पाेखरा
माधव भुसाल/ताण्डव न्यूज
पोखरा लेखनाथ–१८ लभ्ली डाँडाको सार्वजनिक जग्गा केही व्यक्तिले कब्जा गरेका छन् । जनप्रतिनिधिलाई वेवास्ता गरे उनीहरुले विना अनुमति कब्जा गरेका हुन ।

केही व्यक्तिले डाँडानै आफ्नो स्वामित्वमा खेती गरेका हुन् । सार्वजनिक जग्गा हडप्ने मनसायले कृषि गरिरहेको स्थानीय स्रोतले बताए । ‘केही व्यक्तिले सार्वजनिक जग्गा राजनीतिक र पैसाको आडमा सेटिङ गरेर कुम्ल्याउन खोजेको छ,’ स्रोतले भन्यो, ‘कोही बोल्नै हुँदैन उनीहरु यति शक्तिशाली छन् जे पनि गर्न सक्छन् ।’
स्रोतका अनुसार उनीहरु भित्रभित्र जग्गा दर्ता गर्ने योजना बनाएका छन् । ‘अहिले खेती गरे जस्तो गर्ने,’ एक स्थानीय स्रोतले भन्यो, ‘पछि पूरै डाँडा खार्ने षडयन्त्रमा छन् ।’ त्यहाँ पुगेर हेर्दा एउटा रुखमा ‘प्राइभेट एग्रीकल्चर एरिया नो इन्ट्री’ अर्थात ‘व्यक्तिगत कृषि क्षेत्रमा प्रवेश निषेध’ लेखिएको निलो बोर्ड टाँसीएको छ ।
प्रवेश निषेध गरिएको उक्त क्षेत्रलाई रुखका हाँगाहरु काटेर बार लगाइएको छ । अलिकति माथि उक्लिएपछि फेरी उस्तै निलो बोर्डमा ‘कृषि क्षेत्र, यहाँ ओहोर दोहोर गर्न सख्त मनाही छ’ लेखेर झुण्डाइएको छ ।
के भन्छन् वडाध्यक्ष ?
सो क्षेत्र पोखरा लेखनाथ महानगर घोषणा भएपछि वडा नं १८ मा पर्छ । यसबारे वडाध्यक्ष रणबहादुर थापा पनि जानकार छन् ।
उनि भन्छन् ‘०५७ को सचिवालयस्तरीय बैठकले उक्त क्षेत्र वनकै रहेको भनेको छ । वडा कार्यालयमा केहि महिला जग्गा आफ्नै रहेको दावी गर्दै आउनुभएको थियो । त्यो जग्गा वन क्षेत्रको भनेपछि त्यहाँ खेती पाती गर्नु अवैधानिक नै हो ।’
वनको जग्गामा व्यक्तिले तारबार लगाएर प्रवेश निषेध गर्न पाइदैन । यस बारे ‘कारबाही कसरी अघि बढाउनुहुन्छ ?’ भन्ने प्रश्नमा वडाध्यक्ष थापाले उक्त क्षेत्रको टोल विकास समितिले निवेदन दिएमात्र कारवाही अघि बढाउने जवाफ दिए ।

वन कार्यालयलाई थाहै छैन
उक्त क्षेत्रमा त्यसरी बार लगाएर, बोर्ड नै राखेर प्रवेश निषेध गरिएको बारे जिल्ला वन कार्यालय नै बेखबर छ । ‘खै त्यो बारे केहि जानकारी त छैन ।
त्यहाँ कर्मचारी खटाएर निरिक्षण गर्न लगाउँछौं’ जिल्ला वन कार्यालय कास्कीका अधिकृत केदार बरालले भने ।
निरिक्षण पश्चात् वनकै क्षेत्रमा त्यस्तो कार्य गरिएको भए तत्काल रोक्न निर्देशन दिने उनले बताए । अटेर गरे प्रहरी प्रशासन नै लगाएर हटाइने उनको भनाई थियो ।
०५६ सालदेखि जग्गामा गिद्धे नजर
०५६ चैत २३ गते पोखरा उपमहानगर ४ बस्ने कृष्णबहादुर कोइराला, युद्धबहादुर कोइरालासमेत गरि १४ जनाले साविकको म्वारजावी गाविस वार्ड नं २ को कित्ता नं ३२५ देखि ३४१ सम्मको जग्गा दर्ता गरिपाउँ भनि मालपोतमा निवेदन दिएका थिए ।
कित्ता नं ३२६ को क्षेत्रफल १७–९१–३ मध्ये ८–१२–२ १/२ लाई आफ्नो नाममा दर्ता गर्न इश्वरीदेवी कोइरालाले पनि मालपोत कार्यालयमा निवेदन दिएकी थिइन् ।
निवेदन पश्चात् जिल्ला वन कार्यालय कास्कीले उक्त क्षेत्रको निरीक्षण सहितको पत्र ०५७ बैशाख १५ गते वन विभाग काठमाडौं पठायो ।

जिल्लाको प्रतिवेदन अनुरुप ०५७ चैत २ गतेको सचिव स्तरीय निर्णयले उक्त जग्गा राष्ट्रिय वनकै रहेको निर्णय गरेको थियो । त्यसपछि आफ्नो नाममा जग्गा दर्ता गर्न खोज्नेहरुको सपना तुहियो ।

०५६ देखि ०५७ मा गरिएको प्रक्रिया विफल भएपछि अहिले नयाँ योजनासहित जग्गा आफ्नो नाममा गर्ने दाउमा छन् केही व्यक्तिहरु ।
उनीहरुले कृषि योग्य क्षेत्र भन्दै बार लगाएर उक्त स्थानमा अरु व्यक्तिलाई जान समेत निषेध गरेका छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.