www.tandavnews.com
Fact ~ In search of truth

नयाँ वर्षमा पोखरा पेरिफेरी

सुरज हजारे दाहाल

आगामी शनिबारदेखि सबैको घर तथा कार्यालयमा पुरानो भित्ते पात्रो हटाएर विसं २०७५ सालको पात्रो झुण्ड्याइदै छ । नयाँ वर्ष अब केबल घरभित्र बसेर खानपान गर्नुमा मात्र सिमित छैन ।

यस्तै एकदुई दिनको बिदामा त्यति टाढा गएर घमघाम गर्न भ्याइदैन पनि । पोखरा आउने पर्यटकहरु यहाँका तालतलैया र सरांकोटको मात्र परिकल्पना गरेर घुम्न आउने गर्छन् । तर यो पटकको नयाँ वर्षमा कास्कीमा रहेका पोखरा आसपासका दुई गाउँ सिक्लेस र ल्वाङघलेललाई लिन सकिन्छ ।

Batas

सिक्लेसः अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेस गाउँ २००० मिटरको उचाइमा अवस्थित छ । गुरुङ जातीको जीवित संग्राहलयको रुपमा परिचित सिक्लेस सांस्कृतिक रुपमा धनी त छदैछ, प्राकृतिक रुपमा पनि यो प्रख्यात छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने सिक्लेस पदमार्गको लागि परिचित छ । नेपालकै कम उचाइमा अवस्थित कपुचे ताल यहाँबाट करिब ८ घण्टाको पैदल यात्रामा पुगिन्छ । सिक्लेसामा लगभग ४५० घरधुरी रहेका छन् । सबै घरहरु ढुंगाले छाएका छन् ।

नमस्ते होटलका संचालक धन गुरुङका अनुसार पर्यटकिय मौसममा यहाँको १० होटल र दुई वटा होमस्टेहरु खचाखच भरिन्छन् । गुरुङ जातीको पुरानो ठाउँ क्होलासोथर सिक्लेसबाट एकदिनमा पुगिन्छ । सिक्लेस गाउँ भने करिब एक हजार वर्ष पुरानो गाउँ हो ।

 

गुरुङ जातीको पुरानो ठाउँ क्होलासोथर सिक्लेसबाट एकदिनमा पुगिन्छ । सिक्लेस गाउँ भने करिब एक हजार वर्ष पुरानो गाउँ हो ।

सिक्लेसमा हरेका माघे संक्रान्तिमा मेला लाग्ने गर्छ । करिब १०० वर्ष इतिहास बोकेको सिक्लेस मेलामा पहिला छेलो हान्ने खेल खेलिने गएकोमा हाल रस्सा कस्सी, भलिबल जस्ता खेलको प्रतियोगिता समेत हुने गरेको छ ।

यस्तै सिक्लेस मेला बाहेक गाउँ चिनाउन क्यानभासमा सिक्लेस तथा लाटोकोसेरा महोत्सव पनि भइसकेका छन् । सिक्लेस पुग्नासाथ स्वागत गेटले पर्यटकले स्वागत गर्छ भने बेलुकीतिर पुगेमा अस्ताउँदै सूर्यको सुनौले दुश्य गेटबाट देखिन्छ । बिहान सूर्योदय तथा हिमाल हेर्नको लागि भ्यूटावर पनि निर्माण गरिएको छ ।

बसाईँः सिक्लेस भ्रमणको लागि दुई दिन छुट्याउँदा ठिक हुन्छ । पोखराबाट ४० किमी टाढा रहेको सिक्लेस करिब ३ घण्टाको बस यात्रामा पुगिन्छ । बस काहुँखोलाबाट बिहान ८ र दिउँसो २ बजे छुट्ने गर्छ र भाडा तीन सय रुपैयाँ रहेको छ । एक रातको बास, खाना र यात्रा खर्चलाई बढीमा तीन हजार रुपैयाँ लाग्छ ।

ल्वाङ गाउँ

गुरुङ जातीको रहनसहन बाकेको कास्कीको अर्को गाउँ हो ल्वाङ । ल्वाङ भने होमस्टेको लागि निकै प्रख्यात छ । यो गाउँ समुद्री सतहबाट १६०० मिटर उचाइमा रहेको छ । ल्वाङ गाउँमा ल्वाङको ठूलो रहेकोले गाउँको नाम नै ल्वाङ रहेको स्थानीय भनाई रहेको छ ।

बिगत ५ वर्षदेखि गाउँमा होमस्टेको सेवा दिन थालिएको हो । होमस्टेमा प्याकेजको आधारमा सेवा दिइन्छ तर प्याकेज बाहिर रहेर पनि क्याम्प फायर सहित लोकल कुखुराको बारबक्यु तथा स्थानीय राँगाको सुकुटी पनि खान सकिन्छ । मौसमको खुलेको दिन माछापुच्छ्र्र्रे हिमाल देखिन्छ ।

गाउँको ठिक माथि चिया बगान पनि रहेको छ । इलाम गएर चिया बगान हेर्न नसक्नेले उक्त चाहना यहाँ पूरा गर्न सक्छन् भने स्थानीय रुपमा प्रशोधित चियापत्ति पनि खरिद गर्न सक्छन् ।

यस्तै ल्वाङमा होमस्टेबाट १५ मिनेट तलतिर हिडेंपछि साहसिक खेल क्यानोनिङ गर्ने ठाउँ आइपुग्छ । क्यानोनिङ गरिने झर्नाको उचाइ ७० मिटर रहेको छ र क्यानोनिङ गरेको ३५ सय रुपैयाँ लाग्छ ।

विसं २०७० देखि महंगो बदाममा पर्ने एलमण्डको खेती पनि सुरु गरिएको छ । ल्वाङघलेल र रिभान गाउँको सिमा भएर बग्ने मर्दीखोलामा रेन्बो ट्राउट माछा फार्म पनि सञ्चालन गरिएको छ ।

फार्ममा माछालाई प्रति केजी एक हजार रुपैयाँ बिक्री वितरण गरिन्छ । प्रतिबन्धित भए पनि असारदेखि भदौसम्म यहिँको लेकाली वनबाट टिपेर बेचिने टुसा पोखरामा निकै प्रख्यात रहेको छ । ल्वाङमा बिगत २५ वषैदेखि चैते दशैंल मेला लाग्दै आएको छ ।

बसाई

ल्वाङ गाउँ पोखराबाट नजिकै भएकोले एक दिन, एक रात छुट्याउँदा उपयुक्त हुन्छ । हरिचोकबाट हेम्जाको मिलनचोक, लुर्मी, खोरामुखहुँदै ल्वाङ गाउँसम्मै जीप जान्छ र भाडा एक सय ५० रुपैयाँ रहेको छ ।

करिब डेढ घण्टाको सवारी यात्रामा गाउँ पुगिन्छ ल्वाङ । होमस्टे प्याकेजको मूल्य दुई छाक खाना र खाजा सहित ८ सय ५० रुपैयाँ रहेको छ । २५ सय रुपैयाँको खर्चले ल्वाङको एकदिन एकरातको यात्रा गर्न सकिन्छ ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.