www.tandavnews.com
Fact ~ In search of truth

बादलुको घुम्टोले इलाम बजार छोपिँदा …

-सुरज हजारे दाहाल

इलाम सबै नगएका होलान् तर बुद्धवीर लामाको शब्दमा यम बराल गाएको चर्चित गीत “बादलुको घुम्टोले इलाम बजार छोपिदा” प्राय सबैले रेडियो टिभीमा सुनेका छन् ।

नेपालीले प्राय घुम्ने गरेको प्रदेश १ को चर्चित ठाउँ हो इलाम । बिहान उठ्ने बित्तिकै दिनको सुरुवात एक कप चियाबाट गरिन्छ र त्यहि चियाको चियापत्ति फल्ने मनमोहक जिल्ला हो इलाम ।

Batas

तराईको झापा स्थित चारअली नामक समथर ठाउँ छोडेर उकालो लागेपछि सुरु हुन्छ इलाम । इलामको फिक्कलबाट नागबेली आकारको मेची राजमार्ग हुँदै इलाम बजार तथा त्यसभन्दा माथिको माईपोखरी र सिमानाको पशुपति नगरसम्म चियाको खेती हने गरेको छ ।

क्षणिक मौसम परिवर्तन हुने यस जिल्लामा गर्मी महिनामा समेत हुस्सु र कुहिरो लाग्छन् । गाडी बिसाएर वा बसको झ्यालबाट हेरेर आँखा भरि चियाको दृश्य कैद गर्दै र सम्झनाको कुइनेटोको लागि फोटो खिच्न सकिन्छ ।

इलाम बजार नआउँदै कन्याम नामक चर्चित ठाउँ छ । प्राय पत्रिकाहरुमा देखिने सल्लाको रुखको लस्कर र चिया बोट अनि राजमार्गको दृश्य कन्याम क्षेत्रको हो । चिया बगानको सबैभन्दा सुन्दर दृश्य कन्यामम नै देख्न सकिन्छ । कन्यामको थुम्कीहरुमा शीत चुहिरहेका चियाका पत्ताहरु सबैको मन लोभ्याउँछ ।

चियाबोट वरिपरि कोही पिकनिक मनाइरहेका तथा कोही मायालु जोडी प्रेम साटिरहेको देख्न सकिन्छ । यस्तै मेची राजमार्गदेखि कन्यामको भिउ पोइन्टसम्म घोडचढीको मजा समेत लिन सकिन्छ । सल्लाको रुख लस्करै देख्दा “भोलि फेरि सल्ला घारीमा” गीतको याद आउँछ । कैयौ नेपाली चलचित्र तथा गीति भिडियोको दृश्य पनि यहि कैद भएका छन् ।

कन्यामपछि फिक्कल नामक बजार आउँछ । इलाममा उत्पादन गरिएका चिया पत्तिका अनेकौ किसिम फिक्कलमा पाइन्छ । ग्रिन टि, सिटिसी टि, ब्ल्याक टि लगायतका ताजा चिया यहाँ खरिद गर्न सकिन्छ । चियापत्तिको अलवा दूधबाट बनाइएको ललिपप् अकबरे खुर्सानी, दूध र कुराउनी पनि फिक्कलमा पाइने कोसेली हुन् ।

 

फिक्कलबाट पूर्व तिर गयो भने इलाम र दार्जिलिङको सिमा पशुपतिनगर आउँछ भने उत्तरतिरलागे इलाम आउँछ । फिक्कलबाट उत्तर लागेपछि इलामको सदरमुकाम इलाम बजार आइपुगिन्छ । बजार पुगेपछि ठूलो भवनमा चिया प्रशोधन गरेको आवाज सुनिन्छ अनि मगमग ताजा चियाको बासना पनि आउँछ । नेपालको पहिलो चियाबारी र कारखाना पनि त्यहि हो ।

इलामको विकासमा चिया पर्यटनको महत्वपूर्ण योगदान छ । अन्यत्र भन्दा पर्यटनको पूर्वाधार छुट्टै किसिमको छ । आन्तरिक पर्यटनको लागी यसले अलग पहिचान कमाएको छ । इलाम भनेकौ कृषि र चिया पर्यटन हो । उसो त ओलन अर्थात दूध, अदुवा, कुचो बनाउने अम्रिसो र आलु पनि इलामको मुख्य नगदे बालीहरु हुन् ।

देशमा सूर्योदयको पहिलो झुल्को इलामकै अन्तु डाँडामा पर्छ । चिज बनाउने कम्पनी, डेरी उद्योगहरु, दूध चिस्यान केन्द्र, गाई पालन जस्ता कृषिजन्य पेशाले इलामलाई समृद्ध बनाएको छ । केही नफल्ने खोल्साहरुमा समेत नगदेबाली अलैंचीका हरिया बोट, स्कूसका बोटदेखि घरका भान्छाहरुमा छुर्पी सजाइएको देख्न सकिन्छ । इलामकै नाम जोडेर कैयन गीतहरु गाइएका छन् ।

बादलुको घुम्टोले इलाम बजार छोपिदा, दुई पाते सुइरो, चियाको बोटैमा, चिया बारीमा हो चिया बारीमा जस्ता गीतहरु चियासँग घनिष्ठ सम्बन्ध राख्छन् ।

झन् भूपि शेरचन इलाम जिल्ला देखेर यति मोहित भएकी उनले इलामलाई सबै जिल्लामा छर्नुपर्छ भन्दै हरियो इलामलाई देख्दा मलाई नेपालभरि अलिअलि इलाम छर्न मन लाग्यो भनेर कविता समेत सिर्जना गरेका थिए ।

अनि अन्त्यमा कवि युद्धप्रसाद वैद्यले भने झै इलाम नकुदिएको हिरा जस्तो छ र यसलाई कुँद्न अझै बाँकी छ ।

यसरी पुग्ने : पोखराबाट हरेक दिन साँझ ५ बजे पूर्वको काँकडभित्ताको लागि बस छुट्छ ।

भोलिपल्ट बिहान ६ बजे झापाको चारली नामक ठाउँमा पुगेपछि जीप चढेर ३ घण्टामा इलाम बजार पुगिन्छ ।

कन्याम भने २ घण्टामा नै पुगिन्छ । कन्याम र इलाम बजार दुबै ठाउँमा केही राम्रा होटलहरु छन् भने दुईवटा रिसोर्ट निर्माणधिन छन् ।

इलाममा मात्र ५ दिनको खर्च १२ हजार रुपैयाँ लाग्छ । इलामका अन्य ठाउँ घुम्दा भने यात्रा खर्च बढ्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.