www.tandavnews.com
Fact ~ In search of truth

मकैले मेट्दै सपनाको भोक

पोखरा
विनिता सुनार/ताण्डव

डोली चढेकै बर्ष सुमित्रा केसी (माया) पोखरा आइन् । श्रीमान छाडेर आफ्नै पाखुराले तीन छोरी पाल्न सुरु गरेकै दिनदेखि उनले आफ्नो नयाँ नाम ‘माया’ पाएकी छन् । टोलमा उनलाई चिन्नेहरुले अहिले ‘मकैमाया’ भनेर बोलाउँछन् ।

ट्रक डाइभर किशोर केसीसँग विवाह भएपछि २०५५ सालमा मोरङबाट पोखरा आईन् । विवाह भएकै बर्ष जेठी छोरी जन्मिन् । किशोरलाई छोराको आशा थियो । त्यसपछि मायालाई दिनदिनै रक्सी खाएर कुट्न थाले । तीन वटा छोरी जन्मिएपछि मायालाई मात्र होइन परिवारलाईनै छाडेर किशोरले कान्छी श्रीमती लिएर बसे ।

Batas

कहिलेकाहीँ घर आउने जाने गरेपनि श्रीमानले पैसाको सहयोग गर्न भने चटक्कै छाडे । त्यसपछि आफ्नो अनि तीन सन्तानको पालनपोषण सुमित्राकै काधमा आइ लाग्यो ।

श्रीमानबाट सहयोग गुमेपछि उनले अझ बढि परिश्रम गर्नुप¥यो । मायासँग कुनै सिप थिएन् जसले गर्दा परिवार धान्ने धौधौ हुन थाल्यो ।

मायाले अर्कोको घरमा भाडा माझ्ने र कपडा धुने कामले परिवार थेग्न त सजिलो भयो तर पढाउन लेखाउन निकै गाह्रो ।

एक दिन उनको साथीले मकै पोलेर वेच्ने सल्लाह दिए । सल्लाह जाहेज नै लाग्यो । काम त्यति गाह्रो थिएन् । मौसमको वेला गाउँबाट नत्र मण्डीबाट मकै वेच्ने काम सुरु गरिन् मायाले ।

पहिलो दिन ४ सय ५० को मकै वेचेको उनले सुनाईन् । ‘त्यो पहिलो दिन मैले कमाएको कहिले भुल्दिन्,’ उनले भनिन्, ‘अर्काकहाँ भाडा माझेर मुस्किलले महिनाको २ हजार २५ सय कमाउथें ।’

मायाले ४ बर्ष अघिको अतित सुनाउँदा जति गम्भिर देखिन्थिन उत्तिकै सिर्जनशील पनि ।

‘त्यो वेला एउटा पोलेको मकै १०–१५ रुपैयाँमा बेचिन्थ्यो,’ उनले भनिन्, ‘दिनमा ४–५ सयको वेचिन्थ्यो महिनामा १२–१३ हजार पथ्र्यो ।’

madi
machhapuchre

मायाका अनुसार अहिले महिनाको १५–२० हजारसम्म मकैनै वेचेर हात पर्छ । ‘त्यो वाहेक अरु काम पनि गर्छु तर पोलेको मकै वेचेरनै छोरीहरु पढाएकी छु,’ उनले भनिन्, ‘मलाई पोलेको मकै वेच्दा फापेको छ ।’ मायाले पोलेको मकै स्टल राखेरै वेच्ने सोंच बनाएकी छन् ।

‘सटरनै खोलेर त गाह्रो होला,तर एउटा सानो ठाउँ खोजेर स्टलनै राख्नु पर्ला,’ उनले भनिन्, ‘बरु मकैसँगै अरु तरकारीहरु पनि राख्ने सोंच छ ।’

रानीपौवा बस्दै आएकी माया कहिले फुलबारी मनिपाल तिर त कहिले बगर तिर भेटिन्छिन् । आफ्नो विगत सबै पोखेकी मायाले फोटो भने खिच्न मानिन् ।

‘भो फोटो त नहाल्दिनु होला,’ उनले भनिन्, ‘बुढाले देख्यो भने फेरी अर्को आपत आइलाग्छ ।’

माया जस्तै पोखरा शान्तिवनकी कुमारी श्रेष्ठले पनि पोलेको मकै वेचेर जिन्दगी गुजारेकी छन् । प्रेम श्रेष्ठसँग काठमाडौंबाट भागी विवाह गरी पोखरा आएकी कुमारी श्रीमानको कमाइले नथेगेपछि मकै पोल्ने पेसा अगाँलिन् ।

एउटा कराई, केहि दाउरा, कोइला, मकै लिएर नयाँबजार ‘होण्डा स्वरुम’ अगाडिको चौतराबाट ‘मकै पोल्दै’ बेच्दै आम्दानीको स्रोत बढाएकी छन् । बिहान ५ बजे उठेर उनी मकै लिन बेगनासताल जान्छिन् ।

दाउराका लागि भने घर नजिकै काठ फर्निचरबाट ल्याउछिन् । त्यसपछि नयाँबजार आई आफू बस्दै गरेको ठाउँमा मकै राखेर घर पुग्छिन् ।

छोरा–छोरीलाई खाना खुवाइवरी स्कुल पठाएपछि सधै झै १ बजे नयाँबजार आइपुग्छिन् कुमारी । बेलुका ५ बजे सम्म नयाँबजारमा बस्छिन् त्यसपछि साइकलमा मकै पोल्ने कराइ राखेर पृथ्वीचोक हुँदै घर फर्कन्छिन् ।

सुरुवाती दिनमा कुमारीले एउटा घोहो मकैको १० रुपैयाँमा बच्ने गरेको सुनाइन् । ‘अहिले पोलेको मकै र हरियो खुर्सानीको छोप सहित ३० रुपैयाँमा बेच्छु,’ उनले भनिन्, ‘दिनमा डोको खर्च उठाएर ६ सय रुपैयाँ जति बच्छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.