www.tandavnews.com
Fact ~ In search of truth

एक रातले मोडिएको लक्ष्य

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

घटना एकवर्ष पहिलाको हो । बागलुङको रेग्मीफाँटमा फिल्म ‘पञ्चायत’ को सुटिङ भइरहेको थियो ।

कलाकारले गरेको अभिनयलाई क्यामरामा कैद गरेका थिए, रामेश्वर कार्कीले । क्यामरामा कार्कीले अभिनेता सरोज खनाललाई कैद गरिरहेका थिए । फिल्म भित्रको रोलमा खनालले केही काम गरेर आउने सिन थियो ।

Batas

त्यो सिनमा रिर्हसलभन्दापनि फास्ट मुभ खनालले गर्दिदा कार्की लड्न पुगे । क्यामरा बचाउने क्रममा घुडामा उनको घाउ लाग्यो । मेडिकलमा गाईभैसी सिलाउने सुइले कोप्दा उस्तै पीडा । यस्ता–यस्ता घटनाले गर्दा साच्चीकै सिनेमेटोग्राफर च्यालेन्ज (रिक्स) बढी ठान्छन् उनी ।

सिनेमा खिच्ने क्रममा यस्ता घटना उनका कति छन् कति । ‘मेरो जीवन साथी’ फिल्मको सुटिङताका उनको टाउकोमा चोट लाग्यो । कतिपय आर्टिस्टको कारणपनि यस्ता चोटपटक लाग्ने गरेको उनी बताउँछन् ।

‘राजेश हमाल, निखिल उप्रेतिसँग लगायतका कलाकारसँग काम गर्दा रिक्स लाग्दैन् । उहाँहरुलाई टाइमिङ थाहा छ,’ उनी भन्छन्, ‘अहिले प्राय कलाकार रियालिटी गर्ने मुडमा क्यामरा कता छ, अर्को आर्टिस्ट कता छ, भन्ने ध्यान नदिईकन नै अलि बढी लाउड गर्ने क्रममा त्यस्ता घटना घट्छ ।’

झन्डै ९ वर्ष सिनेमा खिचेका कार्की च्यालेन्जसँगै उत्तिकै क्यामरामेनको रोल फिल्ममा उत्तिकै बलियो हुने बताउँछन् । भन्छन्, ‘एक्ट्र्रसले जस्तो सुकै राम्रो एक्ट गरोस त्यो चिज पर्दामा आउने हो । त्यही चिज राम्रोसँग पर्दामा ल्याउने क्यामराले हो ।’

फिल्म सुपरहिट भएपनि त्यसको जस वा श्रेय क्यामरामेनले पाउने सम्भावना कम रहेको उनको अनुभव छ । तर पनि आफैमा आनन्द भने आउने उनी बताउँछन् । ‘कुनै सिनेमा राम्रो काम गरेको छुँ भने त्यो सिनेमा चल्दा खुसी लाग्छ तर नचल्दा पनि आफ्नो काम राम्रो छ र कसैले एप्रिसियट गर्दिए रमाइलो लाग्छ,’ उनले भन्छन् ।

त्यो एक रात 

अरुका जस्तै सानोमा समयसँगै उद्देश्य परिवर्तन उनका पनि हुन्थे । त्यो बेलामा नेपाली सिरियलहरु खुबै हेर्थे उनी । कुनै पात्र वकिल देख्दा वकिल नै बन्छु भन्ने, इस्पेक्टर देखे त्यही बन्छु भन्ने ध्याउन्न हुन्थयो उनलाई ।

सिरियलको पात्रले उनको मनमा पनि अनेक भाडमैलो मच्चाएका थिए । सिरियलले प्रभाव पारेको हुँदा सिरियलमा सबभन्दा ठूलो मान्छे निर्देशक हो भन्ने लाग्थ्यो । अन्तत् त्यही निर्देशक नै बन्छु भन्ने हुटहटिले उनलाई बम्बई पु¥यायो । बम्बईको एक रात जुन रातको उनको उद्देश्य फेरिने रात बन्यो ।

उनको निर्देशक बन्छु भन्ने उद्देश्य नै फेरियो । उतैका राजु गौलीबाट उनलाई निर्देशक बन्ने सपना त्यागी क्यामरामेन बन्न सुझाव दिए । गौलीले भनेको कुरा उनले सम्झन्छन्, ‘तपार्इँ अल्ली सोझो पनि हुनुहुन्छ । नेपालमा मुर्घा फसाउने भन्छन् निर्देशकलाई त्यो तपाईँ गर्न सक्नुहुन्न । यहाँ आइसकेपछि त्यो टेस्ट नेपालमा पाउनुहुँदैन् । बरु क्यामरामा आउनुभयो भने लाइटिङ सिक्नुभयो र स्क्रिप्ट अनुसार क्यामरा चलाउन जान्नुभयो भने जहाँ पनि बिक्नुहुन्छ ।’

टेलिसिरियलदेखि सिनेमासम्म

बम्बईमा उनले चार वर्ष क्यामराको काम सिकें । भारतीय टेलिसिरियल ‘कसौडी जिन्दगीको, केसरी, कस्तुरी’ मा सहायक क्यामरामेनको रुपमा काम गरे ।

त्यसपछि उनी नेपाल फर्के । यहाँ पनि उनको सुरुआत टेलिसिरियलबाटै भयो । ‘साइनो कस्तोकस्तो, प्रतिघात’ उनले नै खिचेका सिरियल हुन् । यहाँपनि केही समय सहायककै रुपमा काम गरे । उनकोे नेतृत्वमा खिचिएको पहिलो नेपाली फिल्म ‘आफ्नै मनलाई सोधी हेर’ भएपनि प्रदर्शनमा ‘दुलही’ पहिलो हो ।

हालसम्म उनले ३७ नेपाली सिनेमामा क्यामरामेनको रुपमा काम गरिसकेका छन् । ‘धुँवा यो नसा, मेरो जीवन साथी, दर्पण छाया २, पञ्चायत’ लगायत उनले खिचेका चर्चित फिल्महरु हुन् ।

दुईपटक सम्म नेफ्ट एवार्ड र एकपटक बक्सअफिस क्यामरामेनको रुपमा अवार्ड समेत हात पारेका छन् ।

अहिले नेपालमा फिल्म खिचेरनै जिन्दगी चलाउने सकिने गतिलो माध्यम बनेको उनको बुझाई छ ।

‘यसको भविष्य राम्रो छ । अहिले प्राय सबैले क्यामराको महत्व बुझेका छन् । यसले गर्दा नेपालमा अझै स्कोप छ,’ उनी भन्छन्, ‘नेपालमा निर्देशकलाई बढी सहयोग गर्ने नै सिनेम्याटोग्राफर (क्यामरामेन)ले हो ।’

धेरै कलाकारलाई क्यामरामा कैद गरेपनि उनलाई हिरो बन्छु भन्ने साेंच भने आएन् । तर उनलाई नेपाली प्याकेज हिरोको रुपमा आर्यन सिग्देल लाग्छ ।

नायिकामा भने प्राय फरक–फरक लाग्ने हुँदा एकजना मात्र नभएको उनी बताउँछन् ।

‘१०० कडा १०’ को सुटिङमा व्यस्त कार्की यस लगत्तै ‘न यता न उता’ मा काम गर्ने सुनाए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.