www.tandavnews.com
Fact ~ In search of truth

तरकारी खेतीतर्फ युवा आकर्षित

बागलुङ,  (रासस) 

यहाँका तीन युवा मिलेर व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । जैमिनी नगरपालिका–७ जैदीका तमसम राना, खुमबहादुर राना र सूर्य राना कृषि उद्यमतिर लागेका हुन् ।

वार्षिक रु ८० हजार तिर्नेगरी साढे चार रोपनी जग्गा भाडामा लिएर तरकारीखेती सुरु गरिएको युवा किसान तमसम रानाले बताए ।  चारवटा प्लाष्टिक टनेलमा गोलभेँडा, सिमी, बोडी, जुकेनीलगायत तरकारी लगाएको उनको भनाइ छ ।

“तीन महिनाअघि तरकारीखेती शुरु गरेका हौँ”, उनले भने, “पहिलो चरणको उपज बजारमा पठाउने तयारीमा छौँ ।” तरकारीखेतीमा हालसम्म रु नौ लाख लगानी भइसकेको रानाले जानकारी दिनुभयो । युवा लक्षित कार्यक्रमअन्तर्गत जिल्ला युवा समितिले पाँच लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

“उत्पादनतिर लाग्ने सोच पुरानै हो”, रानाले भने, “अनुदान पनि पाएपछि गर्नैपर्छ भनेर लाग्यौँ ।” अनुदानबाहेकको लगानीमा तीनै युवाको बराबरी सहभागिता छ ।

बत्तीस वर्षीया राना स्नातकको अध्ययनलाई बीचैमा छोडेर कृषिकर्मतिर लागेका थिए । यसअघि पनि उनले बागलुङ बजारमा व्यावसायिक कुखुरापालन गर्दै आएका थिए ।

कुखुरापालन व्यवसायमा सफलता नमिलेपछि राना आफ्नो गाउँमै पुगेर व्यावसायिक तरकारीखेतीमा लागेका थिए । रानाको सोच र योजनालाई अर्का दुई युवा खुमबहादुर र सूर्य रानाले साथ दिएका छन ।

तीनैजना मेहनती भएका कारण तरकारीखेतीका लागि बाहिरी कामदार राख्नुपर्ने अवस्था छैन । “हामी आफैँ खटेर काम गर्छौं”, खुमबहादुरले भने, “तरकारीखेतीसँगै बङ्गुरपालन र रेष्टुराँ व्यवसाय पनि चलाउने तयारीमा छौँ ।”

जैदीकै बेलबगरमा कालीगण्डकी करिडोरको किनारामा रेष्टुराँ निर्माणको काम अघि बढिसकेको उनको भनाइ छ । तरकारीखेती पनि सोही ठाउँमा भएकाले उत्पादनलाई बजार पठाउन सहज हुने भएको छ । राना यसअघि वैदेशिक रोजगारीका लागि मलेसियासमेत पुगेका थिए ।

“केही समय विदेशमा पनि काम गरियो”, उनले भने, “अहिले आफ्नै देशमा केही गर्ने लक्ष्यका साथ कृषि कर्ममा लागेका छौँ ।”

मेहनत र इमान्दारिता भए जुनसुकै व्यवसायमा सफल हुन सकिने विश्वास उनको छ । युवा कृषि उद्यममा लाग्नु सुखद भएको स्थानीयवासी शंकरप्रसाद पौडेलले बताए । ‘भर्खरका युवा कृषिमा लाग्नुभएको छ, उनीहरुको मेहनत लोभलाग्दो छ”, उनले भने “यसबाट अरु युवालाई पनि प्रेरणा मिलेको छ ।”

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.