www.tandavnews.com
Fact ~ In search of truth

दृष्टि र सहारा बन्दै सहकारी

पोखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा / सन्तोष सुवेदी

सहकारीको मुख्य उद्देश्य भनेको आर्थिक समृद्धि हाँसिल गर्नु हो । सबै बर्गलाई समान रुपले समेटेर सहकार्य गरि अघि बढ्ने नीति सहरकारीले ल्याएको छ । सुरुवाती समयमा किसान देखि सबै खालका व्यवसायी सहकारीमा अटाएका थिए ।

तर अपांगता भएका व्यक्तिहरुलाई भने समेट्न नसकेको हो भनी वहस बेला बेला नचलेका भने होइन । नेपालमा सहकारीको संख्या बढिरहँदा अपांगता भएका व्यक्तिलाई समेट्न नसक्नु अर्को विडम्बना हो । अपांग भएका धेरै व्यक्तिलाई सहकारीसँग सहकार्य गर्ने इच्छा थियो तर जोडिन सकेका थिएनन् ।

Batas

दृष्टिविहीन भएर पनि आर्थिक रुपमा सबल हुने इच्छा भएका व्यक्ति हुन् श्रीकान्त सापकोटा । सापकोटा अहिले समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । अहिले सहकारीले आफू जस्तै धेरैलाई सहकार्य गर्दै अघि बढाएको सुनाउछन् सापकोटा । ‘एक दशक अघि हामीलाई सहकारीमा खाता खोल्न गाह्रो हुन्थ्यो, सहकारीले मान्दैन्थ्यो,’ उनले भने, ‘अहिले परिस्थिती फेरिएको छ हामी जस्तैले आफ्नै सहकारी खोलेका छौ ।’

अपांगता भएका व्यक्तिलाई अहिले ठूलो सहयोगीको रुपमा सहकारी उदाएको उनले सुनाए । ‘त्यसबेला दृष्टिविहीनहरुलाई केही काम गर्नुप¥यो पैसा चाहियो भने ऋण दिने कोही थिएनन्,’ उनले भने, ‘आफूसँग भएको केही सम्पत्ति राखेर ऋण लिऊ भने पनि त्यति सहज थिएन, अहिले हामी आफैले सजिलै ऋण दिन र लिन सक्छौ ।’

समदृष्टिको स्थापनाकाल

नेत्रहीन संघ कास्कीको पहलमा बचत समूह गठन गरी महिनाको २० रुपैयाँ बचत गर्ने गर्थे । नेत्रहीन व्यक्तिहरु गोलबद्ध भई बचत गर्ने र ब्याज पनि उपलब्ध गराउने, एकअर्काका खाँचोहरुलाई परिपूर्ती गर्न थाले ।

बचत गर्दै जाने क्रममा ४ लाख जति पुगेपछि व्यवस्थित प्रणाली अनुरुप नै बचत तथा ऋण सहकारी सञ्चालन गर्नुपर्ने सोच आयो । २०६० साल असार १६ गते समदृष्टि सहकारीको नाम दिएर संस्था स्थापना भयो ।

‘हाम्रा लागि हामी नै भन्ने मान्यता’ लाई आत्मसात गरेर सहकारी दर्ता भयो । नेत्रहीन संघ कास्कीको संस्था बुढीबजारसँगै कार्यालय छ । ५ हजारका दरले २५ जना साथीहरुबाट सेयर संकलन गरेर स्थापना गरिएको हो । दृष्टिविहीन, अल्पदृष्टियुक्त, दृष्टिविहीनको अभिभावक र नेत्रहीन संघ कास्कीका सहयोगी, सल्लाहकार सेयर सदस्य रहन पाउने व्यवस्था छ ।

‘एक दशक अघि सहकारीमा खाता खोल्न गाह्रो हुन्थ्यो, सहकारीले मान्दैन्थ्यो । अहिले परिस्थिती फेरिएको छ हामी जस्तैले आफ्नै सहकारी खोलेका छौ ।’

