www.tandavnews.com
Fact ~ In search of truth

विगत झस्काउने नाटक-वितेका कुरा

पोखरा
सन्तोष सुवेदी/ताण्डव

मानिस–मानिसबिच परिचय हुन्छ अनि सम्बन्ध जोडिन्छ । यही सम्बन्धबाट एकले अर्काको विगत र वर्तमान जान्न इच्छुक हुन्छ ।

मानिसको विगत र वर्तमानबिचको सम्बन्ध नाटक ‘बितेका कुरा’ को सार हो । पोखराको गैह्रपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चित नाटकले युवतीको सुन्दरतामा क्षणिक सुख प्राप्तिको लागि आफ्नो अस्तिस्व नै मेटाउने पुरुषको कथालाई पनि समेटेको छ ।

Batas

रंगमञ्चको नाटक निर्देशनमा डेब्यू गरेका परिवर्तन कार्कीले अहिलेको समय, सन्दर्भ र नेपाली परिवेशमा ढाल्ने प्रयास गरेका छन् ।

नाटकको परिकल्पना समेत उनैले गरेका छन् । रुपनारायण सिंहद्धारा लिखित कथा जसलाई कक्षा एघारको ऐच्छिक नेपालीमा समेत समावेश गरिएको छ ।

पोखराको नाट्य क्षेत्रलाई चलायमान बनाउन अभियानमा सक्रिय रहने क्रममा परिवर्तन कार्कीले नाटक हेरिन्जेल दर्शक केन्द्रीत गराएका छन् ।

कलाकारहरूको हाउभाउ, अभिव्यक्ति एवं नृत्यले नै संवादको काम गरेका छन् । पात्रको पीडा, उमंग, खुसी, दुःख लगायतका सबै पक्ष अभिनयबाटै दर्साउन सक्नु नाटकको सबल पक्ष हो ।

नाटकमा उनीहरूको अभिव्यक्तिसँगै प्रकाश हुने निलो, रातो र हरियो रंग पनि अर्थपूर्ण छन् ।

नाटकलाई उत्कृष्ट बनाउन पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय सम्झन लायक छ ।

नाटक जेठ १९ गतेसम्म चल्नेछ ।

डेव्यु नाटक :

विभिन्न रेडियो नाटक र सडक नाटक निर्देशन गरी आफ्नो क्षमता देखाइसकेका परिवर्तन कार्कीको रंगमञ्चको पहिलो निर्देशन हो, यो ।

उनले रंगमञ्चमा ‘पुलिस र प्यास, मौसम हराएको देश’ मा अभिनय समेत गरेका छन् । पोखरा थिएटर सञ्चालनमा ल्याएसँगै रंगमञ्चमै जीवन अर्पण गर्ने सोंच बनाएका कार्की बताउँछन् ।

पोखरा थिएटरका अध्यक्ष समेत रहेका कार्की रंगमञ्चको सागरमा डुबुल्की मार्न सक्ने अठोट राख्छन् ।

मण्डला थिएटरसँग १ महिनासम्म निर्देशन सम्बन्धित कार्यशालामा सहभागी भएसँगै निर्देशकको रुपमा समेत आफ्नो भविष्य उज्वल देखेको आंकलन गरिसकेका छन् उनी ।

त्यहाँ नाट्यकर्मी राजन खतीवडाको साथले उनको यात्रालाई सहजता प्रदान गर्यो ।

नाट्य क्षेत्रको बारेमा केहि ज्ञान उनले पोखरेली नाट्यकर्मी कृष्ण उदासीसँग पनि लिएका थिए । थिएटरबाट नयाँ सिक्न आउनेलाई पनि समन्वय गरी कलाकार उत्पादन गरिने उनले सुनाए ।

पोखरा थिएटर सञ्चालनमा आएपछि हालसम्म १४ वटा नेपालका विभिन्न ठाउँका नाटक मञ्चन भइसके । अहिले मञ्चन भइरहेको ‘बितेका कुरा’ १५ औ नाटक हो ।

३२ वर्षपछिको पुनरागमन :

नाटक ‘बितेका कुरा’ यसअर्थमा पनि महत्व छ कि ३२ वर्षपछि प्रकट पंगेनी शिव रंगमञ्चमा फर्किएका छन् ।

उबेला १५/१६ वटा नाटक खेलेका पंगेनी पोखरामा रंगमञ्च नहुँदा नाटक खेल्ने रहर अपूरो भएको सुनाउँछन् ।

‘खेल्ने रहर थियो तर, त्योबेला पोखरामा रंगमञ्च थिएन,’ उनी भन्छन्, ‘आफ्नो समकालिन साथीहरु थिएनन । प्रगति स्कुलमा विद्यार्थीलाई नाटक सिकाएर बसिरहेको थिएँ । त्यहाँ पनि वर्षमा एउटा नाटक देखाउने गरेका छौं ।’ नाटक वितेका कुरामा पात्र ताराका बुबा बनेर खेलेका पंगेनी ३२ वर्षपछिको रंगमञ्चको अनुभव निकै रमाइलो भएको ताण्डव न्यूजसँग साटे ।

पंगेनीको अनुभव, उनकै शब्दमा :
पोखरा थिएटर बनिसकेपछि म भित्रको कलाकारिता जाग्यो । हाम्रो पालमा आधुनिक रंगमञ्च थिएन । लाइट, नाटकघरलाई चाहिने आधारभूत भौतिक सामाग्री पनि थिएनन् ।

अहिले पूर्ण आधुनिक तरिकाको लाइट उपलब्ध पनि छ । लाइट नाटकको लागि सबभन्दा आवश्यक हुन्छ ।

अहिले भाइबहिनीसँग सहकार्य गर्न मन लागेको हुनाले खेलेको हुँ । नाटक खेलेर पैसा कमाउने कुरा त होइन् । यो पनि एउटा एक किसिमको नसा जस्तो हो ।

तर फुर्सद मिलाउन सकियो भने नियमित रंगमञ्चमा आउँ कि भन्ने मन लागिरहेको छ । अब परिस्थिति कस्तो हुन्छ थाहा छैन् तर रंगमञ्चमा फर्किसकेपछि पाइला रोक्नु पनि राम्रो हुँदैन ।

अहिले त नाटक हेर्नी संस्कार पनि बसेको छ । पोखराको थिएटरमा भर्खर जन्मिएको हुनाले अझै संस्कार बस्न गाह्रो छ ।

अझै एकदुई वर्ष हेरौं पोखरेली जनताहरु पनि नाटक प्रति पहिल्यै रुचाएका थिए अहिले पनि रुचाउँनेछन् । नाटक घर बनिसकेपछि दर्शक आइराखेका छन् ।

अहिलेका भाइबहिनीहरु निकै मज्जाका छन् । जेरेनेसन ग्याप छ, मेरा कान्छा छोराछोरी वा नातीनातिनीसित खेलिरहेको छु त ।

यसले खेल्दा पनि रमाइलो खेल्नुभन्दा अगाडि नेपथ्यमा पनि रमाइलो वातारण सिर्जना भइरहेको छ ।

भावनात्मक रुपबाट बसिरहेका छौं । रमाइलो लागिराखेको छ । भित्री मनबाट नाटकमा फर्किएपछि आत्मसन्तुष्टी मिलेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.