www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

काठमाडौँ (रासस)

नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ ।

कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ ।

Batas

सोही कम्पनीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता हुनेछ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेड छनोट भएको छ । उक्त कम्पनीसँग रु तीन अर्ब ८३ करोड १४ लाखमा खरिद सम्झौता हुनेछ ।

तनहुँ हाइड्रोपावर लिमिटेडले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ । दुवै कम्पनीले साउन ८ गते पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि उपस्थित हुनुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए ।

खरिद सम्झौता भएको दुई महिनापछि निर्माण शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थिकेले बताए । तनहुँ हाइड्रोपावर लिमिटेडले २०७३ माघ १९ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीनवटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका तीन वटा कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौली–भरतपुर २२० केभीको क्षमताको प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडिबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बंैक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसका लागि सम्बन्धित दातृ निकाय र सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको छ । नेपालमा नै पहिलो पटक अर्धजलाशययुक्त आयोजनाका रुपमा तनहुँ सेती जलविद्युत् आयोजनालाई लिइन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.