सहकारीको भौगोलिक सीमा सिंगो कास्की जिल्ला रहेको छ । अपांगता भएको व्यक्तिहरुको सजहतालाई मध्यजनर गर्दै सिंगो कास्कीलाई नै भौगोलिक सीमा निर्धारण गरेका हुन् । नियमन निकायले पनि सो सुविधा उपलब्ध गराएपछि सजिलो भयो ।

हाल सहकारीमा ११५ जना सेयर सदस्य छन् । आर्थिक क्षमताअनुसारको सय रुपैयाँ देखि लिएर हजार रुपैयाँ सम्म बचत गर्ने विवरण छ । गएको साउनमा श्रीकान्त सापकोटा सहकारीको अध्यक्षमा चुनिएर आउँदा झण्डैं २१ लाख शेयर पँुजी थियो । बचत ७ लाख रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकको ग्रामिण स्वावलम्बन कार्यक्रम मार्फत २४ लाख रुपैयाँ ल्याएर फिर्ता गरिसकिएको अध्यक्ष सापकोटा बताउँछन् । ‘अहिले पनि ३० लाख रुपैयाँ ल्याएर कार्यक्रम मार्फतको रकम सहित झण्डैं ६५ लाख जतिको कारोबार गरिरहेका छौं,’ उनले भने, ‘यसरी हामीले नेत्रहीन मार्फत सञ्चालन गरेको समदृष्टि सहकारी नमूनाको रुपमा छ । हामीले समयमै सहकारीको स्थापना नगरेको भए हामी वित्तिय सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो ।’

चुनौतीलाई चिर्दै सहकारी स्थापना गर्न सफल भएको उनी सुनाउँछन् । ‘हाम्रा पैसा चाहीँ अन्तै लगानी गर्ने तर हामीलाई सेवा दिन मिल्दैन भन्ने त्यस किसिमका चुनौतीहरुको सामना स्वरुप हामीले नेपालमै पहिलो समदृष्टि सहकारीको स्थापना गरेका हौं,’ उनले दाबी गर्दै भने, ‘अहिले हामी आफै सक्षम भएका छौ ।’

सहकारी विभाग अनुदान निर्देशिका, राष्ट्रिय सहकारी विकास बोर्डको अनुदानको कुरा पनि चलेको सुनाए । ‘कुनै पनि निर्देशिकामा दलित, सिमान्तकृत अन्य भनियो तर अपांगता भएका व्यक्तिहरुको भनिएन यस किसिमको अव्यवहारिक नीतिले पनि हामीलाई पाखा लगाएको छ’ उनले गुनासो गरे ।

नीतिगत कुराहरुमा पनि ग्रामिण क्षेत्रमा भएका सहकारीकालाई कर छुट दिने कुरा भयो तर अपांगता भएकालाई छुट दिनुपर्दछ भन्ने कुरा कतैबाट पनि उल्लेख नगरिएको उनको भनाई थियो । ‘हामीले बारम्बार नीतिगत कुरामा हामीलाई पनि समेट्नु प¥यो भन्ने कुरा ग¥यौ,’ उनले भने, ‘सहकारीलाई खर्च टार्ने माध्यम भन्दा पनि आर्थिक पहुँचका लागि, आर्थिक समृद्धिका लागि, सशक्तिकरणका लागि, चाहे हामीले दिगो लक्ष्य प्राप्तीका लागि भनौं वा सुखी खुशी नेपाल र नेपालीका लागि भनौं सबै लक्ष्यका लागि सहकारीको अवधारणा लागु हुनु आवश्यक छ ।’

समदृष्टि सहकारीलाई सहयोगको खाँचो रहेको उनले सुनाए । ‘म मिडिया मार्फत नै आह्वान गर्दछु’ उनले भने, ‘कोही पनि व्यक्ति वा संस्थाले सहयोग गर्न चाहनुहुन्छ भने, हामीले अपागंता भएका व्यक्तिहरुलाई उत्पादनमा जोड दिनका लागि उनीहरुको आर्थिक क्षमता अभिबृद्धि गर्नका लागि तालिम दिन चाहन्छौं ।’

