आजभोलि हरेक युवाको सपना हुन्छ , विदेश । प्लस टु सक्ना साथ कन्सल्टेन्सिमा शैक्षिक प्रमाण–पत्र लिएर धाउनेको सङ्ख्या बाक्लो छ । विदेशमा डिग्री हासिल गरेर उतै उद्यम गर्ने आजका युवा विद्यार्थीको सपना हो ।
युवाहरु भविष्यका कर्णधार हुन् । उनीहरुको मिहेनत र उत्साहले समाज अनि देशलाई शक्ति प्रदान गर्छ । तर नेपाली श्रम बजारमा वर्षेनी थपिने ५ लाख युवाको गन्तव्य वैदेशिक रोजगार बन्न पुगेको स्थिति छ । रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको छ भने अर्कातर्फ देशमा युवाशक्ति नहुँदा समस्या थपिँदै छ ।
उच्च शिक्षा, सीप र जाँगर भए काम खोज्न विदेश भौंतारिनु पर्दैन, स्वदेशमै उद्यमका थुप्रै सम्भावना छन् । राज्य स्तरबाट युवा लक्षित कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । युवाहरु सिप र ज्ञानको अभावका कारण स्वदेशमा काम गर्न सकिरहेका छैनन् । सिप र क्षमताको विकास गर्न सके स्वदेशमै गरि खाने प्रशस्त अवसर भेटिन्छन् ।
नेपालमै रहेर उद्यम गर्ने शिक्षित युवाहरुको सङ्ख्या पनि नभएको हैन । यद्यपि सङ्ख्यात्मक रुपमा कम छन् । राज्य स्तरबाट युवाहरूको उद्यमशीलता विकास गर्दै उत्पादनसँग जोड्न युवा स्वरोजगार कार्यक्रमलाई विस्तार गरिएको छ । युुवालाई सहुलियतपूर्ण कृषि कर्जाको व्यवस्था , शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्मका योजना छन् । यस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयन नहुदाँ स्वदेशमै उद्यम गर्न चाहने युवाहरुले अवसर पाउन सकिरहेका छैनन् ।
दुःख गर्न विदेसिनु पर्दैन, नेपालमै काम गर्न लजाउने प्रवृत्ति पनि उत्तिकै छ । आफ्नै ठाउँमा श्रम गर्न लजाउँछौं । यसका पछाडि कामको सम्मान नहुनु प्रमुख कारण हो । अन्य ठाउँको जस्तो पोखराका युवा पुस्तामा विदेशीने सपना नभएको होइन् । चाहे त्यो वैदेशिक शिक्षा होस् या वैदेशिक रोजगार किन नहोस् । विदेशिने सपना देखेका युवा पुस्ताको पहिलो रोजाई भनेको अमेरिका, अस्टे«लिया, क्यानडा, बेलायत लगायत युरोपियन मुलक पर्छन् । त्यसपछि केही जापान, कोरिया अनि दुबई, कतार लगायत ।
यी देशमा जानको लागि अर्थ, शिक्षा र क्षमताले ठूलो भूमिका खेल्छ । यी सबै कुराले भरिपूर्ण केही युवाहरु पनि पोखरामा छन् जो आफ्नै देशलाई अमेरिका भन्दा कम सोच्दैनन् ।
तत्कालै नतिजा खोज्नु भन्दा निरन्तरको प्रयासले सफलता मिल्छ
महेश्वर सिहं भण्डारी सञ्चालक क्लाउड नाइन
विदेशी डिग्री लिने र नेपालमा उद्यम गर्न अनुकूल वातावरण छैन भन्नेहरूका लागि उदाहरण हुन् , पोखराका महेश्वर सिंह भण्डारी ।
केही वर्ष अघि पोखरामा चल्ने गरेका बसभित्र टिभि जडान गरेर विज्ञापनको नयाँ काम सुरुवात गरेको उनको टिम स्पेकस फोर्टिन अहिले काठमाडौं केन्द्रित छ ।
पोखरामा अझै पनि व्यापारिक सोचाइ छैन , त्यसबेला नौलो प्रयास ग¥यौ करिब ३४ वटा बसमा राखियो तर विज्ञापन पोखराबाट पाउन सकिएन पछि गाडी थपिए त्यसलाई अगाडि बढाउन सकिएन , उनले भने । उनको टिममा भएका केही साथीहरु विदेशिएका छन् तर उनी विदेश जाने सोचमा छैनन् ।
