
काठमाडौं, (रासस) नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रित रही दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौँमा शनिबार बसेको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बसेको बैठकमा भुटानबाहेक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र श्रीलंका गरी छ राष्ट्र सहभागी थिए ।
सो अवसरमा अध्यक्ष श्रेष्ठले एनओसी र राष्ट्रिय खेल संघहरूको ध्यान १३ औँ सागमा पूर्णरुपमा केन्द्रित रहेको जानकारी गराउँदै सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो दिएको बताए ।
सरकारले सागका लागि बजेट समेत विनियोजन गरेको बताउँदै विगतको तुलनामा खेलकुदको बजेट झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिए।
दशरथ रंगशालाको निरीक्षण
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन काठमाडौँ आएका विभिन्न राष्ट्रका प्रतिनिधिहरूले शनिबारै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको दशरथ रंगशालासहित विभिन्न खेल पूर्वाधारको निरीक्षण समेत गरेका छन् ।
नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठसहितको प्रतिनिधि टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले स्वागत गरेका थिए। प्रतिनिधि टोलीले दशरथ रंगशालाको मर्मत कार्यको प्रगतिबारे जानकारी लिनुका साथै कभर्ड हल र टेनिस कोर्टको निरीक्षण पनि गरेको थियो ।
टोलीलाई सदस्य–सचिव विष्ट, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख इन्जिनियर अरुण उपाध्याय, इन्जिनिएरद्वय तिलोत्तमा बस्याल र विश्वमित्र सन्जेलले कार्य प्रगतिबारे जानकारी गराएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।