
माधब भुसाल
पोखरा, ताण्डव न्यूज।
न्यूरोडमा रोड मेन्टिनेन्स सर्फेस ड्रेसिङको जिम्मा पाएको विराट एन्ड विशाल सिमरन जेभी कम्पनीको ठेक्का यती वेला विल पास गर्न काठमाडौ धाएको कुरा बाहिर आएको छ । यहाँ कामको जिम्मा विशाल सिमरन जेभी कम्पनीका संचालक बलबहादुर राना (महतगाैँडे कान्छा) र पोखरा महानगरपलिका–९ का सदस्य सुरेस खवासले लिएका थिए ।
समयमा सम्पन्न गर्न नसकेको र गुणस्तरहिन काम गरेको भन्दै महानगरले ठेक्का रद्ध गरेपछि विल पास गर्न कम्पनी काठमाडौ धाएको महानगरपलिका स्रोतले बताएको छ ।

‘त्यति वेला काम राम्रो गरेनन र महानगरपालिकाले सम्झौता रद्ध गरिदियो,’ स्रोतले भन्यो, ‘अहिले तत्कालिन महानगरपालिकाका कार्यकारी अघिकृत दिर्घनारायाण पौडेललाई काठमाडौ भेटेर सेटिङ मिलाउने प्रयास भएको छ । पुरानो मितिमा हस्ताक्षर गरेर विल पास गर्ने चलखेल हुदै छ ।’
विशाल सिमरन जेभी कम्पनीका संचालक बलबहादुर रानाले विल पासका लागि सेटिङ मिलाउने प्रयास गरेको स्वीकारेनन् ।
उनले भने ‘महानगरले नयाँ तरिकाले ड्रेसिङ गर्ने जनाएको छ । नयाँ ठेक्का लगाउने तयारी गरेको छ । न्यूरोडको विल पास नहुने हामीले जानकारी पाइसकेका छौं । यसका लागि कतै केहि धाएका छैनौं ।’
विटुमिन माथी गिट्टी छरेर गरिने सर्फेस ड्रेसिङ गुणस्तरहिन भएको मेयर मानबहादुर जिसीले बताए । ‘मिति पटक–पटक थपियो तर चित्त बुझ्दो काम पाइन,’ उनले भने, ‘त्यसैले सम्झौता रद्ध गरियो । बिल पनि पास कुनै हालतमा हुँदैन ।’
०७३ साउन १३ गते विराट एन्ड विशाल सिमरन जेभी कम्पनीलाई महानगरपालिकाले रोड मेन्टिनेन्स सर्फेस ड्रेसिङका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झैता अनुसार चैत मसान्तभित्रै सक्नुपर्ने काम ०७४ भदौमा सुरु भएको थियो ।
०७३को चैतमा दसैंसम्मको लागि सम्झौता थप गरेर ०७४ भदौमा काम सुरु भएको थियो । महानगरपालिकाले न्युरोड, सिद्धार्थचोकदेखि महेन्द्रपुल, रानीपौजादेखि काहुँ खोलासम्मको केही भाग गरी १९ हजार ३ सय २० वर्गमिटर सडकको काम गर्न महानगरपालिकाबाट करिब ९० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.