बचत तथा ऋण बाहेक अन्य काम पनि गर्दै आएको उनले बताए । ‘हुन त सहकारीको काम भनेकै बचत तथा ऋण सम्बन्धीनै हो,’ उनले भने, ‘तर स्वरोजगार हुने कुरामा कसैले रोक्न मिल्दैन । त्यसकारण अपांगता भएका व्यक्तिहरुबाट कुचो बनाउने, गुन्द्रि बनाउने, डोरी बाट्ने यस्ता खालका तालिम दिन चाहन्छौं । दैनिक खपतका लागि आम सर्वसाधारणलाई नभई नहुने र अपांगता भएका व्यक्तिको आर्थिक आवश्यकताका निम्त्ति अरुको निर्भरतामा बाँच्न नपर्ने । यस खालको प्रस्ताव पेस गरेका छौं ।’

कृषि सहकारी संस्थाले अपांग व्यक्तिलाई मासिक बचत गराउने र आफ्नै खुट्टामा उभिन सक्षम बनाउने उद्देश्य राख्दछ ।

सहकारीका नियमन निकायहरु अब स्थानीय तह र प्रदेश स्तरीय सरकारलाई हस्तान्तरण गर्ने कुरा आएको उनले बताए । ‘ऐनहरु परिवर्तन गर्न पाउने सरकारको अधिकार रहन्छ,’ उनले भने, ‘यस अघि आएका ऐनहरुले अपांगता भएका व्यक्तिहरुले पनि आर्थिक गतिविधि गर्न सक्छन् भन्ने कुरालाई नजरअन्दाज गरेर ऐन ल्याइयो ।

जसकारण हामीले अन्य सिमान्तकृत सरह पाउनुपर्ने केही सुविधाहरु नपाएको महशुस गरेका छौं ।’ समाजको आर्थिक स्तर उकास्नका लागि अपांगता भएका व्यक्तिहरुले क्षमता राख्ने हुँदा नीति निर्माणमा अपांगता भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्ने उनले जनाए ।

राज्यले सबैलाई समेट्नु पर्ने उनको सुझाव थियो । ‘हामी कारोबार पार्दशी गर्छौ, राज्यलाई उचित कर तिर्न तयार छौं,’ उनले भने, ‘हामी पनि राज्यका हिस्सेदार हौं । त्यसकारण हामीलाई समेट्नुस भन्न चाहन्छौं । पहिचान र अधिकार सबैको बराबरी हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।’

समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड जस्तै अर्को पनि सहकारी छ जसले फरक पहिचान बनाउन सफल भएको छ । सुरुवाती समयदेखीनै निकै संघर्ष गरेर संस्था उदाएको थियो ।

सानो झुप्रो त्यही पनि टिनले छाएको । साँघुरो कार्यकक्ष । यस्तै आकारमा तीन वर्ष पहिले पोखरा–३ नदीपुरमा सिर्जनशील स्वावलम्वन कृषि सहकारी संस्था लिमिटेड स्थापना भएको थियो । स्थापनाको तीन वर्ष पूरा हुँदा पनि यसको स्वरुप उस्तै छ तर कारोबारमा भने निकै राम्रो गरेको छ । सिर्जनशील सहकारी जस्तै कास्कीमा ६ सय भन्दा धेरै सहकारी छन् ।

तर यो सहकारी नै सबैको निम्ति उदाहरण भन्नुको पछाडी एउटा मात्र कारण छ । अपांगता भएका व्यक्तिहरुले सञ्चालन गरेका हुनाले यस सहकारीले आफ्नो वेग्लै पहिचान बनाउन सफल भएको हो ।

