पोखरा
ताण्डव न्यूज ।
विश्व दम दिवसको अवसरमा छाती रोग बिशेषज्ञ डा.सिपी आचार्यले दम रोगीहरुलाई निशुल्क परामर्श दिएका छन् ।
डा. आचार्यले मनिपाल हस्पिटल र ओम हस्पिटलका छाती तथा दमका बिरामीहरुलाई फलफूल वितरण गरी दम रोगको बारेमा सचेतना गराएका हुन् ।

श्वासप्रस्वास अर्थात छातीसँग सम्बन्धित विभिन्न सम्स्यामध्ये आज्मा एक बढी मात्रामा देखिने समस्याभित्र पर्ने बताउँदै डा. आचार्यले सर्वसाधारणको भाषामा सो समस्यालाई दम भनेर चिनिने जनाए ।
‘विश्व स्वास्थ्य संगठनका अनुसार ३० करोड मानिस दमबाट प्रभावित छन्,’ उनले भने, ‘यसमा बालक, युवा, वृद्ध, महिला, पुरुष लगायत सबै उमेर समूहका मानिस पर्छन् ।’
निम्न आय भएका मुलुकमा दमबाट धेरैको मृत्यु भइरहे पनि विश्वका सबै देशका मानिस यस समस्याबाट प्रभावित रहेको डा. आचार्यले बताए ।
दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले यसको रोकथाम अर्थात जोगिने उपायहरु रहेको बताउँदै डा. आचार्यले धुँवा, धुलो, लगायतका वातावरणीय प्रदूषणबाट जोगिन गुणस्तरीय मास्कको प्रयोग गर्नु उचित रहेको औल्याए ।
भुवाँ वा रौँ भएका पशुपंक्षीबाट टाढै बस्ने । घरमा साङ्ला छन् भने त्यसको नियन्त्रण गर्ने । चिसोबाट जोगिने, घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने, फ्रिजमा राखिएको चिसो खानेकुरा नखाने गरेमा छाति वा दम रोग रोकथाम गर्न सकिने डा. आचार्यले परामर्श दिने क्रममा जनाए । आफूलाई कुनै कुराको एलर्जी भई हाल्यो भने पनि तुरुन्त उपचार गराउन समेत सुझाए ।
दमका लागि विश्वव्यापी पहल र विश्व दम फाउन्डेसनको सहकार्यमा करिब २ दशक अगाडिदेखि मे महिनालाई दमसम्बन्धि जनचेतना महिना मान्न थालिएको हो । मे महिनाको पहिलो मंगलबार विश्व दम दिवस भनेर विश्वव्यापी रुपमा विभिन्न स्वास्थ्यसम्बन्धि कार्यक्रम सहित मनाइन्छ ।
संसारमा सबैभन्दा बढी दमका रोगी भएका १५ वटा देशमध्ये नेपाल १३ नम्बरमा पर्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.