
सन्तोष सुवेदी
ताण्डव न्यूज,पोखरा ।
पोखरा–लेखनाथ महानगरपालिका १८ मा रहेको रत्न आधारभूत विद्यालयको जग्गा ओम शान्ती ब्रह्मकुमारी विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्रलाई दिने भन्ने विषयमा स्थानीयले विरोध जनाएका छन् ।
विद्यार्थी कम भएर खारेज गरिएको विद्यालयको जग्गामा स्थानीय प्रतिनिधि र माफियाको मिलोमतोमा चलखेल बढेको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।

विद्यालय खारेज भएपनि विद्यालयको जग्गा शिक्षण संस्थाकै लागि प्रयोग गरिनुपर्ने सौर्यखोला टोल विकास समितिका अध्यक्ष प्रजापति अधिकारीले बताए ।
‘विद्यालयको जग्गा धार्मिक संस्थालाई दिँदैनौं,’ उनले भने, ‘त्यहाँकै स्थानीयलाई प्रत्यक्ष रुपमा फाइदा हुनेखालका संघसंस्थालाई दिने हो ।’ टोल विकास समितिलाई नै खबर नगरी सार्वजानिक जग्गामा चलखेल गरिएको हुँदा खबरदारी गरेको उनले बताए ।

१३८ रोपनी जग्गामा भूमाफियाहरुले चलखेल गर्न लागेको भन्दै स्थानीयहरु मंगलबार बिरोधमा उत्रेका थिए ।
वडा नं १८ का अध्यक्ष रणवहादुर थापाले महानगरले राजयोग प्रशिक्षण केन्द्र दिने नदिने भन्ने विषयमा स्थानीयको राय पेस गर्नको लागि पत्र पठाएको बताए ।
प्रशिक्षण केन्द्रले जग्गाको माग गरेपछि महानगरपालिकाले स्थानीयसँग समन्वय गर्ने सल्लाह दिएको पोखरा लेखनाथ महानगरपालिका उपमेयर मञ्जुदेवी गुरुङले बताइन् ।
‘ओमशान्तीबाट निवेदन आएको थियो, स्थानीयसँग कुरा गरेर मिलो भने राख्नको लागि भनेका हौं,’ उनले भनिन्, ‘बुधबार बिहान १८ नम्बरका अध्यक्ष लगायत स्थानीयले छलफल गरी राख्ने नराख्ने निर्णय गर्नेछन् ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।