www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल फार्मेसीमा यसरी ठगिए जनता, कर्मचारी आन्दोलनमा

पोखरा
ईश्वर देवकोटा/ताण्डव 

मनिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीको आन्दोलनका कारण आकस्मीक सेवा बाहेकका अन्य सेवाहरु ठप्प भएको छ । अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारीहरु रमेश बोहरा, टेक बहादुर विक, निलकण्ठ भट्टराई, लेखा शाखामा कार्यरत अल्पना ठाकुरलाई सोमबार अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा निष्कासन गरेको थियो ।

Batas

कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गरेको विरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ प्रदेश नं. ४ ले विज्ञप्ती जारी गर्दै मंगलबार हस्पिटलमा पत्रकार सम्मेलनको आयोजना गरि बर्खास्तमा परेका कर्मचारीको पुर्नबहाली माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

मनिपाल अस्पताल प्रशासनले सोमबार चारजना लाई पत्र काटी सेवाबाट हटाइएको जानकारी गराएको थियो । अस्पतालका सि.ई.ओ तथा डिन डा. वि.एम. नागपालले पत्रमा ‘तपाईले खराब आचरण गरेको भनी यस शिक्षण अस्पतालको प.स.२०७५/०७५ च.नं.१०१३/४/१७, मिति २०७४/१/४ को पत्रद्वारा ७ दिन भित्र स्पष्टीकरण पेस गुर्न भनी तपाईसँग स्पष्टीकरण माग भएकोमा उक्त म्याद भित्र तपाईले स्पष्टीकरण पेस नगर्नु भएको हुँदा च.न.१०१३/४/२७, मिति २०७४/१/१४ गतेको पत्रद्वारा पुनः ७ दिनको म्याद दिई स्पष्टीकरण माग गरिएकोमा तपाईले श्रम ऐन २०७४ को दफा १३१ को उपदफा ४ को (ङ), (छ), (ज) बमोजिमको खराब आचण गर्नुभएको हुँदा यस मनिपाल एजुकेशन एण्ड मेडिकल गु्रप (नेपाल) प्रालि पोखराको मिति २०७५/२/७ को निर्णय बमोजिम सोही ऐनको दफा १३१(४) बमोजिम मिति २०७५/२/८ गते देखि लागु हुने गरी तपाईलाई सेवाबाट हटाइएको व्यहोरा जानकारी गराइन्छ । नियमानुसार आफ्नो जिम्माको हरहिसाब फर्छयौट गराउनुहोला ।’ उल्लेख गरेका छन् ।

 

आन्दोलनलाई अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल, मणिपाल स्वतन्त्र कर्मचारी युनियनले समर्थन जनाएको छ । मणिपाल व्यवस्थापनले कर्मचारी माथि गरेका ज्यादतीको विपक्षमा आफूहरु रहेको आन्दोलनका संयोजक रमेश बोहराले जनाए ।

श्रम ऐनले प्रत्याभूत गरेको ट्रेड युनियन अधिकार अन्तर्गत रही कामदार कर्मचारीका न्यूनतम सेवा सुविधाको माग गर्दा प्रतिशोध बापत जागिरबाट नै बर्खास्त गरिएको आरोप बोहराले लगाए ।

‘अस्पताल व्यवस्थापन समक्ष युनियनले २०७४/३/१५ गते कर्मचारीको हकहितका न्यूनतम सेवा सुविधा माग गरेका थियौं,’ उनले भने, ‘पटक– पटक वार्ताबाट पनि छलफल भईरहेको थियो । वार्ताबाट टुङ्गो नलगाई एकाएक जागिरबाट बर्खास्त गरिनु अस्पतालको ज्यादती हो ।’

अस्पताल प्रशासन प्रमुख भानु भारद्वाजले उल्लिखित चार जना कर्मचारीले अस्पतालको नियम विपरित काम गरेको पाइएकोले सेवाबाट हटाईएको जनाए ।

‘उनीहरुले दुई कम्पनी एन.आर.टी सर्जिकल र एन.आर.टी मेडिसेल्सबाट अस्पतालको फार्मेसीमा औषधी सप्लाई गर्दै आएका थिए,’ सञ्चारकर्मीसँगको भेटमा भारद्वाजले भने, ‘उनीहरुले सञ्चालन गरेको कम्पनी हो भन्ने हामीलाई जानकारी थिएन । फार्मेसीको बारेमा सबै जानकारी भएकोले उनीहरुले आफू खुसी मूल्य निर्धारण गरि अस्पतालमा औषधी सप्लाई गर्ने गरेको पायौं ।’

