www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सञ्जालमा अपराध

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

एक दिन यस्तो मेसेज आयो, जसले निशाको होस् हवास उड्यो । कल्पनासम्म नगरेको कुरा रमेशले लेखेका थिए, ‘म सँग यौनसम्पर्क गरेको भिडियो छ । पैसा दिने भए दे, नत्र पब्लिक गर्दिन्छु ।’

सामाजिक सञ्जालले सिङ्गो विश्वलाई हातमा अटाउने बनाएको छ । सजिलै विश्वको एक कुनाबाट अर्को कुनामा जोड्ने सामाजिक सञ्जालले पछिल्लो समय युवायुवतीलाई अपराधको जालोमा पारिरहेको छ ।

Batas

जति सजिलै सम्बन्धहरु सामाजिक सञ्जालमा जोडिन्छन्, त्यसरी नै अपराधमा फसेपछि उम्कन उत्तिकै गाह्रो पनि छ । सामाजिक सञ्जाल मध्ये एक हो फेसबुक ।

सम्बन्ध बनाउने र विचार प्रकट गर्ने एक उत्कृष्ट थलो फेसबुक । तर, पछिल्लो समय यसले केही विकृति ल्याएको पाइन्छ । त्यतिमात्र होइन मानिस अन्जानमा सामाजिक सञ्जाल मार्फत अपराधमा जेलिएका हुन्छन् ।

यस्तै केही सत्य घटना जिल्ला प्रहरी कार्यालय कास्कीसम्म आइपुगेका छन् ।
….

‘सहबास गरेको भिडियो फेसबुकबाट सार्वजानिक गर्दिन्छु’ भन्ने बित्तिकै उनी छाँगाबाट खसेजस्तै भइन् । आफूलाई भन्दा बढी विश्वास गरेर सबै कुरा सुम्पिएको मान्छेले त्यसो भनेपछि विश्वासको पर्खाल गल्र्याम्मै भत्कियो ।

सुरक्षित ठानेर सबै कुरा सेयर गरेको प्रेमीबाटै यस्तो धम्की आउने अपेक्षा गरेकी थिइनन् उनी । मन मिलेसँगै तन पनि साटिएको थियो उनीहरु बीच ।

घटना एक वर्ष पहिलेको हो । गोर्खाकी निशा र पोखराका रमेशको फेसबुकबाटै चिनजान भयो । अलिअलि बोल्दाबोल्दै म्यासेज आदानप्रदानको क्रम बाक्लिन थाल्यो । ‘हेल्लो हाई’ सुरु भएको संवादले एक–अर्कासँगको स्पर्शमा रमाउने माहोलसम्म सिर्जित गरायो ।

सम्बन्ध बढ्दै गएपछि म्यासेज र फोनमा मात्रै सीमित रहेनन् उनीहरु । खाजा अनि कफि पिउने बहानामा विस्तारै भेटघाट हुन थाल्यो । बाक्लिदैं गएको भेटघाटले, उनीहरु एक अर्काको प्रेम सम्बन्धमा डुब्न थालेको पत्तो पाउन छोडे ।

एकदिन उनीहरुबीच घुम्न जाने कुरा भयो । पोखरा आसपास भन्दा पनि बाहिर जाने सल्लाह भइरहँदा, गन्तव्य निस्क्यो सौराहा । सौराहा जाने तयारी गर्न थाले । पहिला ेपटक प्रेमीसँग रात बिताउने गरि जाने तयारी गर्दै थिइन् निशा । खुसी थिइन्, उत्सुकता पनि उत्तिकै ।

सबेरै भेट्ने सल्लाह बमोजिम नै उनीहरु बिहान ६ बजे पृथ्वीचोकमा भेट भए । सिधैं सौराहा जाने बस पृथ्वीचोकमा भेट्न मुस्किल हुन्छ । उनीहरु टुरिस्ट बसपार्क पुगे । टिकट लिएर दुबैजना बसमा चढे ।

एउटै सिटमा अँगालोमा बेरिएर, हात समाउँदै जिस्किदा जिस्किदै ४ बजे सौराहा पुगे । बस्नको लागि होटल बुक गरिसकेपछि एकछिन घुम्ने कुरा भयो । साँझपख अस्ताउँदै गरेको सूर्यलाई दुवैले नियाले, एकटक भएर ।

