www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण गाउँपालिकाका सबै वडामा चार महिनाभित्र माटो परीक्षण

पोखरा(रासस)

कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र भित्रका सबै वडामा आगामी चार महिनाभित्रमा माटो परीक्षण गर्ने भएको छ ।

निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषि प्रणालीतर्फ उन्मुख गर्ने नीतिअनुरुप प्रत्येक वडा एवं स्थानका कृषि उपजको सम्भाव्यता पहिचानका लागि माटो परीक्षण गर्न लागिएको अन्नपूर्ण गाउँपालिका कार्यालयले जनाएको छ ।

Batas

गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार गाउँपालिकाका सबै वडामा कृषि र पशुपालनको पकेटक्षेत्र तोक्ने नीति गाउँपालिकाले लिइएको छ ।

“यस आर्थिक वर्षको पहिलो चौमासिकभित्र सबै वडामा माटो परीक्षण शिविर सञ्चालन गरी प्राप्त परिणामलाई डाटा बैंक खडा गरेर राखिनेछ,” उनले भने , “प्राप्त परिणामका आधारमा माटो अनुसारको खेती गर्ने प्रणालीको विकास गरिने छ ।”

स्थानीय रैथाने जातका बाली तथा बिरुवाको पहिचान गरी तथ्यांक संकलन तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको गाउँपालिकाले बाँझोखेतलाई प्रयोग गर्ने नीति अवलम्बन गरिएको छ । यसका लागि भूमी बैंक खडा गरी कम्तीमा २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ ।

“भाडामा लिइएका जग्गाको भौतिक पूर्वाधार (ग्रामीण सडक, सिँचाइ, विद्युत्, खानेपानी, शितभण्डार आदि), प्राविधिक सहायता, मल, बीउबिजन, बजार प्रर्बद्धनका लागि गाउँपालिकाले पहल गर्नेछ,” अध्यक्ष कुँवरले भन्नुभयो, “बाँझो जमीन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट वञ्चित गरिने छ ।”

प्राङगारिक खेती कार्यक्रममा अनुदान सहयोग गर्दै युवा कृषि स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायमा पहल गर्ने, कृषि सामग्री, उन्नत बीउबिजन खरिद, दूध संकलन, घाँसखेती आदिका लागि व्यावसायिक कृषक एव कृषि समूहलाई प्रोत्साहन गरिने योजनाअघि सारिएको छ ।

गाउँपालिका भित्रका सबै वडामा घर÷घरमा पुगी पशु चौपायाको गणना गर्न लागिएको पशुसेवा प्राविधिक गोविन्द अधिकारीले बताए ।

गणनासँगै पशु चौपायको विद्यमान अवस्था एवं यस क्षेत्रमा पशुपालनका सम्भावना लगायतमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

चार वर्षभित्रमा कोदोमा आत्मनिर्भर बनाउने योजनाका साथै कोदोखेती प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटेल तथा रेष्टुरेन्टमा कोदाको परिकार मेनुमा राख्ने पहल गाउँपालिकाले गर्ने जनाएको छ ।

कम्तीमा पाँच रोपनी जग्गा वा सो भन्दा बढी जग्गामा मौसम अनुसार एकै प्रकारको खेती गर्ने कृषकलाई व्यावसायिक कृषकको रुपमा पहिचान गर्ने योजना गाउँपालिकाकोे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.