www.tandavnews.com
Fact ~ In search of truth

चर्चा, चासो र मान्छे

केही दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सँग सम्बन्धित एउटा फुटेज निकै भाइरल भयो ।

लामो अन्तर्वार्ताबाट तीन मिनेट तानिएको त्यो भिडियो हेरेपछि शुभचिन्तक तथा नेपालीले माननीय मन्त्रीका बारेमा देशभर क्रिया प्रतिक्रिया तथा टिका टिप्पणी ओइरिए । गृहनगर भएकोले होला अन्तभन्दा अली बढी मन्त्रीले यसो गर्नु हुँदैनथ्यो, मन्त्री भएर सहेको भए हुने यस्तै यस्तै प्रतिक्रिया सुनिए पोखरामा ।

केही वर्ष पहिले तत्कालिन प्रधानमन्त्री स्वर्गीय शुशिल कोईरालाले फुटबल खेलेको तस्विर सामाजिक सञ्जालमा भाईरल बनायौँ, ७० कटेपछिको जवानी.. आदी इत्यादी क्याप्सन दिएर ।

Batas

तीज आउनुपर्छ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई तिलहरी र सारी पहि¥याई दिन्छौँ । कहिले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बोलीको बारेमा टिप्पणी, कहिले सम्माननीय राष्ट्रपतिको सारिका बारेमा टिप्पणी ।

उसो त अचेल मार्सी चामल र पानीजहाजका किस्सा टाइमलाइनमा देखिएन भने सामाजिक सञ्जाल नै खल्लो खल्लो लाग्छ । उहाँहरू तपाई हाम्रै मतले जिताएका प्रतिनिधि हैन र ? तपाईकै मतले हिजो सिट जिते नेतृत्वमा गए, उनीहरू आज हाम्रा लागि पचेनन् । कहिले कांग्रेस पच्दैन, उहिले माओवादी र एमाले पच्दैनथ्यो अचेल नेकपा पच्दैन ।

अभिव्यक्ति स्वतन्त्रता पनि चाहिन्छ तर कहिले कसो हामीलाई अभिव्यक्त गर्ने स्वतन्त्रता अलि बेसी भएझैँ लाग्दैन र ? हरेक विषयको गलत अर्थ, हरेक सत्तालाई दोष मात्रै लगाउने हो भने हामी अर्को पुस्ताका लागि ओठे जवाफ मात्रै सिकाइरहेका हुन्छौँ । आखिर आवश्यक भएरै संविधानले पनि त मौलिक हकमै नागरिकका कर्तव्य जोडेको छ ।

एउटै व्यक्ति विभिन्न माग राख्दै पटक पटक अनसन बस्यो, प्रतिपक्षीले सधै उहाँको मुद्दालाई आफ्नो ठान्ने तर सत्तामा पुगेपछि त्यो मुद्दा फेरी प्रतिपक्षीको बन्ने देश हो यो । कहिले मन्त्रीले उच्चारण गरेको अंग्रेजीको बारेमा टिप्पणी, कहिले । यो देशमा कुन त्यस्तो व्यक्ति होला ? जसले टिका टिप्पणी नसुनेको होस् ।

यि भए राष्ट्र हाँक्ने ओहोदामा भएका व्यक्तिसँग जोडिएका विषय । अब व्यक्तिगत विषयलाई पनि जोडौँ न । तपाई हामी पनि त्यस्तै व्यक्तिले घेरिएका हुन्छौँ जसको प्रतिनिधित्व सल्लाह सुझाव भन्दा बढी टिप्पणीमा हुन्छ । केही मित्र, कुनै सहकर्मी, कोही आफन्तजन नै पनि जोडिन्छन् यस अन्र्तगत । जानी नजानी तपाई हामी नै पनि त जोडिन्छौँ होला नि कहिले कसो त हैन र ? नौलो विषय सबैलाई सुन्न मन लाग्छ, सायद यो मानवीय गुण नै हो । केही बिग्रिन लागेको विषय छ भने सुझाव दिन आईपुग्छन् ।

केही व्यक्ति काम बिग्रिएपछि टिप्पणी गर्न आईपुग्छन् । खैर जेहोस् सकारात्मक वा नकारात्मक जे भए पनि तपाई हाम्रा हरेक कदममा उनीहरूको प्रतिनिधित्व भने अवश्य हुन्छ । वास्तै नगरौँ भन्दा हामीलाई पनि प्रभावित बनाउँछ बेलाबेला । समस्यामा बिर्सने अवसरमा सम्झने आफ्नालाई भुलेको नै बेस हैन र ?

एक व्यक्तिको व्यक्तिगत जिन्दगी, उसको असफलता सधै अर्को व्यक्तिका लागि चिन्ता भन्दा बढी चासोको विषय हो । कसैको बानी भने सूचना अधिकारी झैँ गरी एक अर्काको अपडेट लिईरहने तथा सूचना प्रवाह गरिरहने पनि हुन्छ । सल्लाह र आवश्यकतामा ति व्यक्ति हाम्रा अघि कहिल्यै उभिँदैनन् तर खुट्टा कमजोर बनाउने खेलमा अग्रभागमा तिनै । यस्तै प्रवृत्तिले घेरियौँ भने के गर्ने ? म आफँैलाई आईप¥यो भने सुझाव माग्छु, अनि मेरी साथीले यस्तो सुझाव दिन्छिन् ।

बेलाबेला : ‘मोबाइलमा ईयरफोन खाँदेर कुछ तो लोग कहेंगे लोगोँका काम है कहेना फुल साउन्डमा सुन्ने, अनि ‘ईग्नोर गर्ने’ । ईग्नोर अथवा वास्ता नगर्नुको विकल्प छैन । किनकी एउटै विषय बजारमा सधै बिक्दैन नत सुन्ने श्रोतालाई पनि चाख रहिरहन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.