www.tandavnews.com
Fact ~ In search of truth

सपना र जिन्दगी गुमाउनेहरु…

पोखरा ।

दुई हप्ताअघि बजारमा आएको एउटा गीत अहिले सबैको मनमा डेरा जमाएको छ । गीत हेर्नेहरु अधिकांश परदेशीमा भएको परिवारको कुनै सदस्य सम्झेर मन अमिलो बनाउने गर्छन् ।

सन्तोष सुवेदी / ताण्डव न्यूज
Batas

एउटा युवा श्रीमतीको पेटमा हुर्कंदै गरेको छोराको भविष्य हेर्दै परिवारको आर्थिक विपन्नतालाई उकास्नको लागि विदेश जान्छ । तर, अफसोच उसको निधन हुन्छ अनि कफिनमा स्वदेश फर्कन्छ ।

त्यसपछि उसको परिवारमा हुने सन्नाटा र पीडाको त्यो दुखान्त परिवेशको गीत थियो, ‘बोल माया’ । गायक प्रकाश सपूतले सार्वजानिक गरेको गीतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक दिन औसतमात्रामा कफिनमा उतारिने युवाको चित्रण गरेको छ ।

धन कमाउने आशामा विदेश गएर अकालमा ज्यान गई परिवार, समाज र देशमा सन्नाटा छाएको छ नै । अर्को तर्फ नबुझि र आफन्तबाट विदेश लैजाने भन्ने आसमा पैसा चुर्लुम्म डुवाउनेको पीडापनि दर्दनाक छ ।

जसरी दैनिकरुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृत्युको लास आउँछ त्यसै गरी विदेश लैजाने भन्दै एजेन्टले अलपत्र पारी विमानस्थलमा कयौं रात काटेका युवाहरु, विदेश गएपनि भनेको रोजगारी नपाएर फर्कनुपरेको अवस्था र तीनका गुनासा पनि उत्तिकै मर्मस्पर्शी छन् ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले नेपालमा स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्नको लागि १० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था सरकारले मिलाइदिए पनि विदेश गएकाहरुको सुरक्षा सम्बन्धी कुनै नीति ल्याएको पाइदैन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठग्गिएका उजुरी वैदेशिक रोजगारीको लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र, कास्कीमा दिनहूँ आउने गर्छ ।

विदेशिने कति नेपाली ठगिन्छन् भन्ने यकिन तथ्यांक कसैसँग नभए पनि वैदेशिक रोजगार विभागको मासिक तथ्यांक अनुसार करोडौंको ठगि हुने गरेको छ । नेपाली कामदारलाई विदेश पठाउन लाइसेन्स होल्डर वैदेशिक रोजगार कम्पनी, एजेन्ट, कन्सल्टेन्सी लगायत अन्य विभिन्न व्यक्तिगत माध्यमबाट ठगी हुने गरेको पीडितले दिएको निवदेनबाट प्रस्ट हुन्छ ।

यसका प्रशस्त निवदेनहरु सूचना तथा परामर्श केन्द्र कास्कीमा छन् :

१)

मादी गाउँपालिका–६ भाचोकका कुमार गुरुङ कतार जाने भन्दै तारा थापालाई एक लाख रुपैयाँ आइएमी गर्दिए । तर पैसा बुझाएको लामो समय हुँदा पनि २२ वर्षीय गुरुङ विदेश जान अझै सकिरहेका छैनन् ।

कतारको पानी जहाजमा काम गर्नको लागि थापालाई उनले पैसा बुझाएका थिए । विदेश जान नपाएपछि उनले पैसा र पासवर्ड फिर्ता गराइदिनको लागि वैदेशिक रोजगारीको लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र, कास्कीमा निवदेन दिए ।

सोही निवदेनको आधारमा जेठ ६ गते उनले ५० हजार रुपैयाँ मात्र फिर्ता पाएको र बाँकी रकम नपाएको उनको निवदेनमा उल्लेख छ ।

२)

देशमा उत्तिसाह्रो गरिखाने अवस्था नदेखेपछि वर्ष २१ का राजेश राई वैदेशिक रोजगारको लागि सिंगापुर जाने निधो गरे । सोहीअनुसार उनले सिंगापुर लैजाने एजेन्ट संगीता गुरुङलाई ११ लाख २१ हजार रुपैयाँ बैंक मार्फत बुझाए ।

