निकट भविष्यमा सातै प्रदेशका पर्यटन मन्त्रीको भेला गरेर योजना तयार गरिने जानकारी दिनुभयो ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी लम्साल र मोतिसागर अधिकारीले समसामयिक विषयमा मन्त्री अधिकारीलाई ध्यानाकर्षण गराउनुभएको छ ।

अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी पदमार्ग निर्माण

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्ग आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग एवं स्थानीयवासीको जनश्रमदानमा निर्मित १.३ किलोमिटर पदमार्ग आजदेखि सञ्चालनमा आएको हो ।

पदमार्गको एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा मन्त्री अधिकारीले अपाङ्गता भएका व्यक्तिमा भिन्न भिन्न क्षमता हुने भएको बताउँदै इच्छाशक्ति र क्रियाशीलताबाट उनीहरूका प्रतिभा प्रष्फुटित बन्ने बताउनुभयो ।

अपाङ्गता भएका पर्यटकलाई लक्षित गरी निर्मित पदमार्गले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षित गर्ने बताउँदै उहाँले यसलाई व्यवस्थित गरिनुपर्नेमा जोड दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका वडा नं १ स्थित भूमेको थानबाट हिमालयन देउराली रिसोर्टसम्म निर्मित पदमार्गमा अपाङ्गता भएका पर्यटकले ह्विल चेयर र दृष्टिविहीनले सेतो छडीको सहयोगमा पदयात्रा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अपाङ्गलाई लक्षित गरी निर्मित पदमार्गले नेपालजस्तो भौगोलिक विविधतायुक्त स्थानमा पनि यस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिने उल्लेख गर्नुभयो ।

नयाँ पदमार्ग निर्माण तथा संरक्षण समितिका अध्यक्ष विष्णु शर्माले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी निर्मित पदमार्गको कूल तीन किलोमिटर पूरा गरिने बताउँदै मार्गमा अपाङ्गमैत्री शौचालयलगायतका व्यवस्था गरिने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले स्थानीयवासीको जागरुकता एवं सहयोगमा १.३ किलोमिटर अपाङ्ग लक्षित पदमार्ग बनेको बताउँदै कूल तीन किलोमिटर लम्बाइको यो पदमार्ग दक्षिण एशियामा नै नमूना बन्ने विश्वास व्यक्त गर्नुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.