www.tandavnews.com
Fact ~ In search of truth

बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

काठमाडौँ । 

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उनले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे।

यो बजेट भिन्न परिवेशमा आएको भन्दै उनले भने, “मुलुकमा आर्थिक समृद्धिले फड्को मारोस् भन्ने सबैको आकांक्षा छ ।” अर्थमन्त्री विज्ञ भएकाले सबैले बजेटमा धेरै अपेक्षा गर्नु स्वाभाविक भएको भन्दै उनले भने, “बजेटमा कतिपय राम्रा पक्ष पनि छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम, शैक्षिक प्रमाणपत्रका आधार ऋण प्रदान गर्नेलगायतका केही कार्यक्रम प्रशंनीय छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ उद्धृत गर्दै सांसद भट्टराईले बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुुनुपर्ने तर सामान्य गाडी चलेजस्तो आएको भनी टिप्पणी गरे।

बजेटमा दृष्टिकोण र प्राथमिकता निर्धारण गर्न नसक्दा समस्या देखिएको उल्लेख गर्दै उनले वर्तमान परिवेशमा हिजोको ढाँचामा बजेट तय गर्नुपर्ने आवश्यकता नभएकाे बताए। आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि कृषि प्रधान अर्थतन्त्रलाई तीव्र आर्थिक वृद्धि गर्नुपर्ने अहिलेको प्राथमिकता हुनुपर्ने उनको धारणा थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आवश्यकताअनुसार बजेट व्यवस्था नभएको भन्दै उनले मुलुकको प्राथमिकतामा स्थलमार्ग, जलमार्ग, रेलमार्ग र हवाईमार्ग के हो स्पष्ट निर्धारण गर्नुपर्ने बताए । वर्तमान अवस्थामा सडकलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा थियो ।

सांसद डा भट्टराईले कर्मचारीको मनोबल बढाउन तलब वृद्धि गर्नुपर्ने बताउँदै करको क्षेत्रमा पनि दर होइन दायरा बढाउनुपर्ने सुझाव दिए । ज्येष्ठ नागरिकका लागि पनि सरकारले निर्वाचनका बेला घोषणापत्रमा प्रतिबद्धता गरेको विषय पनि नआएको भनी आलोचना गरे ।

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा आगामी आवको राजश्व र व्ययको वार्षिक विवरण प्रस्तुत गरे । प्रतिनिधिसभामा बजेटमाथिको छलफल बिहीबारबाट शुरु भएको हो ।- रासस

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.