राई तोकिएकै समयमा मलेसियाहुँदै सिंगापुर त गए तर भनेजस्तो काम पाएनन् । सिंगापुर पुगेको एक महिनामै फर्किन बाध्य भए । सिंगापुरबाट मलेसियामा फर्केर कष्टकर जीवन विताई नेपाल फर्केन पुगे । मलेसिया रहेकी एजेन्ट संगीता गुरुङलाई नेपाल झिकाई दिएको पैसा फिर्ता गराई कारबाही गर्नको लागि माग राखेका छन् ।

३)

प्रहरी हवल्दारबाट रिटाएर भएका पोखरा लेखनाथ महानगर–२२ का डिल्लीराज बराल अवकास जीवन यत्तिकै बस्नुभन्दा विदेश गएर पैसा कमाउने सोंच बनाए ।

आफूलाई सुहाउँदो सेकुरेटी गार्डको लागि कतार जाने निर्णय गरे । कतारको सेकुरेटी गार्डको लागि मासिक तलब १६०० रियल पाउने आसमा पुकार मेनपावरका सञ्चालक साथै बैदेशिक रोजगार संघ कास्कीका अध्यक्ष खेमराज बरालमार्फत १ लाख ४० हजार रुपैयाँ तिर्न राजी भए ।

तरपछि त्यसविषयमा उनले बुझ्दै गर्दा आफूलाई ठग्न लागेको भन्नी लागेर पासपोर्ट फिर्ता गराउन अनुरोध गरे । सूचना केन्द्रबाट फोन गरेपछि निज खेमराज बरालले पासपोर्ट फिर्ता दिए ।

ठगिएका केसहरु वैदेशिक रोजगारीको लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र, कास्कीमा यो वर्ष ५५ वटा आए । त्यसमा सामीले २० वटामात्र केसमा क्षतिपूर्ति दिलाउन सफल भएको छ ।

वैदेशिक रोजगारीमा जानेको लागि पासपोर्ट होल्ड गर्दिने, ठग्ने जस्ता समस्यामा न्यायको पहुँच लागू हुने परियोजनाको परामर्शकर्ता जुना केसी बताउँछिन् । ठूलादेशमा जानेभन्दा पनि यो वर्ष खाडीमूलुकमा जानेहरु बढी ठगिने गरेको उनको भनाई छ । ‘म्यानपावरभन्दा पनि व्यक्तिगत रुपमा जानेहरु बढी ठगिन पुगे,’ उनले भनिन, ‘सानो रकममा विदेश गएर ठूलो आम्दानी गर्छु भनेर बुझ्दै नबुझ्नेहरु नै ठगिने हुन् ।’

उनका अनुसार यो आर्थिक वर्ष ३८ वटा ठगीको केसमा ९ जनालाई मिलाउन सफल, क्षतिपूर्तिमा आएका ७ वटा केसमध्ये ४ वटा सफल भए । यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएर मृत्यु भएको केस २ वटा परेको केसीले बताइन् । ‘मृत्यु भएको व्यक्तिलाई स्वदेश ल्याउन बाँकी नै छ,’ उनले भनिन् ।

परियोजनामा यो एक वर्षमा विदेशमा अलपत्र/अप्ठ्यारो परेको भन्दै निवेदन ७ वटा आए । जसमा ४ पुरुष र एक महिलाको उद्धार गरिएको छ । मेडिकल फेल भएर फर्किएर आएका एक जनाको पैसा फिर्ता र अर्को एकजनाको पासपोर्ट फिर्ता गराइसकेको केसीले जानकारी दिइन् ।

केसीका अनुसार वैदेशिक रोजगारमा मृत्यु भएको क्षतिपूर्ति स्वरुप कास्कीमा ५४ लाख ५० हजार रुपैयाँ परियोजनामार्फत दिलाउन सफल भएको छ ।

ठगिको केसमा २ लाख ७१ हजार रुपैयाँ फिर्ता गर्न सफल भएको केसी बताउँछिन् । ‘विदेशमा मृत्यु हुनेले त्यसको अवस्था हेरेर क्षतिपूर्ति पाएका छन्,’ उनले भनिन, ‘बिमा गर्ने रकमको आधारमा श्रम अवधि भित्र मृत्यु भएकोले मात्र पाउने व्यवस्था छ ।’ बिमाबाट दर्ता भएको १० लाख, प्रवद्र्धन बोर्डबाट ७ लाख र अरु मृत्यु हुने व्यक्तिको अवस्था हेरी किरिया खर्च एक/दुई लाख थप गरि पाउने व्यवस्था रहेको केसीले जानकारी दिइन् ।

