www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : प्रतिपक्षी दल काँग्रेसद्वारा प्रदेशसभा अवरोध

पोखरा (रासस)

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।

बैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गरेको हो ।

Batas

काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । विसं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।

काँग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजीसमेत गरेको छ । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ४.५५ बजे मात्रै बैठक शुरु भएको थियो ।

बैठकको प्रारम्भमा नै काँग्रेसका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएपछि सभामुखले काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्न दिनुभयो । नेता नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे । उनले बजेटलाई भने नरोक्ने बताउँदै उहाँले बजेटका लागि सहयोग गर्न तयार भएको धारणा राखे।

त्यसपश्चात् सभामुखले संसद्को कारबाही बढाउन लागे पनि रोष्टम अघि गएका काँग्रेसका सदस्यहरुले नारा लगाएपछि पुनःआधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.