www.tandavnews.com
Fact ~ In search of truth

बजेटले कर र ऋणको दायित्व बढाएको काँग्रेसको निष्कर्ष

काठमाडौँ  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेट सत्तासिन पार्टीको आफ्नै घोषणापत्र कार्यान्वयन गर्नेभन्दा पनि जनतालाई कर र ऋणको दायित्व बढाउने खालको भनी टिप्पणी गरेको छ ।

काँग्रेस संसदीय दलको आजको बैठकले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल गर्दै कर र ऋणको भार बढाएकाले उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै मुख्य सचेतक बालकृष्ण खाँणले यसले अन्तर्राष्ट्रिय र राष्ट्रिय लगानीकर्तालाई अभिप्रेरित गर्न नसक्ने बताए। “उत्पादनशील क्षेत्रमा लगानी बढ्न नसक्दा नयाँ रोजगारी खुल्ने देखिएन”, उनले भने ।

कृषि र उत्पादनशील क्षेत्रमा पाँच वर्षमा शतप्रतिशत वृद्धि गर्ने सरकारको प्रतिबद्धताअनुसार उक्त क्षेत्रमा लगानी अपर्याप्त भएको उल्लेख गर्दै मुख्य सचेतक खाँणले बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न नसकेको टिप्पणी भएको उल्लेख गरे ।

पर्यटनका सम्बन्धमा पनि सरकारले आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको भन्दै पार्टीले आमनेपाली जनताको अपेक्षाअनुसार आर्थिक समृद्धि हुने आशा विपरीत बजेट आएको भनी टिप्पणी गरेको छ ।

निजी जग्गाको सम्बन्धमा बजेटमा गरिएका व्यवस्थाले नियन्त्रित अर्थतन्त्रतर्फ सरकार अभिप्रेरित भएको काँग्रेसको शंका छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गरेका थिए ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.