केसीले विदेशमा जानुअघि सीप सिक्न अत्यान्त आवश्यक भएको बताउँछिन् । उनका अनुसार यो वर्ष सीप सिक्नेहरु परियोजनामा निरन्तर रुपमा आइरहेका छन् ।

‘सीप अन्तर्गत ड्राइभिङ, स्कापफोल्डिङ, कार्रपेन्टर, होटल तालिम पर्छन्,’ उनले भनिन्, ‘विदेश गएकोले अर्कोलाई सुझाव दिने हुँदा सीप सिक्ने क्रम बढ्दो छ ।’ कास्कीमा पनि तालिमको व्यवस्था नरहे पनि काठमाडौंमा सामी परियोजना अन्तर्गत थुप्रैले विभिन्न सीप सिकिरहेको उनले बताइन् । सिप सिकेकाहरुले सिटीइविटीबाट मान्यताप्राप्त सर्टिफिकेट पाउने व्यवस्था समेत रहेको उनले सुनाइन् ।

सामी परियोजनाले वैदेशिक रोजगारीमा जानेहरुमा परामर्शको रुपमा सूचनाको बृद्धि गर्ने, न्यायको पहुँच बढाउने र सीपको पहुँच अभिबृद्धि गर्ने गरेको छ । काठमाडौं र कास्कीको पोखरा सहित देशभरका १९ जिल्लामा यो परियोजना मार्फत सुरक्षित बैदेशिक रोजगारीको लागि सचेतना गरिदै आएको छ ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्ण रुपमा अशक्त भएका कामदारका बालबालिकालाई वैदेशिक रोजगार प्रवर्ध्दन बोर्डबाट छात्रवृत्तिको सुविधा प्राप्त हुने गरेको छ ।

यसको लागि श्रम स्वीकृतिको निस्साको प्रतिलिपी (कामदारको), नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (निवेदकको सँरक्षकको), वैदेशिक रोजगारमा गई सोही क्रममा मृत्यु भएका कामदारको मृत्यु दर्ताको प्रमाणपत्र, वैदेशिक रोजगारमा गई सोही क्रममा अशक्त भएका कामदारको पूर्ण रुपमा अशक्तता भएको खुल्ने प्रमाणपत्र, मृत्यु भएका वा पूर्ण रुपमा अशक्त भएका कामदारको पासपोर्टको प्रतिलिपि, नाता प्रमाणपत्रको प्रतिलिपि (निवेदकको र कामदारको, वैदेशिक रोजगार प्रवर्ध्दन वोर्डबाट आर्थिक सहायता लिएको प्रमाण, सम्वन्धित स्थानीय निकाय र विद्यालयको सिफारिस गर्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगार छात्रवृत्ति आधारभूत तह (शिशुकक्षा वा नर्सरी देखि कक्षा ८ सम्म) को लागि ८ हजार रुपैयाँ र माध्यमिक तह (कक्षा ९ देखि १२ सम्म) का लागि १० हजार रुपैयाँ पाउँछन् ।

एक विद्यार्थीलाई एउटा कक्षामा एक पटकका लागि मात्र वार्षिक रुपमा एक मुष्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइन्छ ।

गत वर्ष कास्कीमा सामी परियोजना अन्तर्गत १७ जना बालबालिकाले छात्रवृत्ति पाए भने यो पटक ५० जनाको नाम बोर्डमा पठाएको संयोजक माया गुरुङ बताउँछिन् । ‘गत वर्षको तुलनामा छात्रवृत्ति लिने र पाउँने रकम पनि बढेको छ,’ उनले भनिन, ‘छात्रवृत्तिसम्बन्धी जानकारी स्कुलमा पठाएका थियौं सोही अनुसार वालवालिकाहरु सम्पर्क गर्न थाले ।’ केन्द्रमा बोर्डले ५–७ वर्षपहिलेदेखिबाट नै छात्रवृत्ति दिँदै आएपनि कास्कीमा भने सामी परियोजना आएसँगै सुरु गरिएको गुरुङले बताइन् ।

