www.tandavnews.com
Fact ~ In search of truth

चार सय बढी आरोही सगरमाथा शिखरमा

काठमाडौँ, १२ जेठ (रासस)
रमेश लम्साल र सिबी अधिकारी

यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।

Batas

यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।

त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट रु ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट रु एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।

यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक÷फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

संसारभर छाए कामीरिता

आरोहणको दोस्रो दिन गत वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका थिए। उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरेका छन् ।

सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेकाे सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।

बाइस पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका छन् । यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो ।

सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सञ्चार माध्यमको ध्यान उहाँतर्फ केन्द्रित भएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.