www.tandavnews.com
Fact ~ In search of truth

‘प्रादेशिक सहकारी बैंक स्थापना हुनुपर्छ’

सहकारीलाई समृद्ध बनाएर लैजान के कस्ता पहलहरु गर्नुपर्ला ?

सहकारीलाई हेर्ने दृष्टिकोण व्यापक परिवर्तन गर्न जरुरी छ, राजधानी केन्द्रीत सहकारीलाई हेरेर र गल्ती कमजोरी गरेका सहकारीलाई मात्र हेरेर नीति बनाउन हुँदैन, सहकारीका अन्तर्राष्ट्रिय मूल्य मान्यता र सफल उदाहरणहरुलाई नेपाली सहकारी अभियानको हिस्सा बनाउन आवश्यक छ, सहकारी अनुकुल कानुन निर्माणमा ढिलाई गरिनु हुन्न ।

तीन खम्बे अर्थनीतिको मूल मर्म बमोजिम सहकारीलाई निसर्त सबै क्षेत्रमा लगानी गर्न र विकासको साझेदार बनाउन आवश्यक छ । सहकारीका संघहरुलाई अधिकार सम्पन्न बनाएर नियमित अनुगमन र समन्वयको कार्यहरु गरिनुपर्छ ।

Batas

सहकारीले सामाजिक उत्तरदायित्वलाई अवलम्बन गरेर अगाडि बढ्नुपर्छ भनिएको छ ? सहकारीको सामाजिक उत्तरदायित्व भनेको के हो ?
सहकारी व्यवसाय समुदायमा आधारित र सदस्य केन्द्रीत संस्थाहरु हुन् । यो सेवा सहितको व्यवसाय पनि हो ।

यसले आफूलाई मुलत नाफामा मात्र केन्द्रित राख्नु हुँदैन । संस्था सक्षम भएपश्चात समाजमा रहेका कमजोर वर्गको उत्थान गर्न वातावरण संरक्षण तथा सम्बद्र्धन, कला संस्कृतिको जगेर्ना, विकास निर्माण आदि क्षेत्रमा योगदान पु¥याउन सक्नुपर्दछ । सहकारीको सिद्धान्त बमोजिम समेत समुदायप्रति चासो भन्ने छ, यसको आधारमा समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्दछ ।

सहकारी क्षेत्रमा जति पनि समस्या छन् ती बचत ऋण सहकारीमा नै छन् भन्ने गरिन्छ । वास्तवमा समस्या के हुन् र समाधानका लागि कस्तो पहल हुँदैछ ?

वास्तवमा यो बुझाई सरासर गलत हो । यो क्षेत्रमा समस्या छैन त म भन्दिन, तर बचत ऋणमा जे समस्या छ भनिएको छ, त्यो केहि सहकारीलाई लिएर आएको समाचार हो ।

बचत ऋण सहकारीले गरेको बचत गर्ने बानी बसाल्ने अभियानका कुरा, वित्तीय साक्षरताको विषय, सरल तथा सुलभ तरिकाले ऋण प्रवाह गरेको कुरा, रोजगारी प्रबद्र्धनको कुरा र सहकारी क्षेत्रबाट कर योगदानको कुरा विर्सेर केहि सहकारीमा भएको विकृतिलाई लिएर समग्र क्षेत्रलाई बदनाम गर्न खोज्नु बिल्कुल गलत हो ।

समस्या समाधानको लागि सबैले सहकारीको ऐन नियम, मापदण्ड र विनियम बमोजिम कार्य गरे समाधान त्यहि छ, यसको लागि अनिवार्य सदस्य शिक्षा कार्यक्रम, सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम नियमित गरियो भने सहकारीको समस्या त्यहि भित्रबाट समाधान हुन्छ ।

सहकारी ऐनको चर्चा र बहस बेला बेलामा चल्छ, अब स्थानीय र प्रादेशिक ऐन कस्तो हुनुपर्ला ?

सहकारी ऐन सहकारी अभियान र सदस्य अनुकुल हुन जरुरी छ, हामी समय सापेक्ष ऐनको पर्खाइमा छौं ।

नीति तयार गर्ने क्रममा सहकारी अभियन्तासँग व्यापक छलफल र सुझाव लिईयोस, दोहोरो कर लगाउन नहुने, नाफा वितरण र कोष वितरणमा संस्था स्वयंले कार्यविधी बनाउन पाउनुपर्दछ, सहकारीलाई हरेक विकासका काममा साझेदारी बनाइयोस्, उत्पादन, बजारीकरण र सेवाका क्षेत्रमा विशेष छुटको व्यवस्था होस्, सरकार सहकारी र नीजि क्षेत्रको सह–कार्यमा ठूला उद्योगहरुमा लगानीको वातावरण तय होस्, हरेक विद्यालयमा सहकारी विषयको पाठ्क्रम समावेश गरि व्यावसायिक सहकारी सम्बन्धी ज्ञान सीपको शिक्षा दिने व्यवस्था मिलाईयोस्, सहकारी मार्फत सामुहिक खेती, सामाजिक न्याय, संस्कृति र वातावरण संरक्षणको काममा सहकारीलाई साझेदार बनाईयोस् । प्रादेशिक सहकारी बैंक स्थापना हुनुपर्छ, विशिष्टीकृत संघको लागि कर छुटको प्याकेज दिईनुपर्दछ ।

६१ औं राष्ट्रिय सहकारी दिवस मनाई रहेको अवसरमा तपाई के भन्न चाहनुहुन्छ ?

हामी सहकारी क्षेत्रलाई जीविकोपार्जनको साधनको रुपमा नभई आयात प्रतिस्थापन गर्ने अभियानमा जोड्न सकौं, नयाँ प्रविधी र विकासक्रमलाई पछ्याउँदै प्रतिस्पर्धी र दिगो सहकारी निर्माणमा जोड दिऔं ।

दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी क्षेत्र सक्षम बन्न सकोस सबैमा सहकारी दिवसको शुभकामना ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.