घडीले ९ बजाउँदै गर्दा खाना खाइवरी होटलको कोठामा पुगे । रमेशको प्रेममा चुर्लुम्म डुबेकी निशा पहिल्यै माइन्ड मेक अप गरिसकेकी थिइन् सहवासबारे । सहवासका लागि सकारात्मक थिइन् । एउटै ओछ्यानमा पल्टिएर गफिन थाले उनीहरु । प्रेमीको साथ अनि यौवनको मात ।

निशा र रमेश बीच यौनसम्पर्क भयो । निशा खुसी थिइन् । यौनसम्बन्धपछि उनलाई लाग्यो, सम्बन्ध अझै मजबुत भयो । सौराहाको ओछ्यान छाडेर बिहानै त्यहाँबाट उनीहरु पोखरा फर्किए । गफगाफ, भेटघाट चलिरहेकै थियो ।

सधैं झैं रमेशले फेसबुकमा म्यासेज गरे । रमेशको म्यासेज खुसी भएर हेरिन् । एक दिन यस्तो मेसेज आयो, जसले निशाको होस् हवास उड्यो । कल्पनासम्म नगरेको कुरा रमेशले लेखेका थिए, ‘मसँग यौनसम्पर्क गरेको भिडियो छ । पैसा दिने भए दे, नत्र पब्लिक गर्दिन्छु ।’ निशाले तत्काल रमेशलाई फोन गरिन् । सम्झाउन खोजिन् । अहँ, रमेशले आफ्नो अडान छाडेनन् । पैसा मागिरह्यो ।

आफ्नो नग्न भिडियो, त्यो पनि यौनसम्पर्क गरेको । बाहिरिएपछि के होला ? निशालाई यस्तै कुराले सताउन थाल्यो । अन्ततः उनी राजी भइन् पैसा दिन । रमेशलाई भेटेरै पैसा दिइन् ।

पैसा लिने बित्तिकै रमेश केही नबोली निस्क्यो । भिडियो पब्लिक गर्दिन्छु भन्दै पैसा माग्ने क्रम रोकिएन । कहिले २० हजार, कहिले ५० हजार । ब्ल्याक मेलको क्रम चलिरह्यो ।

यसरी सधैं पैसा दिइरहन सक्ने अवस्थामा थिइनन् निशा । साह्रै भएपछि, प्रहरी कार्यालय जाने निर्णय गरिन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा घटनाको बेलिविस्तार सुनाइन् । उनले आफूलाई लठ्ठ पार्ने औषधि खुवाएर भिडियो खिचेको बताइन् ।

‘मैले त्यसरी भिडियो खिचेको थाहै पाइनँ । कुनै खाने कुरामा औषधि मिसाएर त्यसो गरिएको हो’ उनले रुदैं भनिन् ।

रमेशलाई यो घटना प्रहरी कार्यालय पुग्ला भन्ने लागेको थिएन । जब प्रहरी कार्यालय बोलाइयो, उनी अत्तालिदैं पुगे । निशा पनि त्यहीँ थिइन् । अन्ततः प्रहरीले सम्पूर्ण भिडियो फोटो डिलेट गर्न लगायो । कहिकतैबाट त्यसो गरेको पाइएमा, कडा कारबाही गर्ने चेतावनीसहित निशाको चित्त बुझ्नेगरि मिलापत्र गराइयो ।

रमेशले त्यस दिनदेखि ब्ल्याकमेल नगर्ने बाचा गरे । निशाबाट लिएको करिब २ लाख रुपैयाँ पनि फिर्ता गरे । यसरी फेसबुकबाट झाँगिएको प्रेम, सौराहा हुँदै प्रहरी कार्यालय आएर सकियो ।

प्रहरी कार्यालयमा मिलापत्र भएपछि निशा र रमेशको सम्पर्क पूर्ण रुपमा ठप्प भयो । त्यस दिनदेखि उनलाई त्यस्तो म्यासेज आएको छैन । यदि निशाले चाहेको भए रमेशले ठूलो क्षति वेर्होनु पर्ने हुन्थ्यो । निशाले त्यसबेला साइबर क्राइम मुद्दा हालेको भए रमेश यतिखेर जेलमा सजाय भोगिरहेका हुन्थे ।

