www.tandavnews.com
Fact ~ In search of truth

मोदीका लागि मुस्ताङमा सेक्युरिटी अलर्ट

ठिनी, मुस्ताङ (रासस)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणलाई लक्षित गरेर मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

तिब्बती सीमामा रहेको नेचुङ र म्याग्दीसँगको सिमाना घाँसासम्ममा जाँचमा कडाइ गरिएको हो । मुस्ताङका होटल तथा लजमा बस्ने पाहुनाहरुको व्यक्तिगत विवरणसहितको अभिलेख पनि संकलन गरिएको छ ।

Batas

सुरक्षा निकायले दैनिक बैठक बसेर तयारीलाई तीव्रता दिइएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए। वैशाख २८ गते मोदीले गर्ने मुक्तिनाथ भ्रमणका लागि तीन दिनसम्म अन्नपूर्ण चक्रिय पदमार्ग बन्द गर्ने विषयमा पनि छलफल चलेको छ ।

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक तीन दिनका लागि खुल्ला गरिने भएको छ । हाल दैनिक आठ घण्टा सवारी साधान रोकेर स्तरोन्नतिको काम भइरहेको छ । भारतीय प्रधानमन्त्रीको स्वागतका लागि जिल्ला समन्वय समितिका प्रमुख छिरिङल्हमो गुरुङको संयोजकत्वमा स्वागत समिति गठन गरिएको छ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने मुक्तिनाथमा हुन लागेको उच्चस्तरीय धार्मिक भ्रमणले मुस्ताङवासीमा उत्साह छाएको र यहाँको धार्मिक पर्यटनको विकासमा मद्दत पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए।

यसैबीच रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको तयारीबारे जानकारी लिएको थियो ।

सो अवसरमा उनले मुस्ताङस्थित कोरला नाका खुलाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । जोमसोममा नेकपा (एमाले)का कार्यकर्तासँगको भेटघाटका क्रममा मन्त्री पोखरेलले पहुँचमार्ग निर्माण, सुरक्षा क्याम्प राख्नका लागि द्वैपक्षीय छलफल अघि बढेकाले अबको दुई तीन वर्षमा कोरला नाका सञ्चालनमा आउने बताएका थिए ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.