सहरमा बढी ठगि

वैदेशिक रोजगारीको लागि ठगिनेमा सबभन्दा बढी सहरमा मानिस रहेको सामी परियोजना संयोजक माया गुरुङले बताउँछिन् । ‘गाउँघरका सेवाग्राहीहरु सचेत भएका छन् ।

वैदेशिक रोजगारको भिसा आउँदा चेकजाँच गर्दिनुप¥यो भन्दै आउँछन्,’ गुरुङ भन्छिन्, ‘सहरमा ओभरकन्फिडेन्टले गर्दा बढी ठगिन पुगेका छन् ।’ सामी परियोजना कास्कीमा आएसँगै पहिल्यको तुलनामा वैदेशिक रोजगारीमा जानेको समस्याहरु घट्दै गएको उनले सुनाइन् । ‘तर, पनि यहाँ व्यक्तिगत ठगिका केसहरु एकदम बढी आउँछन्,’ उनले सुनाइन्, ‘खाडी मुलुक व्यक्तिगत रुपमा जाने ठगिएका छन् । ठूलाठूला देश जानेहरु पनि बढी ठगिने क्रम घटेको छैन ।’

यस्तो केसहरुलाई न्याय दिलाउन अत्यान्त गाह्रो हुने उनको भनाइ छ । ‘कन्सल्टेन्सीको भन्दा व्यक्तिले ठगेको केस बढी आउँछ,’ उनले भनिन, ‘अनुमगन गर्ने निकाय नहुँदा पनि समस्या हुने गरेको छ । मेनपावरका शाखा भनेर बोर्ड झुन्डाएपनि कतिपय अनाधिकृत छन् ।’

यस्तो समस्या परिवारको मात्र होइन्, यसमा सामाजिक, आर्थिक समस्या पनि उत्तिकै मात्रामा रहेको उल्लेख गरिन् ।

सही सूचना र सीप सिकेर जाऔं

माया गुरुङ
संयोजक, सूचना तथा परामर्श केन्द्र , सामी परियोजना

‘सकेसम्म स्वदेशमा नै रोजगार गरौ, विदेश जाने नै भए सहि सूचना र सिप सिकेर जाऔ” भन्ने नारालाई आत्मसात गर्नुपर्छ ।

वैदेशिक रोजगारमा जान चाहनेहरुलाई अनुरोध के छ भने अरुको लहैलहैमा अनाधिकृत एजेन्ट, व्यक्तिहरुको भर परेर वैदेशिक रोजगारमा नजाऔं ।

विदेश जानु नै छ भने वैदशिक रोजगार विभागबाट इजाजतपत्रवाला (म्यानपावर कम्पनी) को माध्यमबाट जानु राम्रो हुन्छ । बैदेशिक रोजगारका लागि कुनै पनि प्रकारको लेनदेन गर्दा अनिवार्य रुपमा भरपाई लिने गरौ ।

स्थानीयस्तरमा भएका सुरक्षित वैदेशिक रोजगारबारे सही सूचना वा परामर्श दिने कुनै पनि संस्थामा सम्पर्क गरौ र सहि सूचना हासिल गरी विदेश जाँदा आफूलाई सहज हुनेछ ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएको सुनिन्छ । त्यसमा एउटा महत्वपूर्ण कारण छ ‘अदक्षता ।’ विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन भने सोच्नुपर्छ ।

रोजगारीका लागि कुन देश र कुन काममा जाने भने निर्णय जाने व्यक्तिले लिने हो । त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घण्टा, ओभरटाइम काम भत्ता ? करार अवधि लगायतका बारेमा राम्ररी जानकारी लिएको खण्डमा बाधाअड्चना आउनेछैन् ।

म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र, कति लागतमा पठाउने भन्ने एकीन गरेर मात्र सक्कल पासपोर्ट बुझाउनुपर्छ ।

विदेश जानुअघि अभिमुखीकरण तालिम पनि लिनु आवश्यक छ । यसले विदेशमा पर्ने समस्याहरुसँग जुध्न सहज गराउँछ । अनिवार्य रुपमा अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी लिनुपर्छ ।

अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी हुन्छ ।

आफूले कमाएको पैसा वैधानिक रुपमा नेपाल पठाउने विधिबारे पनि जानकारी लिनुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.