पछिल्लो समय विशेषगरी प्रेमी प्रेमिका र पूर्व श्रीमान् श्रीमतीको घटना प्रहरीकहाँ आउने एक प्रहरी अधिकृतले बताए ।

‘केटाले आफ्नो स्वार्थ पूरा गरेर पैसाका लागि ब्ल्याकमेल गरेको पाइन्छ,’ उनले भने, ‘प्रेम सम्बन्ध हुँदा केटीले सामान्य ठानी विश्वासका आधारमा सहबासको क्रियाकलाप भिडियो गर्दा भोग्नुको परिणाम हो यो ।’

श्रीमान् श्रीमतीको हकमा भने अलि फरक रहेको उनले सुनाए । ‘सम्बन्ध बिग्रिएर श्रीमतीले डिभोर्स गर्छिन,’ उनले भने, ‘श्रीमानले दुश्मनी साँध्न विगतमा खिचिएका तस्बिरहरु सामाजिक सञ्जालमा हालिदिएर टर्चर दिने गर्छन् ।’
…….

फेसबुकले निशालाई मात्रै दुःख दिएको छैन । धेरै युवतीहरु फेसबुककै कारण फन्दामा पर्ने गरेका घटना प्रहरी कार्यालय पुग्छन् । निशा जस्तै ज्योतिलाई पनि सुरुआतमा फेसबुकले धेरै खुसी त दियो त्योभन्दा भन्दा पनि बढी पीडा दियो ।

ज्योती यतिबेला पोखरा बस्छिन् । काठमाडौं बस्ने ज्योति, पोखरा आउनुको कारण भने बेग्लै छ । फेसबुककै कारणले उनलाई पोखरा डो¥याएको हो ।

प्रेम विवाह गरेकी ज्योति, विवाहपछि श्रीमानसँग प्रेमभन्दा कलह बढी हुन थाल्यो । दिनानुदिन झगडा हुने शिलशिला बढ्दै गयो । बाँकी जीवन सहज नहुने देखेपछि अन्ततः परिवारकै रोहवरमा श्रीमान्लाई डिभोर्स दिइन् ।

डिभार्सपछि ज्योतिले जागिर खोज्न सुरु गरिन् । एक क्यासिनोमा काम गर्ने फिक्स भयो । आम्दानीले काठमाडौंमा रहन असहज थिएन उनलाई । ज्योति सुख दुःखमा साथ दिने साथी खोजिरहेकी थिइन् । बिरामी पर्दा होस् या फ्रि भएको बेला ।

घुम्न जाने, साथ दिने, सँगै बस्ने साथीको कमी महसुस हुन्थ्यो उनलाई । माया गर्ने मान्छेको अभाव महशुस गर्न थालेकी ज्योतिको नजर कञ्चनपुर घर भई त्यही क्यासिनोमै काम गर्ने सुवासमा पुग्यो ।

एकै क्यासिनोमा काम गर्ने भएपछि कुराकानी हुनु सामान्य नै हो । सामान्य कुराकानी हुँदाहुँदै बोलचाल बाक्लिन थाल्यो । क्यासिनोमा बिदा भएको बेला भेट्न दुवै लालायित हुन्थे । पार्कमा जाने, सपिङ गर्ने लगायतका प्रेमील गतिविधि बढ्दै गर्दा एक–अर्काको नजिक भैसकेका थिए ।

अविवाहित सुवासलाई थाहा थियो ज्योतिको बिहे पश्चात् डिभोर्स भएको र पनि एकअर्काको साहारा जस्तै बनिसकेका थिए उनीहरु ।

आकाशिएको सम्बन्धसँगै उनीहरु बीच सबै क्रियाकलाप हुन थाले । सँगै बस्ने, सँगै घुम्ने, सहबास हुने जस्ता गतिविधि भइरहन्थ्यो । एकदिन ज्योतिलाई सिरियस हुँदै सुवासले आफू कामको शिलशिलामा भारत जान लागेको सुनाए । ज्योति निराश भइन् र पनि सुवास भारत गइछाडे ।