विदेश जाँदा हाइ रिर्टन छ ,नेपालमा त्यस्तो चाँहि छैन तर विदेश गएर यहाँको जस्तो सम्मान पाइँदैन , आफ्नै ठाउँमा केही गरौं भनेर लागिरहेको छु , उनले भने ।
सेलवेज टावरमा क्लाउड नाइन नामको रेस्टुरेन्टका सञ्चालक समेत रहेका उनी युवाहरुको जोश र जाँगरले परिर्वतन सम्भव रहेको बताउँछन् ।
युवाहरुले स्वउत्प्रेरित हुनु आवश्यक छ उनी भन्छन्ः युवाहरुलाई साथ र सहयोग गर्ने प्रचलन छैन ,गाह्रो छ तर तत्कालै नतिजा खोज्नु भन्दा निरन्तरको प्रयासले सफलता मिल्छ ।
काठमाडौंबाट व्याचलर अफ इन्सुरेन्स पढेर सकेका उनी विदेशमा जानु आर्थिक रुपमा सबल भएता पनि सन्तुष्टि मुख्य कुरा मान्छन् । विदेश जान्छु भन्ने हो भने हरेकले सहयोग गर्छन् तर व्यापार गर्छु भन्ने हो भने परिवारले नै लगानी गर्न हिच्किचाउँछन् , उनले भने । सरकारले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।
यसबाहेक उनी एडटाइजिङ् एजेन्सी , फिटनेस सेन्टर लगायतका क्षेत्रमा समेत संलग्न छन् ।
नयाँ भिजन सहित अगाडि बढ्यौँ भने पक्कै सफल भइन्छ
आग्रह अर्याल होटल क्राउन हिमालयज
पोखरामा करिब ३ वर्षदेखि पर्यटन व्यवसायमा संलग्न आग्रह अर्यालले कम उमेरकै कारण केही मात्रामा चुनौतिहरु सामाना गरेका छन् । तर उनी नयाँ र नौलो तरिकाको सोच राख्दै चुनौतिहरुलाई पार गर्दै अगाडि बढिरहेको बताउँछन् । २३ वर्षीय अर्यालको शिक्षासंगै अनुभवको पनि आवश्कता हुने तर्क गर्छन् ।
पोखराको लेकसाइडमा होटल क्राउन हिमालयजका म्यानेजिङ डाइरेक्टर रहेका उनी युवाहरु प्रतिस्पर्धात्मक भन्दा पनि सहयोगी भावबाट अगाडि बढ्न सकेमा उचित हुने तर्क गर्छन् । अनुभव भनेको काम र भोगाइबाट आफैले बटुल्ने कुरा हो । कसैले छिटो लिन्छन् कसैले ढिलो उनले भने ।
चितवनमा करिब ३०–३५ वर्ष अगाडिबाट पर्यटन होटल व्यवसायमा संलग्न हुदै आएको पारिवारिक पृष्ठभूमिलाई समात्दै आग्रह पोखरासम्म व्यवसायलाई फैलाइरहेका छन् ।
युवासंग सोच र जाँगर छ यो बाहेक सबैभन्दा महत्वपूर्ण कुरा हो सहयोग । सहयोग बिना अगाडि बढ्न सकिँदैन । युवा साेंच र जागरलाई समेटेर र पर्यटन व्यवसायमा लाग्नु भएका युवा व्यवासायीहरु मिलेर केही नयाँ भिजन सहित अगाडि बढ्यौँ भने पक्कै सफल भइन्छ , अर्यालले भने ।
श्रमको सम्मानँंगै समयको महत्व बुझ्न सक्नुपर्दछ
विजय रानाभाट सञ्चालक, होटल रानीमहल
करिब एक वर्ष अघिदेखि पोखराको डिहिकोपाटनमा होटल रानीमहल सञ्चालन गर्दै आइरहेका विजय रानाभाटको बेग्लै अनुभव छ । पढाइको शिलशिलामा पाल्पाबाट करिब १० वर्ष अघि पोखरा आएका रानाभाटले करिब २ वर्ष ट्राभल्स एण्ड टुरिजम व्यवसाय गरे । विदेशमा गइ पैसा कमाउने रहरले उनलाई खाडी मुलुक दुबई पुया¥यो । करिव २ वर्ष ५० डिग्रीको तातो घाममा आफ्नो पसिना बगाए ।
दुबईमा रहँदा उनलाई घरको खुब याद आउने गर्दथ्यो । विदेशमा ठूला मल , चिल्लो बाटोमा कुद्ने चिल्ला गाडी देख्थे , सोच्थे मेरो देश यस्तो कहिले बन्ने होला ? उनी सुनाउँछन् ।
