www.tandavnews.com
Fact ~ In search of truth

सवल र समृद्ध प्रदेश बनाउने बजेट ल्याउनुपर्नेमा जोड

पोखरा,  (रासस)

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकाँश सदस्यले आगामी बजेट सवल र समृद्ध प्रदेश बनाउने गरी आउनुपर्नेमा जोड दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७५÷७६ को बजेट तयारी सन्दर्भमा बिहीबार प्रस्तुत गरेकाे विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता सम्बन्धमा छलफलमा भाग लिँदै उनीहरुले जनताका भावनालाई समेट्ने गरी बजेट ल्याइनुपर्नेमा जोड दिए ।

आर्थिक मामिला तथा योजनामन्त्रीले प्रस्तुत गरेकाे बजेटका सिद्धान्त र प्राथमिकताका सैद्धान्तिक पक्ष राम्रो भएको बताउँदै प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले प्रस्तुत गरिएका सिद्धान्त र प्राथमिकताका आधारमा आउने बजेट प्रदेशलाई समृद्ध बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले प्रदेशको विकास सबैको साझा सरोकारका विषय भएकाले सरकारले कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्न नहुने बताए ।

सरकारले विकासमा प्रतिपक्षलाई सँगै लिएर अघि बढ्नुपर्ने बताउँदै उनले प्रदेशको समृद्धि र विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले यस अघिको बजेटमा पर्यटनलाई पहिलो प्राथमिकतामा राखिएको भए पनि अहिले प्रस्तुत गरिएकाे विनियोजन विधेयकका सिद्धान्तमा यो चाैथो प्राथमिकतामा परेको सम्बन्धमा स्पष्ट पार्न आग्रह गरे ।

प्रदेशसभा सदस्य राजिव पहारीले सिद्धान्त र प्राथमिकताले प्रदेशको विकासका लागि स्पष्ट मार्गचित्र देखाएको बताउँदै यसको सफल कार्यान्वयन आवश्यक भएकोमा जोड दिए ।

बैठकमा प्रदेशसभा सदस्य दीपक कोइराला, हरिशरण आचार्य, रामजी बराल(जीवन), पियारी थापा, धनमाया पोखरेल लामा, धनञ्जय दवाडी, सरिता गुरुङ, प्रभा कोइराला लगायतले उद्यमशिलताको विकासका साथै समाजका प्रत्येक वर्ग र समूदायका हितमा बजेट आउनुपर्ने धारणा राखे ।

प्रदेश सभाको अर्को बैठक आगामी जेठ २१ गते दिनको १.०० बजे बस्नेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.