www.tandavnews.com
Fact ~ In search of truth

‘कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो’

चितवन (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन् ।

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भने ।

Batas

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले भने , “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उनले बताए । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

अर्को एक प्रसंगमा उनले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु¥याउने अध्यक्ष दाहालले बताए । उनले खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उहाँहरुको सम्मानमा कहिल्यै नचुक्ने बताए ।

सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उनलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई रु पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई रु १५ हजार नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष दाहालले सम्मान गरेका हुन् ।

शारदा स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, प्रदेशसभा सांसद कृष्ण खनाल, लेखक इन्द्र रेग्मीलगायतले बोलेका थिए।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.