देश विकासका लागि युवा आवश्यक छ , देशमा केही गर्नुपर्छ भनेर नेपाल फर्किए । अब मेरो लागि अमेरिका भने पनि , जापान भने पनि दुबई भने पनि यही , नेपाल हो , उनले भने ।
नजानिँदो भाषा संस्कृति, नयाँ ठाउँमा जे जस्तो सुविधा भएपनि आमाले बनाएको ढिँडो भन्दा मिठो अनि आफ्नै माटोको चिसो हावाको स्वादलाई पैसासँग तुलना गर्न नसकिने रैछ ,उनले अनुभव सुनाए ।
२५ वर्षीय रानाभाट होटल व्यवसायसँगै प्याराग्लाइडिङ पाइलट पनि हुन् । उनी अहिले प्रशिक्षणको क्रममा छन् ।
विदेशमा थुप्रै युवा दक्ष जनशक्तिले श्रम बेचिरहेका छन् , त्यो श्रम नेपालमै गर्ने हो भने देशले मुहार फेर्ने थियो , मात्रै हामीले श्रमको सम्मानसँगै समयको महत्व बुझ्न सक्नुपर्दछ , उनले भने ।
सरकारले युवाहरुलाई व्यवहारिक तालिम प्रदान गर्ने , लगानी मैत्री वातावरण बनाउने , युवा उद्यम प्रोत्सहानका लागि अनुदान दिने जस्ता कार्यक्रम ल्याउनसके विदेशीने युवाले देशमै पसिना बगाउने थिए , उनले भने ।
विदेशमा जस्तै दुःख र खटाई स्वदेशमा गर्न सके यही नै अमेरिका हो , यही नै जापान हो , फरक यत्ति हो यहाँ कामको सम्मान हुँदैन , ।
विदेश जाने सपनाका कारणले पढ्दा पढ्दै विदेशिएका उनले , नेपाल फर्केसंगै पढाइ र व्यवसाय सुरु गरे । एक सफल उद्यमी बन्न अर्थसँगै शैक्षिक ज्ञानको पनि उत्तिकै महत्व रहन्छ ,त्यो भन्दा महत्वपूर्ण भनेको अनुभव हो उनी भन्छन् ,अबको समय पर्यटन संगै कृषिलाई व्यावसायीककरण गरि युवालाई आर्कषित गराउने तर्फ सोच्नु पर्दछ ।
उनले गृह जिल्ला पाल्पामा व्यवासायिक कृषि फर्म समेत सञ्चालनमा ल्याउँदैछन् ।
कृषि प्रधान देशका युवाहरु आज कोरियामा कृषि श्रमिकको रुपमा काम गर्दै छन् ,हामी आजसम्म निर्वाहुमखी नै छौं ,अब विदेशमा सिकेको सिपलाई नेपालमै प्रयोग गरेर आधुनिक कृषि तर्फ युवाहरु अगाडि बढ्नु पर्दछ , उनले भने ।
‘व्यापारले आर्थिक पक्षलाई मात्रै नभई सम्बन्ध विस्तारको पनि काम गर्ने रहेछ’
वीरेन्द्र सुनार सञ्चालक, नव दलबहादुर सुन चाँदी पसल
करिब २५ वर्ष अघि देखि बाबुले सुरु गरेको सुनचाँदी व्यावसायलाई आधुनिक तरिकाले बढाउँदै छन् , वीरेन्द्र सुनार ।
करिब ३ वर्षदेखि पोखराको सिर्जनाचोकमा व्यवसाय गर्दै आएका २५ वर्षीय उनलाई विदेशिने रहर नभएको होइन । साथीहरुको लह लहैमा उनी म्यानपावरदेखि कन्सलटेन्सीसम्म पुगे । तर , उनले अन्तिममा नेपालमै रहेर पुर्खौ देखिको व्यापारलाई अगाडि बढाउने निधो गरे ।
‘साथीहरु जस्तै विदेश जाने रहर थियो कुनै बेला,लाग्थ्यो विदेशमा अर्थदेखि सबै कुराको समाधान छ’ उनी भन्छन्,‘बाबु आमाको काखमा बसी मिठो मसिनो खाए जस्तो विदेश हुदैन्थ्यो, सोचे अब विदेश होइन स्वदेशमै उद्यमी बन्नु पर्छ अहिले त्यो निर्णय सहि गरे भन्ने लाग्छ ’ ।
व्याचर अफ विजनेश स्टडी सकाएका उनी व्यवहारिक तथा जीवपयोगी शिक्षाको आवश्यकता रहेको बताउँछन् । ‘प्लस टु सकाए लगत्तै कन्सलटेन्सी धाउने युवा विद्यार्थीहरुको भिड बढ्दो छ,नेपालमै बसेर मास्टर्स सकाएको विद्यार्थी काम नपाएर बेरोजगार छ यो नै अहिलेको शैक्षिक प्रणालीको तितो यथार्थ हो’, उनले भने ।
