www.tandavnews.com
Fact ~ In search of truth

‘भूपी शेरचनका कविता मनै पर्दैन’

‘पैताला’ उपन्यासका लेखक गनेस पौडेल पोखरामा सर्वाधिक पुस्तक पढ्ने पाठकका रुपमा चिनिन्छन् । कविता नाटक उपन्यास र पेन्टिङ जस्ता विविध विधामा विशद ज्ञान राख्ने पौडेल र्‍याण्डम रिडर्स सोसाइटी अफ नेपालका परिकल्पनाकार पनि हुन् । उनै पौडेलसँग गरिएको पुस्तक संवाद :

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

यस्तै भन्ने छैन, सबै विधाका पुस्तक मन पर्छ । आजकाल ननफिक्सन ज्यादा पढ्न थालेको छु । म बिहान कम्तिमा दुई वटा कविता पढेर दिनको सुरुवात गर्छु । सुत्नु अघि पेन्टिङका विवेचनाहरू पढ्छु ।

Batas

कथावाचन र डिभाइसका हिसाबले प्रयोगहरू भएका आख्यान बाहेक कोरा कथा–उपन्यास पढीनँ । खेलाडीहरूको वायोग्राफी, नेपालबाहेक अन्य देशको इतिहास र संस्कृतिबारेका किताब पनि मन पर्छ । विज्ञानका नयाँ खोजहरूको रिसर्च पेपर पनि बुझेसम्म पढ्छु ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

फिल्मको काम गरिरहेको हुनाले अहिले पुस्तक पढ्नुभन्दा पनि फिल्महरु हेरिरहेको छु । यो महिना फिल्मका बारेका केही किताब पनि पढेँ ।

जेम्स मोनाकोको हाउ टु रिड अ मुभी, पेनगुइनले छापेको विभिन्न लेखकको आलेख भएको ‘द मुभी बुक’, सत्यजित रेको ‘आवर फिल्म्स देअर फिल्म्स्’, होवरम्यानको ‘फिल्म आफ्टर फिल्म’ सकेर अहिले भने आरामको लागि मरियन एच डङ्कनको ‘कस्टम्स एन्ड सुपस्टिसन्स् अफ् टिबेटन्स्’ पढिरहेको छु ।

जीवनमा पुस्तकको महत्व कत्तिको हुन्छ ?

पुस्तकको महत्व त स्वभाविक रुपमा नै हुन्छ । महत्वको पछाडि जान थालियो भने पढ्ने काम बोझिलो हुन्छ । पुस्तक पढ्ने कुरा बोझिलो होइन, हल्का साधारण सिम्पल बनाउनुपर्छ । कुनै कुरालाई बोझिलो बनाइयो भने सबै कुरा समेट्न सकिँदैन । पढ्नुलाई भात खाए जस्तो, फुटबल खेलेजस्तो, मर्निङवाक गरेजस्तो मानेर लिनुपर्छ ।

पढ्ने कामलाई महत्वपुर्ण, जटिल प्राज्ञिक कर्म मान्दा यसले पठन संस्कृतिको विकास गर्न सक्दैन । ‘यो विद्वानले गर्ने काम हो’ भन्ने सोचाईले किताबलाई खेलाडी, व्यापारी, किसान, मदजुर आदिमा फैलाउन नसकिएको हो । यस्तो होस् न, एउटा बुच्चरले ग्राहक नआएको बेला मासुका फिलामाथि किताब राखेर पढिरहेको होस् । किसानले रोप्दा रोप्दा थाकेर पढोस् ।

ड्राइभरको स्टेरिङ अघिल्तिर पढ्दै गरेको किताब पल्टियोस् । अनि पो हुन्छ । मेरा लागि किताब पढ्नु र ब्याडमिन्टन खेल्नु उस्तै कुरा हो । किताब पढ्नु खास महत्वपूर्ण काम होइन ।

तपाईलाई मन परेको पुस्तक ?

