www.tandavnews.com
Fact ~ In search of truth

‘सुन’ घरघरको कथा

-सुमित्रा भट्टराई

‘सुन भन्दा कम छैन हराएमा डर छैन’ भन्ने गहनाको खुबै चर्चा थियो एकसमय । अरूबेला भन्दा बढी तीजको समय अली धेरै खपत हुन्थ्यो नक्कली सुन ।

माईती र साथीसंगीको अगाडी रित्तै गला र बुच्चै कान हुन्छ की भन्ने त्रास भएका चेलीका लागि एकदमै प्रभावकारी ।

Batas

हेर्दा सुनजस्तै मोलमा चै सस्तो गहनाले सायद धेरैलाई माईती र संगीका अगाडी साख जोगाउन सघाएको थियो ।

हामी सुनलाई कति महत्व दिन्छौँ भने कसैको प्रतिष्ठा उसले शरिरमा झुण्ड्याएका गहनासँग जोडीन्छन् । हात, औँला, गला र शिरमा सुन झुण्डीएन भने पनि हाम्रो प्रतिष्ठा रहिरहोस् न ।

अचेल देशमा सुनकै चर्चा छ । ३३ किलो सुनका बारेमा, नेता ज्यूहरूले दाइजोमा ल्याउनुभएको सुनको बारेमा ।

सुनका किस्सा र ट्रोलहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । सुन ओसार पसारको अभियोग लागेका व्यक्ति बयान दिएका दियै छन् ।

उता नेताज्यूहरूले बुझाएको सम्पत्ति विवरणमा एकतोला देखि ६० तोलासम्म सुन भएको विवरण बुझाएको पनि देखियो ।

अधिकांश सम्पत्ति पत्नीले दाईजोमा ल्याएको भनि उल्लेख गर्नुले पनि सुनको महत्व बुझाउँछ । कम्युनिजम पलाउँदै गरेको मुलुकमा कम्युनिष्ट नेताहरूमै यति बिद्यन सुनमोह देख्दा जनताले के बुझुन् ?

पहिले र अहिलेका विवाहलाई पनि तुलना गर्ने हो भने सुनको प्रयोग अहिले बढी देखिन्छ । जति सामान्य परिवार होस् ऋणै खोजेर विवाहमा सुन किन्ने चलन बढ्दो छ ।

विवाह खर्चको एक तिहाई भार सुनले बोकेपछि विवाह त यसै महंगिने नै भयो । बाबु आमाको विवाहमा लिएको ऋणभार छोराछोरी जन्मिदा सम्म नि घट्दैन कति परिवारमा ।

हामी आफ्नो निर्णय भन्दा समाज र आफन्तको देखासिकीमा धेरै चल्छौँ । जसका कारण आफू थिचिँदै गएको पत्तो हुँदैन । अरूलाई देखाउन लगाईएका सुनले खै कस्तो सुख दिन्छन् मनमा ।

भर्खरै सरकारले ४० ग्राम भन्दा बढी सुन विवाहमा दिन नपाईने भन्ने नियम बनाएको छ । पुगनपुग चारतोला सरह नै हो ४० ग्राम सुन ।

यस अघि पनि जन्तीका संख्या र विवाहखर्चका बारेमा नियम नआएका होईनन् तर ति न जन्ती रोकिए न विवाह खर्च घट्यो । न कसैले उजूरी दिए नत नियम पालना नै गरे ।

सुन नामक पहेँलो धातुले कतिको परिवार उजाड्यो त कतिको जीवन ।

तीजमा भनेजस्तो गहना नबनाईदिएको वा सुन नकिनिदिएको निहुँमा कति पति पत्नीबीच पानी बाराबार हुन्छ ।

कति पतिहरूले पत्नीलाई सुन उपहार दिन नसकेकोमा हिनताबोध गरेको देखिन्छ । यो भन्दा बिडम्बना अरू के होला र ?

सुनखानीमा काम गर्ने मजदुर देखि सुनलाई गहनाका आकार दिने व्यक्तिको पसिना जोडिएको यस धातुको मोह यसैगरी बढिरहने हो भने बरू घरमा अन्न नभेटिएलान् सुनका थैला भेटिन्छन् ।

गाउँ सहरमा व्यक्ति नभेटिएलान् तस्कर भेटिन्छन् । सिमीत व्यक्तिको मोहका कारण लगाइएका गहनाले असिमितलाई गिजोलिरहन्छ । थकथकी बनाईरहन्छ र जसरी भएपनि जोड्नै पर्ने भन्ने बनाईदिन्छ ।

जब समाजले नै शिक्षित मानेका र आदर गर्ने व्यक्तिका छोरी तोलाका तोला सुन दाईजो बोकेर जान्छन्, बुहारी कपडा भन्दा बेसी सुनमा उनिएर भित्रिन्छन् तबसम्म सुनमोह घट्दैन । लगाउनै हुँदैन भन्ने होईन तर यतीमात्रै लगाउँ जसले अरूलाई थकथकी नपारोस् ।

तपाईको शरिरमा झुण्डिएको सुनले सुन किन्न नसक्ने वर्गको मन नदुखोस् ।

मान्छेको मन र इच्छा त सबैमा उस्तै होनी ।

सुनमा लगानी गरेको केही अंश सेवामा लगाए धेरै हितकर बरू । मरेर जाँदा पनि तपाई हाम्रो तन जल्छ, हाम्रा शरिरमा भुण्डिएका सुनलाई आफन्तले जल्न दिँदैनन् ।

[email protected]/Twitter : @farsumitra

लेखकबाट थप

नेता, मान्छे की देउता ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.