सरकारले युवालाई स्वदेशमै उपयोग गर्ने नीति ल्याउनुपर्छ उनी भन्छन् व्यवासाय गर्न चाहनेहरुका लागि सरकारले लगानी सुरक्षित हुने आधार तयार गरिदिनु पर्छ ।
‘लगानी गरियो तर व्यावसायको सुरक्षा चुनौति त छँदै छ त्यो बाहेक माग अनुसारको कच्चा पदार्थ पाउनै कठिन छ’ व्यावसायको समस्या सुनाउँदै उनले भने ।
विदेशमा गएर पाउने दुःख हेर्दा नेपाल स्वर्ग हो , विदेश पुगेर श्रम गर्दा देश बन्दैन , हामी जस्ता युवाले व्यक्तिगत मात्रै नभई देशका बारेमा पनि सोच्नु पर्छ ।
व्यापारले अर्थमात्रै होइन सम्बन्ध पनि कमाइँदो रहेछ, जसले सामाजिक क्षेत्रमा पनि आफूलाई सहभागिता गराउने अवसर मिल्छ । योग प्रशिक्षण समेत गराउँदै आएका उनी पतञ्जली योग नगर समिति पोखरा महानगरपालिका सदस्य हुन् ।
नेपालमै केही गरौं भन्ने सोच छ
जुग्नु गुरुङ व्युटि पार्लर संचालक द्धा कम्पलेक्स
करिब ५ बर्ष देखी पोखराको द्धा कम्प्लेक्समा जेन्स तथा व्युटि पार्लर संचालन गर्दै आइरहेकी जुग्नु गुरुङलाई विदेशमा काम गर्न जाने रहर छैन । ‘दिदिले संचालन गरिहरको पार्लर हो उहाँ छोडेर बिदेश जानु भयो अनि मैले सम्हाले , नेपालमै केही गरौं भन्ने सोच छ’ उनले भनिन् ।
नेपालमा कामको सम्मान गर्ने बानी नभएको उनको गुनासो छ । मानिसहरुले यो क्षेत्रलाई अझै पनि हेयको दृष्टिले हेर्न गर्छन् ,शैक्षिक पाठ्यक्रममा पनि यसलाई समावेश गर्न सकिए केही हद सम्म दृष्टिकोण परिर्वतन गर्न सकिने थियो , उनको भनाइ छ । जुग्नुले युवाहरुलाई व्युटिसियन तालिम समेत दिदै आएकी छन् ।
व्याचर सकाएकी उनले विदेश जाने युवा युवातीहरुलाई तालिम समेत दिने गरेकी छन् । थुप्रै युवाहरुलाई तालिम दिएकी छु सबै जना विदेशीनु भएको छ, कामको सम्मान हुन सकेको भए यहि काम गर्ने महौल बन्ने थियो हो उनले भनिन् ।
…
पछिल्ला वर्षमा नेपालमा युवाले उच्चशिक्षा हासिल गर्न थालेका छन् । तर, शिक्षित हुने युवाहरूको सङ्ख्या बढे पनि रोजगारी बढ्न सकेको छैन ।
आफ्नै मिहेनत र परिश्रमले उद्यम गर्न चाहनेको सङ्ख्या धेरै छ तर सफल युवाहरुको सङ्ख्या निकै कम छ । यस्तो अवस्थामा राज्यले जीवनोपयोगी शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षालगायत युवा विकासका क्षेत्रमा व्यापक लगानी गर्नु पर्ने आजको आवश्यकता हो ।
स्थानीय स्रोत साधनलाई प्रयोग गर्न सकेमा नेपालमै सुन फल्छ । दुर्गम एवं पहाडी जिल्लाहरूमा लघु, घरेलु तथा साना उद्योगहरूको विकास गर्नुपर्दछ ।
लामो समय राजनीतिक अस्थिरताले रोजगारीको अभावलाई बढवा दियो , पछिल्ला दिनहरुमा सरकारले युवाहरुलाई उद्यममा संलग्न गराउन प्रयास गरिरहेको देखिन्छ । उद्यमीको माग र चाहना अनुरूप नै प्रविधि अनुदानमा सरकारी स्तरबाटै प्राप्त गर्न सकिन्छ ।
अब युवाहरु विदेश पलायन होइन , स्वेदशमा उद्यमी बन्ने बेला आएको छ ।
Comments are closed.