अपांगता भएका व्यक्तिहरुको सक्रियतामा ८५ जना सेयर सदस्यबाट स्थापना गरिएको सहकारीमा अहिले २ सय ८ पुगेका छन् । सहकारीबाटै अपांगता भएका व्यक्तिलाई सपाङ्ग बराबर अधिकार दिलाउनको कार्य योजना अनुसार नै स्थापना गरेको संस्थाका अध्यक्ष फणिन्द्र पौडेलले बताए ।

कृषि सहकारी संस्थाले अपांग व्यक्तिलाई मासिक बचत गराउने र आफ्नै खुट्टामा उभिन सक्षम बनाउने उद्देश्य राख्दछ । अपांग भएका व्यक्तिहरुले बचत गर्ने बानीको विकास गराउने उद्देश्य नै सहकारीको हो । ‘यो सहकारी अपांगता भएका व्यक्तिहरुले गरेको ठूलो उपलब्धी हो,’ अध्यक्ष पौडेलले भने, ‘दिगो बचतको बानी बसाली उद्यमी बनाउने अभियान सहकारीको हो ।’ सहकारीले समाजमा आबद्धता भएका अपांग र महिलाहरुको प्रथामिकताको आधारमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सहकारीले स्वयम फर्म सञ्चालन गर्न नसकेपनि कृषि क्षेत्रमा तल्लिन गराउनको लागि अपांगता भएका व्यक्तिहरुको लागि तालिम दिँदै आएको छ । ‘च्याउँखेती, बाख्रापालन, मोबाइल मर्मत तालिम सहकारीकै पहलमा हुँदै आएको छ,’ पौडेलले सुनाए, ‘तालिम नै अपांगता भएका व्यक्तिको लागि गरिएको लगानी हो ।’ सहकारीले गरेको काम गतिविधिले गर्दा सपाङ्ग, अपांगबीचको मध्यस्त गरेको उनको ठम्याई छ ।

पछिल्ला दिनहरुमा अपांग भएका व्यक्तिहरुले राम्रो–राम्रो सीपमुलक काम गर्दै आएको उनले सुनाए । अपांग भन्ने बित्तिकै अधिकार छैन्, केही गर्न सक्दैनन्, अंश हुँदैन् भन्ने पूराना कुराको अन्त्य हुनुपर्नेमा अध्यक्ष पौडेलले ठाउँठाउँमा माग उठाउने गर्छन् । सहकारीले आर्थिक क्षेत्रमा बढाउने मात्र नभएर पछाडि पारिएको वर्गलाई अगाडि सार्ने लक्ष्य संस्थाको रहेको उनले सुनाए ।

अध्यक्ष पौडेलका अनुसार आपसी समझदारीमा नीति बनाएर संस्थाले विना धितो कृषिमा लगानी गर्ने लक्ष्य लिएको छ । संस्थामा एक हजार सेयर गर्ने व्यक्तिले १० हजार रुपैयाँ, १० हजार रुपैयाँ सेयर लगानी गर्नेले ५० हजार र ५० हजार सेयर गर्ने व्यक्तिले ३ जनाको रोहवरमा २ लाख ऋण पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

अपांग भएका व्यक्तिले सपाङ्ग व्यक्तिलाई रोजगार दिने व्यवस्था भएवमोजिम हाल एक जना व्यक्तिलाई सहकारी संस्थामा रोजगारी दिइएको छ । भविष्यमा संस्थाबाटै बेरोजगारलाई रोजगारको व्यवस्था लिई विभिन्न कृषि मुलक काम गरिने लक्ष्य सहकारीको छ । सहकारीको विनियम अनुसार सहकारीको सञ्चालक सदस्यमध्ये अपांगता भएका ७५ प्रतिशत र सपाङ्ग २५ प्रतिशत सदस्य छन् ।

सहकारीमा कास्की र तनहुँमा कार्यक्षेत्र बनाएका स्थायी वा अस्थायी बसोबास गरेका व्यक्ति आजिवन, मानार्थ, सल्लाहकार सहयोगी बनेर सिर्जनशील अपांग समाजमा प्रवेश गर्न पाउने प्रावधान रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.