www.tandavnews.com
Fact ~ In search of truth

बुटिकमा सपना बुन्दै स्वस्तिका

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

‘इभारा द बुटिक’की सञ्चालक स्वस्तिका बज्राचार्य उमेरले भर्खरै २२ टेकेकी छिन् । भारतको मोडआर्ट ईन्टरनेश्नल दिल्लीबाट ब्याचलर इन फेशन डिजाइनिङमा स्नातक गरेकी स्वस्तिकाले नयाँबजार स्थित बुटिक सञ्चालनमा ल्याएकी हुन् ।

बुबा सुजन र आमा संगीता बज्राचार्यको पेसा सुहाउँदो ज्वेलरी एण्ड जेमोलोजी विषयमा समेत एक वर्षे अध्ययन पूरा गरी सकेकी स्वस्तिकाले उक्त बुटिक सञ्चालनमा ल्याएको दुई वर्ष भयो ।

Batas

फेसन डिजाइनिङमा विशेष रुचि राख्ने उनी बुटिक सञ्चालनमा ल्याउनुको मुख्य प्रेरणा स्वयम् आफूलाई नै ठान्छिन् । ‘म स्वतन्त्र छु, मेरो रुचि र लक्ष्य फेशन डिजाइनर हुनु थियो,’ उनी भन्छिन्, ‘त्यसैले पनि आफूले रोजेको विषयमा नै काम गर्न पाइरहेकी छु ।’

सेन्टमेरिज स्कुलमा विद्यालय स्तरको पढाइ सम्पन्न गरेकी स्वस्तिका आफ्नो ब्याचको सहपाठीहरु मध्ये आफू मात्रै फेसन डिजाइनिङ अध्ययन गरेको बताउँछिन् । ‘मेरो लक्ष्य र चाहना अरु भन्दा पृथक थियो,’ केही खुल्दै उनी सुनाउँछिन्, ‘प्लस टु सकेपछि एबोर्ड जाने लहर नै छ, तथापि मलाई आफ्नै सहरमा केही क्रियटिभ काम गर्न मन थियो ।’

दृढ संकल्प सहित व्यवस्थित योजना बनायो भने पछाडि फर्केर हेर्नु नपर्ने उनी बताउँछिन् । उच्च शिक्षाको बहानामा वर्षेनी अर्बौ रुपैयाँ मुलुक बाहिर पैसा गइरहेको सन्दर्भमा उनको व्यावसायिक बुटिक उदाहरणीय छ ।

फेशन संस्कृतिमा छिमेकी देश भएर पनि होला भारतको राम्रो नराम्रो प्रभाव जे भए पनि नेपालमा छिट्टै पर्ने गर्छ । पोखरा मात्र नभई समग्र नेपालकै सन्दर्भमा बुटिकले पर्याप्त बजार पाउनेमा उनी निर्धक्क छिन् ।

पोखराको बजारलाई मापन गर्ने हो भने बुटिक व्यवसाय सन्तोषजनक नरहेको स्वस्तिका बताउँछिन् । भन्छिन्, ‘बुटिक आम सर्वसाधारणको रोजाईमा नपर्नु व्यवसायको चुनौतीको रुपमा लिएको छु ।’

पोखरामा अनगिन्ती बुटिक पसलहरु खुले पनि सबैले सन्तोषजनक व्यापार भने गर्न सकेका छैनन् । सन्तोषजनक व्यापार नभए पनि भविष्यमा बुटिकको व्यापार राम्रो रहने सम्भावना भने यथावत् भएका कारण आफूले यस पेसालाई निरन्तरता दिने उनको भनाइ थियो ।

‘मैले यस व्यवसाय सुरु गर्नुपूर्व धेरै सोच विचार गरेको थिएँ,’ उनी भन्छिन्, ‘आत्मविश्वास त हो नी सबै कुरा पारिवारिक सपोर्ट पाएपछि त झनै उत्साहीत भएँ ।’

स्वस्तिकाले दिल्लीमा फेशन डिजाइनीङ पढ्दाकै समयमा चार महिना इन्टर्नसीप समेत गरेकी हुन् । यसकारण पनि उनी भारतमा बुटिक डिजाइन कपडाहरुको मागबारे जानकार छिन् ।

भारतको अहिले बुटिक व्यवसाय मध्यम छ, तर आगामी केही वर्ष भित्रै हालको आपूर्तिले बजारको माग धान्न नसक्ने उनी आंकलन गर्छिन । फेशन संस्कृतिमा छिमेकी देश भएर पनि होला भारतको राम्रो नराम्रो प्रभाव जे भए पनि नेपालमा छिट्टै पर्ने गर्छ ।

पोखरा मात्र नभई समग्र नेपालकै सन्दर्भमा बुटिकले पर्याप्त बजार पाउनेमा उनी निर्धक्क छिन् ।  ‘सुरुवाती चरणमै छु,’ स्वस्तिका सुनाउँछिन्, ‘मैले व्यवसायमा धेरै चुनौतीहरुको सामना गर्नुपर्ने छ त्यसैले पनि बुटिक व्यवसायमा स्थिर हुने प्रयत्न गर्दैछु ।’

स्वस्तिकाले बुटिकमा आफूसँगै थप नौ जना महिलालाई पनि रोजगार दिएकी छन् । सामाजिक उत्तरदायित्व वहन स्वरुप उनले बुटिकमा कार्यरत कर्मचारीको छोराछोरीलाई विद्यालयको शुल्क तिर्दै आएकी छन् । हाल उनले दुई जना बालबालिकाको निजी विद्यालयको पढाई शुल्क तिर्ने गरेको सुनाइन् ।

‘लगानी गर्नु मात्रै पर्याप्त होइन,’ उनी भन्छिन्, ‘सफल व्यवसाय सञ्चालनका लागि दृढ इच्छा शक्ति र आत्मविश्वास चाहिन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.