www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ नगरपालिकाले मापदण्ड विपरीतका संरचना हटाउँदै

बागलुङ (रासस)

बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ ।

नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

Batas

वडा नं २ को शिवधारा चोकबाट त्यस्ता संरचना हटाउन शुरु गरिएको नगर प्रमुख जनकराज पौडेलले बताए । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने उनको भनाइ छ ।

“मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ,” उनले भने , “स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको छ ।” सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको उनको भनाइ छ ।

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ । सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ । “नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,” नगरप्रमुख पौडेलले भने , “अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।” शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उनको भनाइ छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.