अस्पतालको फार्मेसीमा अन्य औषधी सप्लाई गर्ने कम्पनीलाई दबाबमा राखी उनीहरुले आफ्नै कम्पनी मार्फतबाट नै औषधी सप्लाई गर्दै आएका थिए । त्यसो गर्दा तुलनात्मक रुपमा फार्मेसीको औषधी बजार मूल्य भन्दा बढी पर्न गएको भारद्वाजले बताए । ‘एक दुई जनाले फार्मेसीमा लापरवाही भईरहेको छ भन्ने सूचना दिईरहन्थे,’ उनले भने, ‘पछिल्लो समय धेरै उपभोक्ताले गुनासो गर्न थाले पछि अस्पतालले छानवीन समिति नै बनाई उनीहरु माथि छानवीन गर्दा दोषी भेटाएको हो ।’

अस्पताल प्रशासन प्रमुख भानु भारद्वाज

२०६९ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता कायम भई अस्पताललाई औषधी सप्लाई गर्दै आएको एन.आर.टी सर्जिकल्स कम्पनी कर्मचारी रमेश बोहरा, निलकण्ठ भट्टराई, अल्पना ठाकुर, टेकबहादुर विक र रमेश बोहराकी श्रीमती हेलन पन्तको नाममा दर्ता रहेको प्रशासक प्रमुख भारद्वाजले जानकारी दिए । अर्को एन.आर.टी मेडिसेल्स कम्पनीमा समेत आफू र श्रीमती लगायतको नाममा शेयर राखी सञ्चालन गर्दै आईरहेको छानवीन पश्चात्त पत्ता लागेको उनले बताए ।

पत्रकार सम्मेलनमा बर्खास्तमा परेका पाँच जना कर्मचारी बताइए पनि अस्पताल प्रशासनसँग जाँच बुझ गर्दा चार जना मात्रै निष्कासन गरिएको पाइएको छ । आन्दोलनकारी कर्मचारीबाट जारी विज्ञप्तीमा पीडित साथीहरु रमेश बोहरा, निलकण्ठ भट्टराई, अल्पना ठाकुर, टेकबहादुर विक र मञ्जु विकको नाम उल्लेख गरे पनि नर्स मञ्जु विकलाई हालसम्म बर्खास्त नगरिएको प्रशासनले जनाएको छ । रमेश बोहरासँग सोमबार सम्पर्क मार्फत ताण्डव न्यूजले जानकारी लिदाँ समेत ५ जनाको नाम उल्लेख गरेका थिए । मञ्जु विक नाम गरेकी कर्मचारी बर्खास्तमा परेका टेकबहादुर विककी श्रीमती हुन् ।

फार्मेसीमा यसरी ठगिए जनता

मनिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फार्मेसीमा बेच्ने गरिएको एउटै सर्जिकल सामानको मूल्य फरक–फरक पाइएको छ ।

मनिपाल अस्पतालको फार्मेसीमा २०७४ पुस ५ गते खरिद गरेको एउटा आईभीसेटको मूल्य १०२.९२ रुपैयाँ परेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फार्मेसीमा ०७४ कार्तिक २९ मा खरिद गरेको सोही सर्जिकल सामानको मूल्य ४६.२५ रुपैयाँमा पाईएको छ ।

त्यस्तै, ग्लोप्स समेत क्षेत्रीय अस्पतालको तुलनामा मनिपालको फार्मेसीमा झण्डैं १० रुपैयाँ बढी मूल्यमा बेच्ने गरेको पाइएको हो ।

यस सम्बन्धमा बर्खास्तमा परेका कर्मचारी रमेश बोहरालाई पत्रकारले ‘आफ्नै कम्पनी मार्फत मार्फेसीमा औषधी डिमाण्ड एण्ड सप्लाई गर्ने भएकोले अन्तर देखिएको हो ?’ भनी प्रश्न गर्दा उनले प्रतिक्रिया दिँदै भने ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भनेको सरकारी हो । त्यहाँ अत्यन्तै सस्तो दरमा औषधी आपूर्तीका लागि टेन्डर आह्वान गरिन्छ । सस्तोमा जसले औषधी सप्लाई गर्न सक्छ सोही कम्पनीले टेन्डर पाउँछ । सस्तोमा पाउने औषधी र उपकरण भएकोले गुणस्तरीय पनि हुँदैनन् । मनिपाल नीजि भएकोले यहाँ अस्पतालले निर्दिष्ट गरेअनुरुपको गुणस्तरीय औषधी उपलब्ध गराउनुपर्ने हुन्छ । गुणस्तरीय औषधी स्वतः महँगो पर्न जान्छ ।’

यससम्बन्धमा अस्पतालका प्रशासन प्रमुख भानु भारद्वाजसँग जिज्ञासा राख्दा कर्मचारीको कम्पनीबाट सप्लाई हुँदै आएको औषधी र अन्य अस्पतालको औषधीको गुणस्तर एउटै भएको बताए । ‘डिमाण्ड आफैं गर्ने, सप्लाई पनि आफैं गर्ने भएकोले फार्मेसीका कर्मचारीहरुले लापरवाही गरिरहेका हुन्,’ उनले भने, ‘फार्मेसीको अत्यन्त सुक्ष्म पक्ष देखि लिएर अन्य विविध व्यवस्थापनका काममा उनीहरुको दख्खता भएकोले ठगि गर्न पाएका हुन् ।’

