www.tandavnews.com
Fact ~ In search of truth

बिचाैलिया वाणिज्य संघ, आफ्नै मातहतका व्यवसाय धम्काउँदा मौन !

पोखरा
ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघले महानगर भित्र होर्डिङ बोर्ड व्यवस्थापनको जिम्मा आफूले लिएर कमिशन खाने चक्करमा विराटनगरको छायाँ एड्भरटाईजिङ कम्पनीलाई व्यवस्थापन सुम्पिएको थियो ।

सोही छायाँ एड्भरटाईजिङ कम्पनीले वाणिज्य संघकै आडमा पोखरामा पेसा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई धम्काएर रकम असुली गर्न खोजिरहेको गुनासो आएपनि वाणिज्य संघ रमिते बनेको छ ।

Batas

बैंकले कर्जामा व्याज बढाउँदा बढाइएको व्याज बैंकलाई नतिर्न सर्कुलर गरेको संघले अहिले आफ्नै मातहतका तिनै व्यवसायी लुट्नलाई खुलेआम अनुमति दिईरहेको छ । ‘पेसागत हक हित संरक्षणका लागि काम गर्ने सामाजिक संघ हो की दलाल ?,’ प्रश्न गर्दै पोखराका एक पुराना व्यवसायीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘होला संघलाई केही आर्थिक लाभ, तर यसले निस्वार्थ सामाजिक भावना अनुरुप सेवा गर्ने अन्य संस्थालाई कस्तो असर पार्ला ।’

संघले होर्डिङ बोर्डको व्यवस्थापन जिम्मा महानगरलाई दबाबमा पारी हडपेको महानगर स्रोतको दाबि छ ।

मेयर मानबहादुर जिसीले पदबहाली गरिसके पश्चात् पनि संघले मेयरलाई नै प्रभावमा पारी बिना टेण्डर ठेक्का हुत्याएको थियो । जसको म्याद आगामी असार मसान्तमा गुज्रिदै छ ।

ठेक्काको समय सकिनै लाग्दा कम्पनी घाटामा जाने निश्चित भएपछि संघबाट व्यवस्थापनको जिम्मा पाएको छायाँ कम्पनीका मनोज कुमार चौहानले रकम लिनै नमिल्ने शीर्षकमा कार्यालय अगाडि राखिएको नेम बोर्डको समेत धम्की पूर्ण शैलीमा रकम माग्दै हिँडेको पाइएको हो ।

सस्तोमा ठेक्का पाएको वाणिज्य संघले महँगोमा छायाँ कम्पनीलाई दिँदा वार्षिक झण्डैं ५०/६० लाख घाटामा जाने निश्चित भएपछि छायाँले संघकै सल्लाहमा लागत रकम भएपनि झिक्न यस्तो हर्कत गरेको स्रोत बताउँछ ।

विज्ञापन शुल्क भनेर रकम लिन पाईने कुनकुन प्रकृतिको होर्डिङ बोर्डमा हो ? यस विषयमा थप छलफल गर्न पोखरा उद्योग वाणिज्य संघको रोहवरमा छायाँ कम्पनीलाई समेत महागनरमा बोलाईएको राजश्व शाखा प्रमुख छविलाल शर्माले बताए ।

पोखरा लेखनाथ महागनरबाट चलानी भएको पत्रको आशय बेगर प्रयोगमा ल्याई व्यवसायीलाई आतंकीत बनाएको छायाँ एड्भरटाईजिङका सञ्चालकलाई महानगरमा बोलाइएको महानगर स्रोतले जनाकारी दिएको छ ।

यसरी शीर्षक वेगरको रकम माग्दै हिँडेपछि चौतर्फी विरोध भईरहेको छ । केही दिन अघि ईक्यानका पदाधिकारीहरुको टोली महानगरमा गई यस विषयमा उपमेयर मञ्जु गुरुङलाई ध्यानाकर्षण गराएको थियो ।

कम्पनीले पोखराका व्यवसायीलाई सम्झौता विपरित विज्ञापन शुल्क भनी चिठी साथै रकम तोकेर मान्छे पठाउने गरेका छन् ।

संघले ०७३ फागुन २७ मा विराटनगरको छायाँ एड्भरटाइजिङलाई ठेक्का सुम्पिएको थियो । महानगरसँग उद्योग वाणिज्य संघको सम्झौता यही असार मसान्तमा सकिदैँ छ ।

महानगरकी उपमेयर मञ्जु गुरुङका अनुसार यस विषयमा उद्योग वाणिज्य संघसँग छलफल हुँदैछ । ‘हामीले उद्योग वाणिज्य संघलाई जिम्मा दिएको हो,’ उनले भनिन्, ‘सोझैं छायाँ एड्भरटाइजिङलाई हामीले कुरा गर्न मिल्दैन । यदि सम्झौता विपरित छायाँले काम गरेको पाइएमा हामी कारवाही अघि बढाउँछौं ।’

यस विषयमा वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेलाई फोन सम्पर्क गर्दा सम्झौता पत्र हेर्न कार्यालयमा बोलाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.