www.tandavnews.com
Fact ~ In search of truth

राशि अनुसार यो साताको भाग्य हेर्नुहोस्

मेष :
प्रारम्भमा अवसरका लागि केही दौडधुप गर्नु परे पनि चाँडै लाभ उठाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनाले हर्ष बढ्नेछ। तर हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। बुद्धिले काम लिने प्रयत्न गर्नुहोला। बुधवारदेखि रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ।

बृष :
जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनेछ र विभिन्न अवसरले पछ्याउनेछन्। नयाँ काम प्रारम्भ गर्न सफल भइनेछ। अध्ययनमा प्रगति हुनेछ भने जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। सप्ताहान्तमा शत्रुहरूसमेत नजिकिन सक्छन्।

मिथुन :
बोलीको प्रभाव बढ्नुका साथै पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बुधवारपछि पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुनेछ।

Batas

कर्कट :
विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। सोमवार र मंगलवार भने वादविवादबाट अलि सावधान रहनुहोला। मित्रहरूको सहयोग जुट्नाले महत्त्वपूर्ण काम बन्नेछ। शुभचिन्तकहरूको सञ्जाल फराकिलो हुनुका साथै बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सप्ताहान्तमा पनि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्नेछ।

सिंह :
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। तापनि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। मंगलवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। चिताएका काम बन्नाले नाम र दाम प्राप्त हुनेछ।

कन्या :
प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। सोमवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। सोख पूरा गर्नलाई पनि खर्च बढ्नेछ। तापनि सुरुको लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। स्वास्थ्यमा मौसमी गडबडीले सताउने हुँदा खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

तुला :
अवसर प्राप्त भए पनि सुरुमा अपेक्षाकृत फाइदा नउठ्न सक्छ। परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। तापनि मिहिनेत गर्दा प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता दिलाउनेछ। सोमवार र मंगलवार आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने कामको अवसर जुट्नेछ। बुधवारदेखि अनियन्त्रित खर्च हुनाले परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ। रकम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नुका साथै सुखद समाचार पनि प्राप्त हुनेछ।

बृश्चिक :
प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउन सक्छ। तापनि मिहिनेतले प्रशस्त दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा आम्दानी घट्नेछ भने खर्च बढ्ने र परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुने देखिन्छ।

धनु :
प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र बिस्तारै काम सफल हुनेछ। सोमवारदेखि केही चुनौती देखिए पनि धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरुआत होला। सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा सुधार आउनेछ।

मकर :
प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। सोमवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बुधवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।

कुम्भ :
प्रारम्भमा केही उल्झन देखिए पनि हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले बुधवारसम्म रमाइलाे हुनेछ। तर बिहीवार र शुक्रवार परिस्थिति कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। परिबन्धले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, गोपनीयतामा ध्यान दिनुहोला।

मीन :
प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.