मनिपाल अस्पतालमा सामान्य गरिब जनता देखि उच्च वर्गका पनि उपचारका लागि आईपुग्छन् । गरिबलाई पनि सस्तो दरमा स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको दायित्व रहेको बताउँदै भारद्वाजले यत्तिका वर्षसम्म कर्मचारीको आन्तरिक मिलेमितोमा जनता लुट्ने काम गरिरहेको आरोप लगाए ।

दुई कम्पनी ब्ल्याक लिष्टमा

मनिपाल शिक्षण अस्पतालमा २५ वटा विभिन्न कम्पनीहरुले फार्मेसीमा औषधी लगायतका सर्जिकलका लागि प्रयोग हुने उपकरणहरु उपलब्ध गराउँदै आएका छन् ।

अस्पतालको फार्मेसीमा विरामीले किन्ने गरेको औषधी र उपकरणको मूल्यमा अत्यधिक नै चर्को मूल्यमा विक्री हुँदै आएको गुनासो सुनिएपछि अस्पतालले छानवीन समिति गठन गरि अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा बर्खास्तमा परेका कर्मचारीहरुकै कम्पनी मार्फत सबैजसो औषधी खरिद गर्दै आईरहेको खुल्न आएको थियो । कर्मचारीकै मातहतमा रहेको एन.आर.टी सर्जिकल्स कम्पनी र एन.आर.टी मेडिसेल्सलाई अस्पतालले ब्ल्याक लिष्टमा राखेको प्रशासन प्रमुख भानु भारद्वाजले बताए ।

फार्मेसीकै कर्मचारीको मिलेमितोमा अत्यधिक मार्जिन राखि औषधी बेचिरहँदा अस्पतालकै गरिमा माथि आँच पुगेको भनाई भारद्वाजको छ ।

गल्ति लुकाउन युनियनको सहारा

कार्यरत कर्मचारीको विगत देखिको माग र हाल बर्खास्तमा पारिएको सन्दर्भ फरक रहेको प्रशासन प्रमुख भानु भारद्वाजले जानकारी दिए ।

उनीहरुले आजदेखि आकस्मिक बाहेकका सेवाहरु ठप्प पारेर नै आन्दोलनमा उत्रनुको कारण छानवीन पछि दोषि भेटिएका कर्मचारीलाई बर्खास्त गरिएको विरोधमा रहेको जनाए ।

‘फार्मेसीमा लापरवाही गरिरहेका कर्मचारीलाई कारवाही स्वरुप जागिरबाट निकालिएको हो,’ उनले भने, ‘गरेको गल्ति ढाकछोप गर्न, ट्रेड युनियनले राखेको माग प्रमुख मुद्दा बनाई युनियनको सहारामा आन्दोलनमा उत्रिएका हुन् ।’

कार्यरत नन टिचिङ तथा टिचिङ कर्मचारी र अस्पताल व्यवस्थापन बीच विगत ११ महिना देखि चरण–चरणमा वार्ता भईरहेको छ । कर्मचारीले राखेका मागका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय कास्कीको रोहवरमा बहुपक्षीय वार्ता बसे पछि निचोडमा पुग्न सकेको थिएन ।

गएको वैशाख ६ गतेको वार्तामा श्रम ऐन ०७४ बमोजिम नेपाल सरकारको श्रम तथा रोजगार विकास मन्त्रालयको रोहवरमा श्रम सम्बन्ध समितिले मध्यस्थ्यता गर्ने गरी निचोडमा पुग्न आग्रह गरिएको थियो ।

अस्पताल प्रशासनले भने कर्मचारीको मागका सम्बन्धमा जिल्ला प्रशासन र श्रम कार्यालयको रोहवरमा छलफल भईरहेको हुँदा अहिले नै सेवा सुविधाका सम्बन्धमा केही भन्न नमिल्ने भारद्वाजले प्रष्टाए ।

यस्ता छन् कर्मचारीका माग

आन्दोलनरत युनियनको तर्फबाट जारी विज्ञप्तीमा बर्खास्तमा परेका कर्मचारीको पुर्नबहाली गर्न जोड दिइएको छ । साथै, २०७४ असार १५ गते अस्पताल प्रशासनसँग राखिएको पाँच बुदेँ मागलाई मध्यनजर गर्न आह्वान गरिएको छ । उक्त मागहरु पूरा नभएसम्मका लागि आकस्मिक सेवा बाहेकमा अन्य सेवा अनिश्चितकालसम्मका लागि ठप्प पार्ने जनाइएको छ ।

आकस्मिक बाहेकका अन्य सेवा ठप्प हुँदा मनिपालको विलिङ काउन्टर खाली ।

 

याे पनि पढ्नुहाेस् ।

मनिपाल फार्मेसीमा चरम हिनामिना, ५ कर्मचारी निष्कासन

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.