www.tandavnews.com
Fact ~ In search of truth

ओलीकाे बाेली : सुशासनको नयाँ इतिहास रचना गर्छु

काठमाडौँ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् ।

“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उनले भने “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।”

Batas

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने ।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैन, यसमा सरकार सचेत छ भने ।

“जीवनभर लोकातन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?” उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए ।

युवालाई प्रोत्साहन र पाकालाई सम्मान सरकारले गर्ने चर्चा गर्दै उनले विसं २०५१ मा आफू मन्त्री हुँदा शुरु भएको स्रष्टा सम्मान कार्यलाई विस्तारसमेत गरिएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले कला, साहित्य, भाषाले देशको समृद्धिलाई सहयोग गर्ने चर्चा गर्दै भाषा, संस्कृति, कला देशका ऐना हुन् भने ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गर्ने ध्येय मन्त्रालयको छ भने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले पुरस्कारका लागि स्रष्टा चयन गर्दा मापदण्ड बनेको जानकारी दिए।

भगत सर्वजित प्रतिष्ठानका अध्यक्ष छविलाल विश्वकर्माले ओझेलमा परेका स्रष्टालाई बाहिर ल्याई सम्मान गर्ने परम्पराले स्रष्टाका आत्मविश्वास बढेको बताए।

सम्मानित व्यक्तित्व विनय कसजुले स्रष्टा सम्मानले कला र साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

madi
machhapuchre

विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण

सो अवसरमा प्रधानमन्त्री ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई अर्पण गरे ।

कार्यक्रममा विसं २०७४ को राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका पाँच स्रष्टालाई अर्पण गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा संस्कृति विधामा प्रा डा रञ्जना बज्राचार्य (काठमाडौँ), संगीत तथा नाट्य विधामा प्रचण्ड मल्ल (काठमाडाँै), ललितकला विधामा ठाकुरप्रसाद मैनाली (काठमाडाँै) र भाषा तथा साहित्य विधामा प्रा डा केशवप्रसाद उपाध्याय छन् ।

सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी सोही वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कारबाट पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरियो ।

यसरी पुरस्कृत हुनुहुनेमा कविता विधामा कञ्चन पुडासैनी(काठमाडौँ), निबन्ध विधामा तेजराज खतिवडा (झापा), बाल साहित्य विनय कसजु (पाल्पा), भाषा साहित्यमा महेश्वरराय जलेश्वर र आख्यान विधामा अभि सुवेदी (तेह्रथुम) हुनुहुन्छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी मन्त्रालयले यस वर्षदेखि शुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटक विधामा नरेश शाक्य (सुनसरी) र प्रा डा मोहनहिमांशु थापा (काठमाडौँ)लाई अर्पण गरिएको छ । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

यसैगरी कार्यक्रममा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दलित मुक्ति आन्दोलन क्षेत्रबाट पदमलाल विश्वकर्मा (इलाम), समाज सुधार अभियान क्षेत्रबाट दलवीर विश्वकर्मा(काठमाडौँ) र लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रबाट राजेन्द्रकुमार महर्जन(काठमाडौँ) लाई अर्पण गरिएको थियो । सो पुरस्कारको राशि रु एक लाखसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा विभिन्न चार विधाका प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न स्रष्टालाई सम्मानित गरिएको छ ।

यो पुरस्कार पाउनुहुनेमा सस्कृति विधातर्फ प्रदेश १ बाट प्राडा गोविन्दमान सिंह कार्की (भोजपुर), प्रदेश नं २ बाट डा पशुपतिनाथ झा (महोत्तरी), प्रदेश नं ३ बाट उद्धवप्रसाद भट्टराई (काभ्रेपलाञ्चोक), प्रदेश ४ बाट डा दीनबहादुर थापा (बाग्लुङ), प्रदेश ५ बाट प्रतिभा पुन ( रुपन्देही), प्रदेश ६ बाट रमानन्द आचार्य (जुम्ला) र प्रदेश ७ बाट मणिराज जोशी (कैलाली) छन् ।

यसैगरी संगीत तथा नाट्य विधातर्फ प्रदेश १ बाट नारायण ओली (झापा), प्रदेश २ बाट प्रियका झा (धनुषा), प्रदेश ३ बाट सुनिता दुलाल (भक्तपुर), प्रदेश ४ बाट इतु जोजिजु (कास्की), प्रदेश ५ बाट सरस्वती चौधरी, प्रदेश ६ खर्कबहादुर बुढा र प्रदेश ७ बाट सुधादेवी चाड छन् ।

त्यस्तै, ललितकलातर्फ प्रदेश १ बाट गोपालप्रसाद कलाप्रेमी (मोरङ), प्रदेश २ बाट सीतादेवी कर्ण (धनुषा), प्रदेश ३ बाट सौरगंगादर्शनधारी (काठमाडौँ), प्रदेश ४ बाट सुनील सिग्देल (कास्की), प्रदेश ५ बाट नरेन्द्रप्रसाद भण्डारी (गुल्मी) प्रदेश ६ बाट झिग्मे तामाङ (मुगु) र प्रदेश ७ बाट दीपक आउजी (कैलाली) छन्।

यसैगरी भाषा तथा साहित्य विधातर्फ प्रदेश १ बाट प्रा डा भोलानाथ पोखरेल (सुनसरी), प्रदेश २ बाट विनिता ठाकुर (धनुषा), प्रदेश ३ बाट नरेन्द्रराज पौडेल (सिन्धुपाल्चोक), प्रदेश ४ बाट महेश्वर शर्मा (स्याङ्जा), प्रदेश ५ डा दुवीन्द ढकाल (गुल्मी), प्रदेश ६ बाट बलभद्र भारती (सुर्खेत) र प्रदेश ७ बाट चन्द्रदेव जोशी (दार्चुला) छन् ।

उक्त पुरस्कारको राशि रु ५० हजारसहित सम्मानपत्र रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.