www.tandavnews.com
Fact ~ In search of truth

ल्याण्ड रोभर :ओल्ड इज् गोल्ड

सुरज हजारे दाहाल

तस्विरमा को.१.ज १०१० नम्बरको ल्याण्ड रोभर जिप छ र त्यसमा अंग्रेजीमा लेखिएको छ “नेभर गिभ् अप्” अर्थात कहिल्यै हार नमान ।

तर सरकारी नीतिका कारण उसले हार मानेर बन्द भएको छ । भर्खर शो रुमबाट झिकिएका नयाँ जिपहरु पूर्वका डर लाग्दा उकालो सडकमा उक्लन गाह्रो मान्छन् तर दोस्रो विश्व युद्धको अन्त्य पछि नेपाल भित्रिएको दशकौं पुरानो ल्याण्ड रोभर भने सजिलै ठाडो उकालो चढ्थ्यो ।

Batas

तर यहि शान र गर्विलो इतिहास बोकेको ल्याण्डरोभर २० वर्ष पुरानो गाडी प्रतिबन्ध गर्ने सरकारी नीति भित्र परेपछि गत सालको चैत यता घर र ग्यारेजमा थन्किएका छन् ।

विशेष गरि पूर्वमा ल्याण्ड रोभरलाई बाँदरे गाडी भनेर स्थानीयहरु चिन्छन् । अन्य नयाँ गाडीहरु गुड्न नसक्ने खाल्डा खुल्डी, भिरभाखा तथा दलेदले हिलोलाई समेत पार गर्दै बाँदर झैं स्फुर्तिका साथ गुड्ने होइन चढ्ने भएकोले ल्याण्डरोभरलाई बाँदरको संज्ञा दिइएको थियो ।

पूर्वका इलाम, ताप्लेजुङ, पाँचथर, संखुवासभा लगायतका जिल्लाका पर्यटन उद्योगमा सेवा दिइरहेको यहि ल्याण्डरोभरमा पूर्ण बिराम लागेपछि पर्यटन क्षेत्रमा असर परेको छ ।

पिच बाटो जुनसुकै गाडी उक्लने भए पछि पूर्वका डर लाग्दा भिरमा उक्लिने जीपहरुको बादशाह ल्याण्ड रोभर बन्द भएपछि स्थानीयहरु पनि प्रभावित भएका छन् ।

अन्य गाडी नचल्ने भएपछि ७ घण्टामा पुगिने सदरमुकाम पार गर्न आजकल हिँडेर बास बसेर दुई दिन लाग्न थालेको छ । बजारमा ल्याण्ड रोभर नयाँ डिजाइनमा रेन्ज रोभरको नाममा आए पनि पुरानोको शान भने बेग्लै थियो ।

दोस्रो विश्व युद्धको बेला नेपाल आएको ल्याण्ड रोभर त्यो बेला सस्तो थियो तर अहिले दुई गुणा भन्सार शूल्कका कारण उसै त महंगो यसलाई सार्वजनिक गाडीको रुपमा कसैले प्रयोग गर्दैनन् ।

विश्व युद्ध आसपास बेलायतमा निर्माण शुरु भई प्रयोगमा आएको ल्याण्डारोभर नेपालमा भने विश्व युद्धको समाप्ति पछि भित्रिएको थियो ।

ब्रिटिसहरुले विभिन्न परियोजना सञ्चालन गर्दा छाडिएका राजसी ठाँटका ल्याण्ड रोभर नेपाली भूमिमा दशकौं गुडे ।

नेपालमा सडक नै नहुँदा नै ६५ जनाको समूहले काँधमा बोकेर मर्सिडिज कम्पनीका गाडी राजधानी काठमाडौं भित्राएको थिए ।

हिटलरले सन् १९३९ मा उपहारमा पठाएको उक्त गाडीको चर्चा भए पनि बन्द नहुँदा सम्म ल्याण्ड रोभरको भने चर्चा भएको थिएन । विश्व युद्ध लड्दाको समय ब्रिटिसहरुले चढेको दर्जनौं ल्याण्ड रोभर पूर्वी नेपालमा विसं २०७४ चैत १ गतेबाट सधैंका निम्ति प्रतिबन्ध गरिएका छन् ।