फोन, फेसबुक, इमोमा सधैंजसो कुरा भइरहन्थ्यो । एक रात सुवासले फेसबुकमा उनीसँग बस्दा खिचेको नग्न तस्बिर पठाए । दुवैको सहमतिमै सबै क्रियाकलाप भएकोले फोटो देख्दा उनलाई अप्ठ्यारो लागेन ।

जब फोटोसँगै अर्को म्यासेज आयो, ज्योति अत्तालिन थालिन् । म्यासेजमा लेखिएको थियो ‘सबै फोटो मसँग सुरक्षित छन् । पैसा दिएन भने फेसबुकमा अपलोड गर्दिन्छु ।’ यति मात्रै होइन, सुवासले अश्लिल शब्दले धम्क्याउन थाले ।

माया प्रेमका कुरा गर्ने सुवास, सधैंजसो अश्लिल भिडियो र फोटोका आडमा ज्योतिलाई गाली गर्थे र पैसा माग्थे । काठमाडौंमा चिनेजानेको सबैलाई उनीहरुको सम्बन्धबारे थाहा थियो । दिनहुँ जसो टर्चर हुन थालेपछि ज्योति काठमाडौं छाड्ने निर्णयमा पुगिन् ।

पोखरा आइपुगेपछि काठमाडौंको माहोलबाट त टाढा भइन्, सुवासको टर्चरबाट मुक्त हुन सकिनन् । उनी समस्याबाट पन्छिन प्रहरी कार्यालयमा पुगिन् । सबै घटनाक्रम सुनाएपछि प्रहरीले भारतमा रहेका सुवाससँग सम्पर्क ग¥यो ।

प्रहरीले अनुसन्धान सुरु गरेको थाहा पाएपछि सुवासले मोबाइल नम्बर परिवर्तन गरे । विभिन्न स्रोत प्रयोग गरि सुवास रहेको स्थान पत्ता लगाएर पुनः सम्पर्कमा ल्याएपछि ज्योतिलाई टर्चर दिने कार्य त्यही मितिदेखि बन्द गर्ने कबुलमा केस मिलाइयो ।

(जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको घटना विवरणको आधारमा तयार परिएको यस समाचारमा नाम परिवर्तन गरिएको छ ।)

‘अश्लिल फोटो सेयर गर्नु खतरा’

जिल्ला प्रहरी कार्यालय कास्कीमा सामाजिक सञ्जाल सम्बन्धी दैनिक ३ देखि ५ वटा निवेदन परिरहेकै हुन्छन् । मिलेसम्म हामी यही मिलाउँछौं । केस अलि जटिल नै हुनेजस्तो देखियो भने सिआइबीसँग सहकार्य गरेर निक्र्योल गर्छौं ।

प्रविधिको विकासक्रमसँगै यसको प्रयोगकर्ता बढिरहेका छन् । स्मार्ट फोन लिनु सामान्य भइसकेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ता पनि उत्तिकै बढिरहेको अवस्था छ । तर, हामी कति सुरक्षित भएर त्यसको प्रयोग गर्ने भन्नेबारे सचेत छैनौं ।

कतै घुम्न जाँदा होस् या घरमा एक्लै हुँदा, स्टाटस राखिहाल्ने बानी छ । त्यसरी अपडेट गर्नु भनेको आफूलाई असुरक्षित बनाउनु हो । फेसबुकको पासवर्ड राख्ने विषयमा पनि हामी गम्भीर हुँदैनौँ ।

आफ्नै परिवार, प्रेमिकाको नम्बर, नाम मिलाएर राख्छौं । पासवर्ड सरल हुँदा ह्याक हुने खतरा बढ्छ । अथवा अरुले सजिलै पत्ता लगाउँछन् ।

एसपी अशोक सिंह

अर्को कुरा हामीले कस्ता फोटो सेयर गर्ने भन्ने कुरा आउँछ । प्रेमी प्रेमीका बीच अश्लिल फोटो सेयर गर्नु पनि खतरा मोल्नु नै हो । त्यसो गर्दा फोटो बाहिरिने समस्या आउन सक्छ ।

