www.tandavnews.com
Fact ~ In search of truth

जग्गा मिच्दा वडाध्यक्ष मौन !

ईश्वर देवकोटा

पोखरा, ताण्डव न्यूज

पोखरा लेखनाथ महानगरपालिका वडा–५ मा सार्वजानिक जग्गा र व्यक्तिगत जग्गा मिचेर संरचना निर्माण गर्दा पनि अध्यक्ष धनबहादुर नेपाली मौन रहेको गुनासो आएको छ ।

Batas

पटक–पटक उजूरी गर्दा समेत अध्यक्ष नेपालीले वास्ता नगरेको स्थानीयको भनाई छ । आमा समूहले मापदण्ड मिचेर तयार पारेको संरचना र स्थानीय प्रेमबहादुर खत्रीले संधियाराको जग्गा मिचेर आफ्नो घर बनाइएको प्रमाणित भएपनि वडाध्यक्ष नेपालीले अझैसम्म कारवाहीको दायरामा नल्याएको आरोप लागेको छ ।

महानगरबाटै खटिएको प्राविधिक टोलीले प्रेमबहादुरले बनाएको घरले संधियारामा रहेका लेखबहादुर र डिलबहादुर खत्रीको जग्गा मिचिएको प्रमाण सहित रेखांकन गरेको थियो ।

प्राविधिक टोलीको प्रतिवेदन सहित घर भत्काउन महानगरबाट मेयर मानबहादुर जिसीले आदेश सहितको पत्र काट्दा पनि वडाध्यक्ष धनबहादुर नेपाली रोहवरमा बस्न नमानेकाले महानगरको निरीक्षण महाशाखाले घर भत्काउन नसकेको हो ।
जग्गाको विवाद भएपछि महानगरबाट बरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले उजूरीको आधारमा प्राविधिक महाशाखालाई मंसिर २४ गते स्थलगत निरीक्षण गरि प्रतिवेदन पेश गर्न आदेश दिए । साथै घर नक्सा शाखालाई घरको नक्सा पास रोक्का राख्न पत्रमार्फत जानकारी गराएका थिए ।

प्राविधिक शाखाले प्रेमबहादुरले निर्माण गरेको घरले लेखबहादुर र डिलबहादुरको जग्गा मिचिएको भनी मिचिएको भाग पहेँलो रंगको चिनो लगाई बरिष्ठ कानुन अधिकृत समक्ष लिखित प्रतिवेदन समेत पेस गरेको छ ।

गत पुस ९ गते बरिष्ठ कानुन अधिकृत शर्माले प्रेमबहादुर खत्रीलाई सोको जानकारी गराई सात दिन भित्र हटाउन र तोकिएको म्यादमा नहटाएमा हटाउँदा लाग्ने खर्च समेत असुल उपर गरिने भनी महानगरबाट पत्रचार गरे । सो पत्रमा वडा ५ कार्यालयलाई बोद्यार्थ जानकारी दिइएको छ ।

सात दिन भित्र हटाउन आदेश दिइएको घर नहटाइएको पाइएकोले रेखांकन गरेको घरको भाग जति स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को (परिच्छेद ७), दफा ४१ बमोजिम हटाई सो को जानकारी गराउन पुस १९ गते मेयर जिसीले निरीक्षण महाशाखालाई आदेश दिइएको थियो ।

मापदण्ड विपरित वा सांध संधियारा मिचिएर बनेका संरचना भत्काउँदा सम्बन्धित वडाका जनप्रतिनिधिको रोवहर बस्नुपर्ने प्रावधान छ । तर, मेयर जिसीले पटक पटक वडा कार्यालयलाई पत्रमार्फत आदेश दिई सो घर भत्काउन लागि रोहवरमा बस्न भनेपनि वडाध्यक्ष नेपालीले अटेर गरेका हुन् ।

जग्गा मिचिए पीडीत बनेका लेखबहादुर खत्रीका छोरा तीर्थ केसीले वडाध्यक्ष नेपालीलाई तीन महिनादेखि घटनाको बारेमा जानकारी गराउँदा समेत कुनै चासो देखाएका छैनन् । वडाध्यक्षले मेयर जिसीकै निर्देशनलाई लत्याउँदा कतै आर्थिक प्रलोभनमा त फसेको होइन भन्ने आंशका देखिएको केसीले बताए ।