करिब ७० को संख्यामा बेलायतीहरु छोडेका ति ल्याण्ड रोभर नेपालीहरु बिच नै धेरै पटक किनबेच भएका थिए । राजा महेन्द्र जनकपुर सवार हुँदा बम प्रहार गरिएको गाडी ल्याण्ड रोभर नै थियो । पुरानो भएर पनि नयाँ झै पिकअप र माइलेज दिने भएकाले थोत्रो भनिएका ल्याण्ड रोभर समेत १५ लाख रुपैयाँसम्म बिक्ने हुने गरेको थियो ।

आल्मुनियम धातुबाट बनेकोले गाडी बलियो र इन्जिन समेत बलियो भएकोले धेरै भारका सामान तथा यात्रु सहित ल्याण्ड रोभर गुड्ने गर्दथ्यो । नेपाल मात्र होइन भारतको पश्चिम बंगालका डाँडाहरुमा समेत ब्रिटिसहरुले छोडेका ल्याण्ड रोभरको राज थियो ।

नेपालले २० वर्षीय नीति अन्तर्गत कवाडी ठानेको ल्याण्डरोभरलाई भने भारतले भने संरक्षण गर्दै केहि समय अगाडि ल्याण्डरोभर फेस्टिभल समेत गरि निशुल्क मर्मतको क्याम्प राखेको थियो । दुलही झैं श्रृंगार गरेर दार्जिलिङदेखि नेपालको सन्दकपुरसम्म पुराना ल्याण्डरोभर गुडिरहँदा नेपालमा भने ति गाडी घरघरमा थन्किरहेका थिए ।

हिउँ पर्दा अन्य गाडीहरु फस्ने सन्दकपुरका डाँडामा समेत बिना रुकावट ल्याण्डरोभर उक्लने गर्दथ्यो । ल्याण्डरोभर थन्किए पछि स्थानीयहरु मात्र होइन पर्यटकरु पनि प्रभावित भएका छन् ।

सदरमुकामकम सुगम इलाकामा बस गुडे पनि दुर्गमका पर्यटकीय गन्तव्य जस्तै इलामको माइपोखरी, तेह्रथुमको तीन जुरे, संखुवासभाको गुफा पोखरीसम्मको कम्तिमा पनि आधा यात्रा पैदाल मार्फत गर्न बाध्य भएका छन् ।

ट्रयाक्टर नहुँदा पूर्वका गाउँगाउँमा ल्याण्डरोभरले विद्युतको पोल समेत सजिलै बोकेर लैजान गर्दथ्यो । इलामको डेरी सम्म गाउँबाट दूध पु¥याउन होस् अथवा पाँचथरको फालेलुङको भिर चढ्न ल्याण्ड रोभर प्रयोग हुन्थ्यो ।

नेपालमा दर्ता भएका २० वर्षीय पुरानो ल्याण्ड रोभर प्रतिबन्ध भएपछि नेपालकै बिकट इलाकामा भारतमा दर्ता गरिएका ल्याण्ड रोभरले पटके इजाजत लिएर चर्का भाडा लिएर नेपाली डाँडा चढिरहेका छन् ।

नेपालमा २० वर्ष पुरानो गाडी बन्द भए पनि बिदेशका पुरानो गाडीले भने स्वदेशी पर्यटक र स्थानीय जनतालाई निर्वाध सेवा दिइरहेका छन् ।

यसै लेखको पंक्तिकार पनि पूर्वको जिल्लामा पटकपटक यात्रा गर्दा ल्याण्डरोभर सहयात्री भएको थियो । अरु गुड्ने तर यो उक्लने पुरानो तर ऐतिहासिक ल्याण्डरोभरलाई हार्दिक श्रद्धाञ्जली ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.