यसरी सामाजिक सञ्जालमार्फत बढिरहेको घटनालाई न्यूनीकरण गर्न हामीले स्कुल कलेजमा विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिरहेका छौं । अर्को कुरा प्रहरीमा आएर निवेदन दिँदा अरुलाई थाहा हुन्छ कि भन्ने भ्रम छ ।

कतिलाई कसरी प्रक्रिया गर्ने ? भन्ने थाहा नहुँदा पनि यस्ता समस्या लुकेका हुन्छन् । हामीले फेसबुक पेजलाई पनि एक्टिभ बनाएका छौं । फेसबुकमै म्यासेज पठाउनु भो भने पनि हामी तत्काल रेस्पोन्स दिन्छौं । अथवा प्रहरी कार्यालयमै सम्पर्क गर्दा पनि हुन्छ ।

साइबर अपराध सम्बन्धी कार्यालयमा कुनै निवेदन दिन आउँदै हुनुहुन्छ भने अंग्रेजीमा पनि लेखिएका डकुमेन्ट भयो भने अनुसन्धानका लागि सहज हुन्छ । फेसबुक इमो भाइबर लगायतका सामाजिक सञ्जालका कार्यालयहरु नेपालमा छैनन् ।

त्यसैले केस स्टडि गर्दा अंग्रेजी कागजपत्र भयो भने सजिलो हुन्छ । जति पनि सामाजिक सञ्जालका प्रयोगकर्ता हुनुहुन्छ उहाँहरुलाई मेरो एउटै अनुरोध छ यसलाई सभ्य भएर युज गरौं, मिस युज नगरौं ।

 

‘साइबर क्राइम’ले भविष्य बिगार्न सक्छ

कम्प्युटर, मोवाइल वा कुनैपनि विद्युतीय प्रविधिको प्रयोग मार्फत गरिने अपराधिक क्रियाकलापलाई साइबर क्राइम अन्तर्गत छुट्टै कारवाही चलाउँछ । कसैलाई सामान्य र रमाइलो लाने कतिपय गतिविधि सामाजिक सञ्जालमा बञ्चित छ ।

जस्तो कुनै हिंस्रक तस्विर पोस्ट गर्नु, अरुको मानहानी हुने खालका सामग्री राख्नु । त्यसबाहेक गाली बेइज्जती गर्ने, ब्ल्याकमेलिङ गर्ने, एकाउण्ट ह्याक गर्ने, फेक आइडी बनाएर नाजायज गतिविधि गर्ने जस्ता गतिविधि साइबर अपराध हुन् ।

अधिवक्ता जनकल्याण पराजुली

यस्तो अपराध गरे विद्युतीय ऐन (साइबर कानुन) अन्तर्गत कानुनी कारबाही हुने व्यवस्था छ । साइबर क्राइम गम्भीर किसिमको फौजदारी अपराध अन्तर्गत पर्छ । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्चालमा हुने अपराध पनि यसैभित्र समेटिन्छन् । विशेष गरि पछिल्लो समय फेसबुकले गर्दा धेरै घटना घटेको पाइन्छ ।

देख्दा र सुन्दा सामान्य लाग्ने घटनाले पनि मान्छेलाई ठूलो समस्यामा पारेको नजिर हामीकहाँ छन् । अपराध भनेको जानेरै गरेको हुन्छ भन्ने होइन अन्जानमा पनि अपराध हुने गर्छ । कानुनले कुनै मान्छेले गरेको गल्ती र प्रमाणको आधारमा सजाय दिन्छ ।

धेरै जस्तो साइबर क्राइमको घटनामा मान्छे अन्जानमा पनि परेकोे पाइन्छ । फेसवुक भनेको सम्बन्ध बनाउने र विचार प्रकट गर्ने सामाजिक सञ्जाल हो । तर, पछिल्लो समय प्राय युवायुवतीले यसको दुरुपयोग गर्दा ठूलो दुर्घटनामा परेको पाइन्छ ।

जसले गर्दा पीडित र पीडक दुवैको भविष्य अन्धकार पार्न सक्छ । सामाजिक सञ्जाललाई सदुपयोग पार्नुपर्छ । यसको दुरुपयोग गर्दा आफै दुर्घटनामा परिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.