महानगरको निरीक्षण महाशाखाले वडाबाट जनप्रतिनिधि रोवहरमा नभई घर भत्काउन नपाए पछि पीडीत झन् मर्कामा परेको गुनासो गरेका छन् । वडाध्यक्ष नेपालीले जग्गा मिचिएको सम्बन्धमा चारपटक स्थानीयको रोवहरमा मिलाउन खोजे पनि नमिलेपछि महानगर पुगेको बताए ।

‘कानुनी प्रक्रिया अनुसार काम कारवाही अगाडि बढाएमा हाम्रो कुनै अवरोध छैन्,’ उनले भने, ‘उहाँहरु एउटै आमाले पाएका छोराहरु थोरै जग्गा मिचिएर वादविवाद गर्न भन्दा पनि मिल्न सुझाव दिएको हुँ । सुरुमा जग्गा मिचिएको छ कसरी सहमति हुन्छ हामी लिखित रुपमै वडामा आउने भन्नुभयो । तर, उहाँहरु सो मितिमा वडामा आउनु भएन, महानगर जानुभएछ ।’

समस्या नयाँ नक्सा र पुरानो नक्सा बीचको रहेको बताउँदै वडाध्यक्ष नेपालीले दाजुभाईबीचको विवाद सहमतिबाटै मिलाउन पहल गरेको बताए । दाजुभाइहरु सहमतिमा आएर विवाद सुल्झाउने भनेको भएर आफू भवन भत्काउन पट्टी नलागेको उनले स्पष्ट पारे ।

जग्गा मिचिएर पीडीत भएकाहरुले यथाशिघ्र महानगरले रेखांकन गरेको भाग जति हटाउनुपर्ने दाबी गर्दै आएका छन् । फागुन ९ गते मेयरले आदेश दिँदै लेखेको पत्रमा भवन हटाउनु पर्ने नै देखिएकोले प्राविधिक टोलीको प्रतिवेदन अनुसार रेखांकन गरे जतिको भाग हटाउन निर्देशन गरेका छन् ।

अटेर गर्दै आमा समूहले संरचना थपे

वडा नम्बर ५, जिरोकिलोमिटर नजिकै भूपीशेरचन राजमार्गसँग जोडिएको श्री नमूना आदर्श आमा समूह भवनको संरचनाले वडाको बजेटमा मापदण्ड विपरित थप संरचना बनाउने काम गरेको स्थानीयको गुनासो छ ।

सडक मापदण्ड मिचेर संरचना बनाउन लागेको भनी पटक पटक वडा कार्यालयमा जानकारी गराउँदा पनि अटेर गरेर निर्माण गरिएको स्थानीयले सुनाए ।

सार्वजनिक जग्गाको संरक्षण सरकारको नियगमनकारी निकायबाट हुनुपर्नेमा उल्टो दोहन गर्ने काम भएको एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आयो भन्छन्,’ उनले भने, ‘हाम्रो वडाका अध्यक्षलाई कुनै ऐनले पनि नछुने रहेछ क्या ?’

वडाध्यक्ष धनबहादुर नेपालीले वडाको बजेटमा आमा समूहको भवन बन्न लागको कुरा सरासर गलत भएको दाबी गरे । ‘हामीकहाँ समूहबाट प्रारम्भिक छलफलको लागि आउनुभएको थियो,’ उनले भने, ‘सार्वजनिक जग्गा बाटो मिचेर बनाएका संरचना धमाधम भत्काउने अभियानमा जुट्दा यो झन् थप्ने काम नगर्नु होला भनेर पठाएको हो ।’

आमा समूहले भवन साँघुरो भयो बाहिरबाट भर्याङ थप्नु परेको भन्दै वडामा आए पनि आफूले कुनैपनि अनुमति नदिएको जिकिर वडाध्यक्ष नेपालीले गरे ।

‘मेलै केहिदिन मात्रै अघि भवनमा भ¥याङ थप्दै गरेको देखे, हाम्रो अनुमति छैन्,’ उनले भने, ‘सडकले पनि चासो दिएको छ यस विषयमा राजमार्गको मापदण्ड नीति विपरित भएकोले यो भत्किन्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.