सबभन्दा मन परेको पुस्तक ‘महाभारत’ नै हो । रुमीका कविता, मुराकामी, खालिद हुसैनी, जर्ज साउन्डरका आख्यान बढि मन पर्छन् । टोनी मोरिसन, काजुओ इसिगुरो, गुन्टर ग्रास पनि मन परेका छन् ।

मैले रिठ्ठो नबिराई छापिएका सबै रचना पढेको एकमात्र लेखक सरुभक्त हुन् । पुरानो पुस्तामा परिजात, इन्द्रबहादुर राइ, शंकर लामिछाने ज्यादै मन पर्छन् । सबैले मन पराउने भूपी शेरचनका कविता मलाई मनै पर्दैनन् । नेपाली जीवित लेखकमा अपवादका १÷२ जनाबाहेक नयनराज पाण्डे भन्दा अघिल्लो पुस्ता एउटै ड्याङका मुलाजस्तो लाग्छन्, खासै मन पर्दैनन् ।

पढ्न चाहेर पनि नपाएको पुस्तक ?

पहिला त धेरै थिए । अरबियन नाइटस् भन्ने पुस्तक पहिला थिएन अहिले घरमा भएर नि पढ्न पाको छैन् । केही तिब्बत इतिहाससँग सम्बन्धित पुस्तक पढ्न मन छ । नार्कोटिक्स अर्थात कुलत सम्बन्धी केही आख्यान पढ्न मन छ । पेन्टिङ, म्युजिक, डान्स आदिलाई बुझ्न सघाउने खालका पुस्तकहरु पनि पाएको छैन् ।

तपाईले उपहार दिँदा कस्ता पुस्तक दिने गर्नुहुन्छ?

मलाई कुनै किताब वा सिनेमा मन प¥यो भने कसलाई दिउँ कसलाई दिऊँ भैहाल्छ । उपहार दिइहाल्छु । मन पर्ने पुस्तक मेरो दराजमा हुँदैनन् । मसँग अहिले जति पुस्तक छन् ती सबै औसत किताब मात्रै छन् । (लामो हाँसो…)

नयाँ पुस्तालाई पुस्तकतिर कसरी तान्ने ?

हामीले ¥यान्डम रिडर्स सोसाइटीबाट यसै प्रश्नको जवाफ खोज्ने काम गर्छौै । नया“ होस् या पुराना किताब पढ्न पहिला मान्छे साक्षर हुनुपर्छ । साक्षर भैसकेको मान्छेलाई उसको रुचि अनुसारको किताब प्रकाशित हुनुपर्छ । हरिबंश आचार्यको ‘चिना हराएको मान्छे’ लाखको हाराहारीमा बिकेको छ । सुबिन भट्टराईका हरेका किताब ५० हजारको हाराहारीमा बिकेका छन् ।

नवराज पराजुलीले कविताको वास्तविक बजारको साइज देखाइदिएका छन् । हार्ड कोर साहित्यमा यिनीहरूका किताबको खास चर्चा नगरिने भए पनि यिनले नेपालको रिडरशिपलाई धेरै माथि उकासेका छन् । यस्तै किताबहरूको प्रकाशन बढ्ने, लेखक अझ धेरै हुने हो भने यसले हार्ड कोर साहित्यलाई पनि फाइदा गर्छ ।

अर्को कुरा नया“ पुस्तालाई किताब पढ्न प्रोत्साहित गर्ने कुरा विद्यालय जीवनबाटै हुनुपर्छ । स्कुलमा पुस्तकालय जाने परम्परा बलियो हुनपर्छ । शिक्षक, अभिभावकले आफ्ना बालबच्चालाई कोर्सबाहेकका किताब पढ्न प्रोत्साहित गर्नु पर्छ ।

कोर्समा मात्रै सीमित हुने परीक्षा प्रणालीलाई सुधार गर्नु पर्छ । दुःखको कुरा त के भने यहाँ कवि–लेखक नै किताब पढ्दैनन् । शिक्षक–प्रँध्यापक नै किताब छु“दैनन् । लाज लाग्दो अवस्था छ विद्वानहरूको ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.