www.tandavnews.com
Fact ~ In search of truth

पदमार्ग निर्माणमा लक्ष्यभन्दा बढी काम

बाबियाचौर, म्याग्दी,  (रासस): म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७, दोसल्लेका बासिन्दाले पदमार्ग निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् ।

गाउँपालिकामार्फत सञ्चालित दोसल्लेदेखि रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ बजार जोड्ने पदमार्गमा रेलिङ (बार लगाउने) योजनामा उपभोक्ताले सम्झौताभन्दा बढी काम गरेका हुन् ।

५२ वटा पक्की पिल्लर र १०० मिटर रेलिङ बनाउने सम्झौता भएपनि जनसहभागिता जुटाएर त्योभन्दा बढी काम गरेको उपभोक्ता समितिका अध्यक्ष निलप्रसाद पुनले बताउनुभयो ।

५८ वटा पिल्लर ठडाएर १२० मिटर रेलिङ निर्माण गरिएको हो । गाउँपालिकाको रु पाँच लाख ४० हजार अनुदान र उपभोक्ताको रु ७८ हजार २०० बराबरको श्रमदानमा रेलिङ बनाइएको हो ।

पदमार्ग निर्माणका लागि ६३ घरधुरीले एक दिनका दरले श्रमदान गरेका छन् । “उपभोक्ताको श्रमदान जुटाएर तोकिएको गुणस्तरको अनुसार लक्ष्यभन्दा बढी काम गरेका हाै” अध्यक्ष पुनले भन्नुभयो ।

विकास योजनामा तोकिएको भन्दा कम गुणस्तर र परिणामको काम गरेर बढी मूल्यांकन गराउने, कमिशन खाने बेथिति मौलाइरहेको अवस्थामा दोसल्लेका बासिन्दाले नमूना काम गरेका गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो ।

अक्करे भिरको पदमार्गको डिलमा पक्की पिल्लर ठडाएर फलामले बारेको रेलिङ बनाएपछि सुरक्षितरुपमा आवतजावत गर्न पाएका छन् । यसअघि स्थानीय एक व्यक्तिले निजी लगानीमा करीब ५०० मिटर ढुंगाको सिढीसहितको पदमार्ग बनाएका थिए ।

पदमार्गमा रेलिङ निर्माण भएपछि दोसल्लेका बासिन्दा र तिप्ल्याङको कालिका आधारभूत विद्यालयमा अध्ययन गर्न आउने जाने विद्यार्थीलाई सहज भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.